Comments Add Comment

सरकारी चिकित्सकले गरे वीर अस्पतालमा तालाबन्दी, बिरामी मर्कामा

१० फागुन, काठमाडाैं । कर्मचारी समायोजनको विषयलाई लिएर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक संघ (गोदान)का चिकित्सकहरुले वीर अस्पतालको टिकट काउन्टरमा तालाबन्दी गरेपछि बिरामी मारमा परेका छन् । विहान ११ बजेसम्म झण्डै ३०० बिरामीको टिकट काटिसकेपछि गोदानका चिकित्सकहरुले काउन्टरमा जबर्जस्ती तालाबन्दी गरेका हुन् ।

टिकट काउन्टरमै तालाबन्दी भएपछि वीर अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने बिरामीको बिजोग भएको छ । न्याम्सका चिकित्सकहरुले बिरामीको जाँच गर्न तयार रहदाँसमेत गोदानका चिकित्सकहरुले जाँच गर्न दिएका छैनन् । जसले गर्दा हाल वीर अस्पतालमा टिकट काट्नकै लागि पाँच/सात सय बिरामी लाइनमा बसिरहेका छन् ।

समायोजनको प्रकृयाबारे बुधवार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव तथा जनसंख्या राज्यमन्त्रीसँग सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघका प्रतिनिधिमण्डलबीच भएको छलफलमा समायोजन प्रकृयाबारेमा कुनै निकास ननिस्किएपछि सरकारी चिकित्ससक संघ तथा नेपाल चिकित्सक संघ थप आन्दोलित भएको थियो ।

तालाबन्दीका क्रममा वीर अस्पतालमा सरकारी चिकित्सक संघमा आबद्ध चिकित्सक प्लेकार्डसहित अस्पताल परिसरमा उपस्थित थिए ।

पूर्वघोषित कार्यक्रम अनुसार नै सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेको तर अरुलाई चेकजाँच गर्नबाट नरोकेको सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए ।

उनका अनुसार कर्मचारी समायोजनको विषयलाई लिएर सरकारी चिकित्सक संघले पटकपटक स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर आफूसित भएको सम्झौता अनुसार नै कर्मचारी समायोजन गर्न माग गर्दै आएको छ ।

तर, सरकारले आफूहरुसित भएको सम्झौता विपरीत कर्मचारी समायोजन प्रकृयाअघि बढाएपछि संघले शान्तीपूर्ण रुपमा धर्ना दिनुका साथै रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो ।

‘सरकारले हाम्रो माग नाजायज छ भन्दिने हो भने अब हामीसित राजीनामा दिनुको विकल्प छैन । अन्यथा, माग जायज छ भन्ने हाम्रो माग अनुसार कर्मचारी समायोजन प्रकृया तत्काल अघि बढाओस्, हामी सम्पूर्ण आन्दोलनका क्रममा तत्काल स्थगित गर्न तयार छौ, ‘ अध्यक्ष पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment