Comments Add Comment

बीमा संस्थानले मनायो ५२औं वर्षगाँठ

११ फागुन, काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले ५२औं वर्षगाँठ मनाएको छ । स्थापनाको ५१ वर्ष पूरा गरी ५२औं वर्षमा प्रवेश गरेको संस्थानले शनिबार काठमाडौंमा विशेष कार्यक्रम गर्यो ।

कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हालसम्मको उपलब्धीलाई संस्थागत गर्दै समय सापेक्ष सेवा दिन संस्थानलाई आग्रह गरे ।

पछिल्लो समय नेपालमा पनि बीमा क्षेत्र प्रतिस्पर्धी बन्दै गइरहेको भन्दै उनले संस्थानलाई पनि त्यसै अनुसार योजनाहरु ल्याउन सुझाव दिए । सहरी क्षेत्रमा मात्रै नभइ ग्रामिण क्षेत्रमा समेत बीमाको पहुँच विस्तार गर्न उनले जोड दिए ।

यस्तै कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले स्तरीय र दिगो खालको सेवा प्रवाहमा ध्यान दिन संस्थानको ध्यानाकर्षण गराए ।

बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाईंले बीमा संस्थान पूर्ण सरकारी स्वामित्वको भएकाले पनि दुर्गम क्षेत्रका जनतालाई पनि बीमाको पहुँचमा समेट्ने किसिमका योजना तर्जूमा गर्नुपर्नेमा जोड दिए ।

साथै उनले संस्थानमा कर्मचारी व्यवस्थापनदेखि दक्षता बढाउन, सूचना प्रविधिको भरपूर उपयोग गर्न र लेखा प्रणाली अद्यावधिक गराउँदै पारदर्शी बनाउनुपर्ने धारणा राखे ।

संस्थानको अधिकृत पुँजी रु.५० करोड र चुक्तापुँजी रु.१८ करोड १० लाख २० हजार रहेको संस्थानका प्रशासक कवि प्रसाद पाठकले जानकारी दिए ।

उनका अनुसार हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ दुई लाख ९८ हजार बीमित छन् । यस वर्षमा झण्डै तीन लाख राष्ट्रसेवक कर्मचारीहरुको समेत सावधिक जीवन बीमा थप गरिएको छ । अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीहरुको बीमा समेत संस्थानले गर्दै आएको छ ।

कार्यक्रममा संस्थानका प्रशासक पाठकलले दिएको जानकारीअनुसार चालु आर्थिक वर्ष ०७५÷७६ को प्रथम अर्धवार्षिकमा ४ अर्ब ४१ करोड बीमा शुल्क संकलन भएको छ । सोही अवधिमा एक अर्ब ५१ करोड दाबी भुक्तानी गरिएको पाठकले बताए ।

पुस मसान्तसम्ममा १९ अर्ब २१ करोड संस्थानको जीवन बीमा कोषमा रहेको उनले बताए । संस्थानले माथिल्लो तामाकोश जलविद्युत आयोजना, विद्युत उत्पादन कम्पनीमा समेत लगानी गर्दै आएको छ ।

सो अवसरमा संस्थानमा उत्कृष्ट काम गर्ने तीन जना अभिकर्ता मनकुमारी निरौला, हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो ।

२०२४ साल पौष १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भई यसले फागुन ११ गते देखि व्यवसायिक कारोबार शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment