Comments Add Comment

उत्तर कोरियाली नेता किम रेल चढेर भियतनाम प्रस्थान, ट्रम्पसँग बुधबार वार्ता

१२ फागुन, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न भियतनाम प्रस्थान गरेका छन् । उनी रेल चढेर भियतनामको हनोइ प्रस्थान गरेको र शनिबार चीनको सीमा शहर डाङडोङ पुगेको बीबीसीले लेखेको छ ।

ट्रम्पसँग भेटवार्ता गर्न किम आफ्नी बहिनी किम यो जोङ्ग, पूर्व जनरल किम योङ्ग चोल र आफ्ना निकटवर्तीहरुसहित रेल चढेर भियतनाम प्रस्थान गरेको बताइएको छ ।

भियतनाममा आगामी बुधबार र बिहीबार ट्रम्प-किम दोस्रो शिखर वार्ता हुँदैछ । उनीहरुबीच पहिलो ऐतिहासिक शिखर वार्ता सिंगापुरमा भएको थियो । पहिलो वार्तामा कोरियालीप्रायद्वीपलाई आणविक अस्त्रमुक्त बनाउने सहमति भएको थियो ।

तर, सहमति कार्यान्वयन नभइरहेको बेला हुन लागेको दोस्रो शिखर वार्तालाई चासोका साथ हेरिएको छ । विश्वको ध्यान अहिले ट्रम्प र किमबीच भेटवार्ता हुने भियतनाममा केन्द्रित भएको छ ।

सिंगापुर वार्तामा भएका सहमति कार्यान्वयनमा भियतनाम वार्ता केन्द्रित हुने दुवै देशका अधिकारीहरुले बताएका छन् । पहिलो वार्तामा भएका सहमति कार्यान्वयनका आधार भियतनाम वार्ताले निर्माण हुने अपेक्षा गरिएको छ ।

दोस्रो भेटवार्ता अगाडि ट्रम्प र किमबीच पत्र आदानप्रदान भएको थियो । ती पत्रहरुमा निकै सुन्दर र मिठा शब्द प्रयोग गरिएको चर्चा मिडियाहरुमा भएका छन् । त्यसलाई पुष्टि गर्दै ट्रम्पले गत सेप्टेम्बरमा भनेका थिए, ‘हामी प्रेममा परेका छौं । किमले मलाई अति सुन्दर चिठ्ठी लेखेका छन् ।’

कोरियाली प्रायद्वीपमा स्थायी शान्ति स्थापनाका लागि उत्तर कोरियाले घातक हतियार त्याग्नु पर्नेमा अमेरिकाले जोड दिँदै आएको छ । उत्तर कोरियालीले बेला-बेलामा शक्तिशाली हतियार परीक्षण गर्दा कोरियाली प्रायद्वीप र जापानमा तनावको स्थिति सिर्जना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment