Comments Add Comment

फेवातालको आँगनमा लै लै फोहोरको डंगुर … !

पोखरा महानगरको चुनौती बन्दै फोहोर

१३ फागुन, पोखरा । सुन्दर पोखराको प्राकृतिक छटाको वर्णन गर्दा धेरैले माछापुच्छ्रे, फेवातालको प्रसंग छुटाउँदैनन् । गायक प्रकाश श्रेष्ठले त गीत नै गाए– फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया…।

तर, यही प्राकृतिक सुन्दरताले सुसज्जित पोखरालाई भने अहिले फोहोरको डंगुरले चुनौती दिन थालेको छ ।

पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि योजना अघि नसारेको होइन । तर, महानगरमा फोहोरको डंगुर घट्नुको साटो बढिरहेको छ ।

केही समयअघि पोखरा हस्पिटल चोक अघि फोहोर थुप्रियो भन्दै महानगरले सफाइ गर्‍यो । त्यसको २ दिन पनि बित्न नपाउँदै उक्त ठाउँमा फेरि फोहोर भेटियो । महानगरले त्यही फोहोरमा फ्याँकिएको कागजपत्रका आधारमा ४ जना युवालाई पक्राउ गरी कारबाही गर्‍यो ।

प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले कारबाही पर्दा महानगरमा उनीहरुको बयान थियो, ‘हामी भाडामा बस्छौं । घरभेटीले फोहोर फाल्न जा भनेपछि फालेका हौं । हामीलाई कहाँ फाल्ने भन्ने नै थाहा छैन ।’

महानगरले कारबाही गरे पनि उक्त ठाउँमा अझै फोहोर घटेको छैन ।

पोखराको न्यूरोडको प्रतिष्ठित रेस्टुरेन्ट पनि केही दिनअघि कारबाहीमा पर्‍यो । ठूलाठूला बोरामा हरेक दिन फोहोर देखिन थालेपछि महानगरले त्यसको खोजी गर्‍यो । फोहोरमा फालिएको उक्त रेस्टुरेन्टकै बिलका आधारमा रेस्टुरेन्टले जरिवाना तिर्नुपर्‍यो ।

पोखराका विभिन्न सार्वजनिक ठाउँमा प्रायः एकाबिहानै फोहोरका थुप्रैथुप्रा देखिन्छ । मर्निङ वाक अथवा काम विशेषले बाहिर निस्केकाहरु त्यसको दुर्गन्धले नाकमुख छोप्दै हिँड्नुपर्ने बाध्यता छ । हिँड्ने बाटोभरि फोहोरको डंगुर देखेपछि यात्रु भन्छन्, ‘छि ! कस्तो फोहोर ।’

उसो त सहरी क्षेत्रका धेरैजसो पोलमा डस्टबिन पनि झुन्ड्याइएको छ । ती डस्टबिनसँगै ‘फोहोर मलाई’ अथवा ‘युज मी’ लेखिएका साना बोर्ड पनि हुन्छन् । त्यसरी बोर्ड नै झुन्ड्याएर राख्दा पनि डस्टबिनमा फोहोर पर्दैन । त्यसकै वरिपरि फोहोर थुप्रिन्छन् ।

हिँड्न बनाइएको फुटपाथमा समेत फालिएका फोहोरले यात्रुलाई हिँड्नै सकस पार्ने गरेको छ । पोखराका न्युरोड, नयाँबजार, चिप्लेढुंगा, पृथ्वीचोक, हस्पिटल चोकलगायत क्षेत्रमा प्रायः हरेक बिहान सार्वजनिक ठाउँमा फोहोर फालिने गरेको छ । महानगरले सार्वजनिक ठाउँमा फोहोर नगर्न र नफाल्न निर्देशन दिइरहेको छ । तर त्यस क्रम घटेको छैन, बरु दिनानुदिन बढिरहेको छ ।

सार्वजनिक ठाउँमा फोहोर फाल्नेले भने दोष महानगरलाई दिन्छन् । समयमै गाडी नपठाएकाले आफूहरुले सार्वजनिक ठाउँमै फोहोर फाल्न बाध्य भएको महानगरवासीको भनाइ छ ।

घरधनीहरु गाडी मुख्य बाटोमै हिँड्ने र शाखा बाटोमा नआउने हुनाले पनि बाटोमै फोहोर फाल्न बाध्य भएको बताउँछन् । ‘एक त समयमा गाडी आउँदैन । आए पनि गल्लीको बाटो आउला भन्ने नसोचे पनि हुन्छ,’ एक घरधनी भन्छन्, ‘सेवा शुल्क तिरेर पनि फोहोर व्यवस्थापन गर्न पाएनौं ।’

सार्वजनिक ठाउँमा लुकिछिपी फोहोर फाल्नेमा व्यक्तिमात्रै नभएर प्रतिष्ठित संस्थासमेत हुने गरेको पाइएको छ । दिनमा भन्दा रातको समयमा धेरैले फोहोर फाल्न सार्वजनिक ठाउँ प्रयोग गरेको महानगर सरसफाइ शाखा प्रमुख कल्पना बराल बताउँछिन् । ‘८ बजेसम्म त हामी नै अनुगमनमा हुन्छौं । त्यसपछि धेरैले सार्वजनिक ठाउँमा फोहोर फाल्न आउने रहेछन्,’ उनले भनिन् ।

फोहोर व्यवस्थापन गर्न महानगरले ‘फोहोर व्यवस्थापन नियमावली–२०७४’ कानुन बनाएको छ । ०७४ चैत २८ गतेको नगरसभाले नियमावली पारित गरेको हो । नियमावली अनुसार सार्वजनिक स्थानमा फोहोर गर्नेलाई फोहोरको प्रकृति हेरी १ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने व्यवस्था छ ।

पोखरा महानगरले यसै आर्थिक वर्षमा मात्रै ४३ जनालाई कारबाही गरिसकेको छ । तर त्यसरी कारबाही गर्दा पनि सार्वजनिक ठाउँमा फोहोर नघटेको महानगर बताउँछ । ‘प्रायः डेरामा बस्ने र होटल तथा रेस्टुरेन्टवालाले रात परेपछि बाटोमा फाल्ने गरेको पाइएको छ,’ बरालले भनिन् । उनले महानगरलाई सेवा शुल्क तिर्नुभन्दा बरु लुकिछिपी फोहोर फाल्ने परिपाटी बढेको खुलाइन् ।

डेरामा बस्नेलाई घरमालिकले फोहोर गाडीबारे जानकारी नदिएकै कारण सार्वजनिक ठाउँमा फोहोर फाल्ने प्रवृत्ति बढेको महानगरको भनाइ छ ।

‘हामीले त टोलटोलमा, वडावडामा गएर फोहोर नफाल्न भनिरहेका छौं,’ बरालले भनिन्, ‘मिडियामा सूचना प्रकाशन÷प्रसारण गरेर सूचित गरिरहेका छौं ।’ उनले सार्वजनिक ठाउँमा फोहोर फाल्दा कारबाही हुन्छ भन्ने थाहा पाएरै लुकिछिपी फाल्ने गरेको बताइन् ।

महानगरले अहिले फोहोर उठाउन ३३ वटा गाडी प्रयोग गरिरहेको छ । त्यसमध्ये ४ वटा महानगरको आफ्नै हो भने बाँकी निजी स्रोतको । ‘निजी कम्पनीसँग पब्लिक प्राइभेट पार्टरसिप (पिपिपी मोडल) मा फोहोर उठाइरहेका छौं,’ शाखा प्रमुख कल्पना बरालले भनिन्, ‘यसमा उनीहरुले आम्दानीको ८० प्रतिशत राख्ने र बाँकी महानगरमा बुझाउनुपर्ने हुन्छ ।’

सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई उनीहरुले नै फालेको प्रमाणका आधारमा पक्राउ गरिहेको महानगरले जनाएको छ । ‘व्यक्ति भए उनीहरुले प्रयोग गरेको सामान र संघसंस्था भए उनीहरुले फालेका बिलका आधारमा पक्राउ गरिरहेका छौं,’ बरालले भनिन् ।

पोखरा तथा साविक लेखनाथ गरेर महानगरले अहिले दैनिक १ सय ६० टन फोहोर संकलन गरिरहेको छ । सरसफाइ शाखाका नायब सुब्बा हर्क गायकका अनुसार त्यसरी फोहोर व्यवस्थापन गर्न ८ रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म मासिक सेवा शुल्क उठाउँदै आएको छ ।

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment