Comments Add Comment

काठमाडौंको डीपीएल बहिष्कारः आफ्नै खुट्टामा बञ्चरो !

१० फागुन, काठमाडौं । दुई पटक सफलतापूर्वक सम्पन्न भएको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता तेस्रो संस्करणको अन्तिममा आइपुग्दा भने विवादित बनेको छ ।

शुक्रबार काठमाडौं गोल्डेन्सले आफ्ना खेलाडीलाई अनावश्यकरुपमा प्रतिबन्ध गरेको भन्दै डीपीएल नै बहिष्कारको घोषणा गर्‍यो ।

शुक्रबार डीपीएलको दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदै थियो । यसअघि वर्षाका कारण विथोलिएको प्रतियोगितामा शुक्रबार भने मौसमले पनि राम्रो साथ दिएको थियो । तर काठमाडौंले एकाएक दोस्रो क्वालिफायर मात्रै होइन, डीपीएलको आगामी संस्करणमै सहभागि नहुने निर्णय गरेपछि सबै छक्क परे । यो निर्णयले आयोजकलाई हैरान बनायो ।

शुक्रबार डीपीएल टेक्निकल कमिटीले भारतीय बलर अंकित दबासलाई आगामी खेलमा बलिङ गर्न प्रतिबन्ध लगाएको थियो । यसैलाई मुख्य विषय बनाएर काठमाडौंले डीपीएल नखेल्ने घोषणा गरेको हो । अंकित अलराउण्डर हुन् । उनले ब्याटिङ भने गर्न सक्थे ।

यो पनि पढ्नुहोस् :  काठमाडौंले डीपीएल बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा

अंकितलाई बलिङमा प्रतिबन्ध लगाएकै कारण काठमाडौंले किन डीपीएल नखेल्ने गम्भीर निर्णय गर्‍यो ?

काठमाडौं गोल्डेन्सका टिम म्यानेजर श्रेष्ठ अंकितविरुद्धको निर्णय सही नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘अंकित विरुद्धको निर्णय सही थिएन, त्यसकारण हामीले नखेल्ने निर्णय गर्‍यौं ।’

काठमाडौं गोल्डेन्सले आयोजकको निर्णय गलत भएको भन्दै गर्दा डीपीएल टेक्निकल कमिटीका प्रमुख बुद्धि प्रधानले भने अंकितको बलिङ एक्सन अवैध भएकै कारण प्रतिबन्धमा परेको जानकारी दिए ।

उनले भनेका छन्, ‘सुध्रिने मौका सबै खेलाडीले पाउनु पर्छ । लिगको अन्तिम खेलमा उनको बलिङ शंकास्पद थियो । त्यसलाई सधार्नु भनेर हामीले टिमलाई रिपोर्ट गरेका थियौं ।’

उनी थप्छन्, ‘टिमले रिपोर्ट बलरलाई दिएन रहेछ । पहिलो क्वालिफायर खेलमा फेरी उनको हरेक बल अवैध थियो । त्यसपछि हामीले डबल रिपोर्ट गरेका हौं ।’

आइसीसीको नियमानुसार कुनै पनि प्रतियोगितामा खेलाडी डबल रिपोर्टमा पर्छ भने उसले आगामी खेलमा बलिङ गर्न पाउँदैन । कमिटीका प्रमुख प्रधान भन्छन्, ‘प्रतियोगिता सुरु हुनुभन्दा अघि नै हामीले सबै कप्तानलाई यो नियमको जानकारी गराएका थियौं ।’

पछिल्लो दुई खेलको भिडियो फुटेज हेरेर नै उनीमाथि प्रतिबन्ध लगाएको कमिटीको दाबी छ ।

तर यता, काठमाडौं गोल्डेन्स भने अंकित भारतका विभिन्न प्रतियोगिता खेलिसकेको अनुभवि खेलाडी भएको कारण त्यस्तो गल्ती नभएको दाबी गरेको छ । काठमाडौंका टिम म्यानेजर श्रेष्ठ भन्छन्, ‘अंकित विभिन्न उमेर समूहदेखि रणजी ट्रफिसमेत खेलिसकेको खेलाडी हुन् । अब यहाँ आयोजकलाई राम्रो लागेन भन्दैमा प्रतिबन्ध लगाउने कुरा त आउँदैन नि ।’

अंकितलाई कुनै जानकारी नै नदिई प्रतिबन्ध लगाइएको काठमाडौंको आरोप छ । तर टेक्निकल कमिटीका प्रमुख प्रधानले भने यसबारे टिमलाई लिग चरणको अन्तिम खेलमा नै जानकारी दिएको बताएका छन् ।

आफ्नै खुट्टामा बन्चरो !

अंकित काठमाडौंका लागि निकै महत्वपूर्ण खेलाडी थिए । उनले टिमको तर्फबाट सर्वाधिक ६ विकेट लिएका छन् भने अहिलेसम्म १ सय ५३ रन बनाइसकेका छन् । त्यसैले उनलाई गुमाउँदा टिमलाई झट्का लाग्नु स्वभाविकै हो ।

तर, यसैलाई लिएर डीपीएल बहिष्कार गर्ने निर्णय भने अतिरञ्जित देखिन्छ । यो आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तै हो । किनकी हरेक खेलका निश्चित नियम हुन्छन् र अंकितलाई नियमबमोजिम नै कारवाही गरिएको छ । काठमाडौंमा अरु पनि राम्रा खेलाडी छन्, जसले टिमलाई फाइनलमा पुर्‍याउन र उपाधि जिताउन सक्थे । तर, काठमाडौंले अंकितको नाममा घमण्ड देखाउँदै आत्मघाति निर्णय लिएको छ ।

लिग चरणको अन्तिम खेलमा सीवाईसी अत्तरियासँग काठमाडौं गोल्डेन्स सात विकेटले पराजित भएको थियो । यो खेलमा अंकित दबासले चार ओभर बलिङ गर्दै विना विकेट ८ रन खर्चेका थिए । यही खेलमा टेक्निकल कमिटीलाई उनको बलिङ एक्सनप्रति शंका लागेको थियो ।

पहिलो क्वालिफायर खेलमा पनि यी दुबै टिमको भेट भयो । यो खेलमा पनि अत्तरियाले काठमाडौंलाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गर्‍यो । काठमाडौंले दोस्रो क्वालिफायर खेल्ने भयो । यो खेलमा अंकित दबासले चार ओभरमा ११ रन खर्चेर दुई विकेट लिएका थिए । तर उनको बलिङ एक्सन टेक्निकल कमिटीले इलिगल मान्दै प्रतिबन्ध लगाएको थियो ।

यो प्रतिबन्धको कडा प्रतिकार गर्दै काठमाडौं गोल्डेन्सले खेलाडीको करिअरमा धक्का समेत पुग्ने हुदा यो निर्णय गलत भएको बताउँदै आएका छ । त्यसो त, डीपीएल क्रिकेट प्रतियोगितामा अन्य खेलाडी पनि कारबाहीमा परेका छन् तर अन्य खेलाडीलाई प्रतिबन्ध नै लगाइएको भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment