Comments Add Comment

‘आयुक्तको भिडियो खिच्ने बिचौलिया पनि माओवादी कामरेडै हुन्’

‘पार्टीको कुरो आएकाले कैलाशले यस्सो बुझिदिएको मात्रै हो’

१० फागुन, काठमाडौं । माओवादीनिकट अखिल क्रान्तिकारीका नेता दीपेश पुनले निवर्तमान अख्तियार आयुक्त राजनारायण पाठकको गोप्य भिडियो खिच्ने व्यक्ति पनि ‘माओवादी कामरेड’ नै भएको बताएका छन् । दीपेशले उक्त भिडियोबारे बुझ्न गएका कैलाश मगर अनाहकमा फसेको र आफूलाई समेत अनावश्यकरुपमा फसाएको दाबीसमेत गरेका छन् ।

राजनारायणको दूत बनेर भिडियो माग्न गएका अखिल क्रान्तिकारीका कार्यकर्ता कैलाश मगरले दीपेशको नाम लिएपछि उपराष्ट्रपतिका पुत्रसमेत रहेका दीपेश पुनले शुक्रबार यो घटनाको स्पष्टीकरण दिएका हुन् ।

भिडियोमा आफ्नो नाम मुछिएकोबारे स्पष्टीकरण दिँदै दीपेशले अनलाइनखबरसँग भने– ‘मलाई पनि कैलाशले एकपटक सोध्दै थियो । पार्टीकै मान्छे हो भने जानोस् त बुझ्नुहोस् भन्ने कुरा भएको थियो । पछि बुझ्दाखेरि यो आयुक्त नै फटाहा मान्छे रहेछ भन्ने बुझेपछि म पनि ब्याक भइसकेको थिएँ । दोस्रोपटक त्योसँग कुरो पनि भएको थिएन, केही पनि भएको थिएन ।’

आयुक्त राजनारायण पाठकलाई ७८ लाख पैसा दिएको सारा रेकर्ड गर्ने र बीचको बिचौलिया सबै भूमिका खेल्ने भनेको हाम्रै माओवादी कामरेडै हुन् । उनी सर्लाहीका माओवादी नै हुन् । उनले आयुक्त राजनारायाणसँग बार्गेनिङ गर्ने, ब्ल्याकमेलिङ गर्ने, पैसा माग्ने, म सिध्याइदिन्छु भन्ने विभिन्न दोहोरी चलिरहेको रहेछ

दीपेशले अगाडि भने– ‘यो तीन वर्ष अगाडिको कुरा हो । उसले त यो कुरा रेकर्ड गरेर राखेको रहेछ । यो कुराको गहिराई थाहा पाइएन । बुझिदिनुपर्‍यो भनेको हुनाले कैलाशले यसो बुझिदिएको मात्रै हो ।’

भिडियो प्रकरणमा माओवादी पार्टी र आफ्नो समेत नाम मुछिएपछि दीपेश पुनले अनलाइनखबरलाई दिएको स्पष्टीकरण उनकै शब्दमा–

त्यो भिडियो रेकर्ड आजभन्दा तीन वर्ष अगाडिको रहेछ । भएको के रहेछ भने आयुक्त राजनारायण पाठकलाई जुन व्यक्तिले ७८ लाख पैसा दिएको रेकर्ड गर्ने र वीचको विचौलिया सबै भूमिका खेल्ने भनेको हाम्रै माओवादी कामरेडै हुन् । उनी सर्लाहीका माओवादी नै हुन् । उनले आयुक्त राजनारायाणसँग बार्गेनिङ गर्ने, ब्ल्याकमेलिङ गर्ने, पैसा माग्ने, म सिध्याइदिन्छु भन्ने विभिन्न दोहोरी चलिरहेको रहेछ ।

यही क्रममा ती आयुक्त (राजनारायण) ले कैलाशले चिन्ने एकजना नजिकका दाइलाई भेटेर यो कुरा सेयर गरेका रहेछन् । आयुक्तले भनेका रहेछन्– हेर्नुहोस् मलाई माओवादीले समाप्त पार्ने भए । मेरो त्यस्तो गल्ती त केही पनि छैन, एउटा मेरो नजिकको साथीसँग फोनमा केही अनौपचारिक कुरा भएको थियो, त्यो रेकर्ड कहाँबाट माओवादी कामरेडकहाँ पुगेछ । ती माओवादी कामरेडले मलाई पैसा माग्ने, ब्ल्याकमेलिङ गर्ने, मेरो घरमै आउने र धम्क्याउने काम गरिरहेका छन् । तपाईले कोही माओवादीलाई चिनेको छ भने यसो कुरा राखिदिनु न भनेर आयुक्तले कैलाशको नजिकको दाइको साथीलाई भनेका रहेछन् ।

कैलाश आरआर क्याम्पसमा हाम्रो चल्तापूर्जा कार्यकर्ता थियो । ती दाइले पनि राजनारायणलाई भनेका रहेछन्, मेरो एउटा भाइ छ, चल्तापूर्जै छ म उसलाई भनिदिउँला न त ।
यो पनि पढ्नुहोस दीपेशको ‘दूत’ बन्दै राजनारायणका लागि बार्गेनिङ गर्ने माओवादी को हुन् ? (भिडियोसहित)

त्यसपछि जिम क्लबमा गएका बेला ती दाइसँग कैलाशको भेट भएछ । त्यो दाइले कैलाशलाई भनेछन्– हेर्नुहोस् माओवादीका नाममा तपाईहरुको त्यसरी बदनाम भइरहेको छ । साँच्चै हो कि, त्यो मान्छे माओवादी नै हो कि, होइन कि । फोटो हेर्दाखेरि प्रचण्डले पनि माला लगाएको देखिँदोरहेछ । के हो कसो हो, तपाईहरु त पार्टीको मान्छे, कुरा गरिदिनुपर्‍यो ।

ती दाइले यसो भनेपछि कैलाश मख्ख परेछ । ऊ जनताको मान्छे, राजनारायण फेरि बहालवाला आयुक्त । हुनेवाला प्रमुख आयुक्त । यति भएपछि पार्टीकै मान्छे हो भने म कुरा बुझ्छु नि त भनेको रहेछ । फोनसोन गरेर त्यो बुझ्न जाँदाखेरि त्यहाँ एउटा अफिस रहेछ ।

मलाई पनि कैलाशले एकपटक सोध्दै थियो । पार्टीकै मान्छे हो भने जानोस् त बुझ्नुहोस् । पार्टीकै मान्छे हुन् भने त झन् आफ्नो विषय राख्नोस् त भन्ने कुरा भएको थियो कैलाशसँग । म उसलाई भेट्न पनि गएको हैन, आयुक्तसँग मेरो चिनजान–सिनजान केही पनि थिएन ।

त्यो कमरेड (राजनारायणको गोप्य भिडियो खिच्ने व्यक्ति) खेलकूदमा पनि काम गर्दारहेछन् । पहिला हाम्रो वैद्य माओवादी र विप्लव माओवादी फुट्दाखेरि विप्लव समूहतिर लगेका थिए । मैले प्रचण्ड नेतृत्वको माओवादीको अखिल नेपाल खेलकुद महासंघ दर्ता गरेर त्यसको महासचिव म आफैं भएको थिएँ । मैले युवाहरुलाई संगठन बनाइदिएको संस्थापक महासचिव म थिएँ । त्यसैले कैलाशलाई पनि के फिल भएछ भने दीपेश खेलाडीमा पनि काम गरेको, अनि माओवादी पनि । त्यसैले दीपेशको नाम लिँदाखेरि अलि खुल्छ कि भनेर उसले दीपेशजी हामी, अब उहाँ बाहिर जानुभएको छ भने त्यो बोल्दिएछ त्यहाँ । यो रेकर्ड हुन्छ भन्ने त बुझेन छ कैलाशले । त्यसपछि ठ्याक्कै त्यो नाम रेकर्ड भएछ ।

आज बिहान मैले कैलाशलाई थर्काएँ । कहाँ के यार, यत्रो पार्टी एकता हुन लागेका बेला तपाईले गर्दाखेरि यहाँ मेरो त राजनीति समाप्त भयो ।
यो पनि पढ्नुहोस राजनारायणको भिडियो फुत्काउन प्रयोग भएका व्यक्ति तत्कालीन माओवादीका विद्यार्थी नेता !

मैले यसोभन्दा कैलाशले के गर्ने यार यस्तो भयो, म त मर्छु भन्दै थियो । म त पार्टीको मान्छे, आयुक्तकै मान्छेले भनेपछि डराउँदै डराउँदै एकपटक गइदिएको थिएँ । जाँदाखेरि राम्रै कुरा भएको थियो । पछि बुझ्दाखेरि यो आयुक्त नै फटाहा मान्छे रहेछ भन्ने बुझेपछि म पनि ब्याक भइसकेको थिएँ । दोस्रोपटक त्योसँग कुरो पनि भएको थिएन, केही पनि भएको थिएन । भन्दैथ्यो कैलाशले मलाई आज बिहान ।

मैले भनें– मर्ने कुरा त नगर । जे हुने भैहाल्यो । तेरो त के भयो र ? तैंले गर्दा मेरो त राजनीति सारा समाप्त भयो ।

यो तीन वर्ष अगाडिको कुरा हो । उसले त यो कुरा रेकर्ड गरेर राखेको रहेछ । यो कुराको गहिराई थाहा पाइएन । यो कुरा भुली पनि सकिएको थियो । बुझिदिनुपर्‍यो भनेको हुनाले कैलाशले यसो बुझिदिएको मात्रै हो त्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment