Comments Add Comment

भोजपुरमा गाउँपालिकाको सहयोगमा बाँदरलाई पासो

९ फागुन, भोजपुर । भोजपुरमा बाँदर नियनत्रणमा लिन नयाँ तरिका अपनाइएको छ । बाँदरले अन्नबाली खाएर किसानलाई दुःख दिएपछि टेम्केमैयुङ गाउँपालिकामा बाँसको खोर बनाएर नियन्त्रणमा लिन थालिएको हो ।

गाउँपालिकाकै सहयोगमा गाउँलेहरु मिलेर बाँसको भाटा र चोयाको खोर बनाएर बाँदर थुन्न थालेका छन् । यो प्रविधि कम खर्चिलो भएको गाउँले बताउँछन् ।
अहिले प्रयोगमा ल्याइएको पासोमा वरिपरिबाट बाँसको भाटाको बारा लगाएर माथिबाट बाँसकै छानो लगाइन्छ ।

बाँदरलाई त्यहाँभित्र पसाउनको लागि माथिबाट छेकिएको छानाको मध्य भागतिरबाट ढडिया बनाइ छिर्ने ठाउँ राखिन्छ ।

मकै तथा अन्य खानेकुराहरु खोरभित्र राखिन्छ । खानेकुराको लागि भित्र पसेको बाँदर बाहिर निस्किन सक्दैन ।

टेम्केमैयुङ-६ कोटका वडाअध्यक्ष सूर्यप्रसाद नेपाल सबै छिमेकीहरु मिलेर त्यस्ता खोरहरु बनाउन अभियान नै चलाएको बताउँछन् । ‘जनताको जीविकासँग प्रत्यक्षसँग गाँसिएका यस्ता विषयमा हामीले ध्यान दिएनौ भने भोलि गाउँ नै रित्तिने संभावना छ,’ अध्यक्ष नेपालले भने ।

खोरमा १० देखि १५ वटासम्म बाँदरहरु एकैपटक आएर पर्ने गरेको स्थानीयवासि केदार नेपालले बताए ।

पहिल्यैदेखि किसानलाई बाँदरले दुःख दिएको गुनासो आइरहे पनि अहिले मात्रै टेम्केमैयुङ गाउँपालिका बाँदर नियन्त्रणका लागि योजनावद्ध ढंगले अगाडि बढेको हो ।

कोटमा ४० देखि ५० वटसम्म खोर बनाउने र यसलाई अन्यत्र पनि विस्तार गर्दै लैजाने गाउँपालिका प्रमुख ध्रुवराज राईले बताए ।

उनका अनुसार बाँदरलाई पासोमा पार्न यो विधि प्रभावकारी देखिएकाले यसलाई अन्य वडामा पनि विस्तारका लागि गाउँपालिकाले पहल गर्नेछ । यस आर्थिक वर्षमा गाउँपालिकाले बाँदर नियन्त्रणका लागि एक लाख बजेट विनियोजन गरेको छ ।

आफूले वर्षभरी खान राखेको अन्न बाली बाँदरले खाने तथा क्षति पुर्‍याउन थालेपछि रामप्रसाद राई गाउँपालिका-४ दलगाउँ र पौवादुङ्मा गाउँपालिका-४ बास्तिम नजिकैको लेखगाउँको पुरै वस्ती नै वसाइसरेको छ ।

अवैध रुपमा राखिएका भरुवा बन्दुकहरु राज्यले नियन्त्रणमा लिएपछि स्थानीय प्रशासनमा समेत बाँदरले दुःख दिएको भन्दै भरुवा बन्दुक राख्न पाउनुपर्ने मागसहित गाउँलेले निवेदन दिएका थिए ।

धनकुटा, खोटाङ्गलगायतको जिल्लामा भारतबाट बाँदर समात्ने मान्छे ल्याएर स्थानीय तहले नियन्त्रणको कामहरु गरिरहेका छन् ।

भोजपुरमा स्थानीय स्रोतसाधनको प्रयोग गरी बनाइएको यो पासोलाई व्यापक गर्न सके बाँदरले दिएको दुःखले आजित बनेका कृषकहरुले राहत पाउने विश्वास लिइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment