Comments Add Comment

मेलम्चीमा कसैको गिद्दे नजर पर्न दिन्नँ : मन्त्री बिना मगर

१० फागुन, काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको गिद्दे नजर पर्न नदिने बताएका छन् ।

शुक्रबार संसदमा मेलम्चीबारे सांसद र मन्त्री मगरबीच प्रश्नउत्तर भएको थियो ।  सांसद डिला सङ्ग्रौलाले मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौँवासीले कहिले पिउन पाउँछन् ? भन्ने प्रश्न गरेकी थिइन् ।

जवाफमा मन्त्री मगरले भनिन्, ‘मेलम्ची उपत्यकाबासी जनताका निम्ति महत्वपूर्ण आयोजना हो । त्यो सँगसँगै व्यक्तिगत रुपमा मेरो सफलतासँग जोडिएको विषय हो तसर्थ कुनै पनि गिद्धेनजर पर्न दिन्न ।’

मेलम्चीको पानी काठमाडौं ल्याउन ठेकेदार कम्पनीलाई नै जिम्मा दिने आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै सचिवले त्यसअनुसार काम नगरेकाले सरुवा गरेको उनले मन्त्री मगरले बताइन् ।

‘मैले देखेको फर्मुला मेलम्ची आयोजना प्लस सीएमसी आयोजना इजकल्टु (बराबर) काठमाडौको जनता हो’ उनले सचिव गजेन्द्र ठाकुरको सरुवाबारे भनिन् ‘सीएमसीलाई पहिलो प्राथमिकतामा राखेर काम गरियोस् भन्ने निर्देशन थियो । त्यो फर्मुलामा बसेर काम गरेको पाइन ।’

मन्त्री मगरले कहिलेकाहीँ सही ट्रयाक लिन खोज्दा विभिन्न भ्रम फैलिएको दावीसमेत गरिन् ।

लगतै पूरक प्रश्न गर्दै सांसद राजेन्द्रकुमार केसीले गत वैशाखमै पानी आउँछ भनी भाषण भइरहेको थियो किन ढिलाइ भयो, अब पानी आउने प्रष्ट तिथिमिति जानकारी पाऔँ भनी माग गरे ।

सांसद महेश बस्नेतले मेलम्चीले पाइप विस्तार गरेको स्थानका सडक असरल्ल छ, कहिले बन्छ भन्दै सरोकार भएका निकायलाई राखेर मन्त्रालयले बहस गर्नुपर्ने सुझाव दिए ।

सांसद गगनकुमार थापाले मन्त्रीले सचिवले कमिसन मागेको भन्नु र सचिव ठाकुरले सिएमसीलाई रु तीन करोड दिएर फर्काउन नमान्दा आफू सरुवामा परेको भनेको समाचार प्रकाशित भएको भन्दै दुर्इ मध्ये को दोषी हो भनि प्रश्न गरे ।

सांसद प्रेम सुवालले चार आर्थिक वर्षसम्म समय तोक्दा पनि काठमाडौँ उपत्यकामा पानी नआएकाले उपत्यका वरपरका जलाधारको संरक्षण गर्ने सम्बन्धमा मन्त्रालयको के कार्यक्रम छ भनी प्रश्न गरे ।

जवाफमा खानेपानी मन्त्री मगरले सचिवको अभिव्यक्तिबारे जवाफ दिइरहनु नपर्ने भन्दै पन्छिइन् । मेलम्चीको हकमा सीएमसी आएमा काम छिटो हुने दावी गरिन् । ‘सीएमसी आएमा हामीले नेपाली भेण्डरको समस्या हल गर्न सक्छौं । रिटेण्डर सिस्टमबाट जान भन्दा छोटो समयमा काम गर्न सक्छौं’ उनले भनिन् ‘सीएमसीले विधिसम्मत ढंगले, ठेक्काको मान्यताभित्र रहेर आउँछ भने सरकारले वेलकम गर्छ ।’

‘भेण्डर’को समस्या समाधान गर्न सिएमसी आए सहज हुने भएकाले त्यसको प्रयास भइरहेको उनको दाबी छ । सिएमसी नआए पनि तीव्ररुपमा काम गर्ने गरी पुनःबोलपत्र आह्वानको तयारी गरिएको सुनाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment