Comments Add Comment

विप्लवको ट्याक्टिस : दिल्लीलाई चलाउने, ओलीलाई गलाउने !

प्रचण्ड र बादललाई सन्देश– हामी यहाँसम्म आइसक्यौं !

१३ फागुन, काठमाडौं । ‘जनयुद्धकाल’कै प्रारम्भिक झल्को दिने गरी देशैभरी बम विस्फोटनका घटना गराउन थालेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भारतीय लगानीका आयोजनाहरुमाथि विशेष प्रहारको नीति लिएको छ ।

भारतीय लगानीमात्रै नभएर उसले अन्य विदेशी लगानीलाई समेत निरुत्साहित गर्ने नीति लिएको छ । एनसेलमाथि देशव्यापी प्रहार गर्दै विदेशी लगानीलाई निरुत्साहित पारेर ओली सरकारलाई संकटमा पार्न सकिने विप्लवको निश्कर्ष रहेको बुझ्न गाह्रो छैन ।

दुई साताअघि ‘जनयुद्ध दिवस’ का सन्दर्भमा पार्टीनिकटको पत्रिका ‘रातोखबर’लाई नेत्रविक्रम चन्द (विप्लव) ले भूमिगत स्थलबाट लामो अन्तरवार्ता दिएका थिए । सो अन्तरवार्तामा उनले आफूहरु देशीविदेशी सबैले देख्ने गरी शक्ति आर्जन गरेर यहाँसम्म आइपुगेको दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डलाई ‘आत्मसमर्पणवादी’ बताउँदै विप्लवले वर्तमान सरकारलाई ‘दलाल पुँजीपतिहरुकै सरकार’ भनेका छन् । उनले ओली सरकार संकटमा फसेको र यो एक वर्षमा असफल सावित भएको दाबीसमेत गरेका छन् ।

भारतीय लगानीमाथि निशाना

दुई साताअघि उर्जासम्बन्धी बैठकमा भाग लिन उर्जामन्त्री वर्षमान पुन दिल्ली गएका थिए । त्यहाँ भारत सरकारका अधिकारीहरुले अरुण तेस्रो जलविद्युत आयोजनामाथिको सुरक्षालाई लिएर मन्त्री पुनसँग चिन्ता व्यक्त गरेका थिए ।

संखुवासभामा रहेको अरुण तेस्रो आयोजनास्थलमा विप्लव समूहले बम पड्काएको भन्दै भारत सरकारले सुरक्षाको प्रवन्ध गर्न मन्त्री पुनलाई आग्रह गरेको थियो ।

शायद छिमेकीको त्यही सरोकारलाई सम्वोधन गर्नका लागि हुनुपर्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना हरेक भाषणहरुमा त्यस्ता हिंसात्मक घटनाको विरोध गर्दै आएका छन् ।

उता विप्लव समूहले भने नेपालमा भइरहेको भारतीय लगानीमाथि प्रहार गर्ने नीति लिएको सो समूहका महामन्त्री चन्दको अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।

विप्लवले रातोखबरलाई दिएको भिडियो अन्तरवार्तामा दिल्लीलाई चुनौती दिँदै भनेका छन्– ‘भारतका लगानीकर्ताहरूले, संस्थाहरूले बुझिराखुन्, अपर कर्णाली पनि हामी लागू हुन दिँदैनौँ । अरुण ३ पनि गर्न दिँदैनौँ । जितगढी पनि गर्न दिँदैनौँ । कोशी बाँध जस्ता… काम हामी हुन दिँदैनौं । यो कुरा हामीले जीएमआरलाई भनेका छौँ । सतलजलाई पनि भन्ने हो । अरूलाई पनि भन्ने हो ।’

बुटवलको जितगढीमा भारतले पेन्सन क्याम्प बनाउन लागेको भन्दै विप्लवले त्यसको प्रतिरोध गरिने बताएका छन् । उनले भनेका छन्– ‘जितगढी भनेको नेपालीको अंग्रेजविरुद्धको आन्दोलनसँग जोडिएको एउटा किल्ला, प्रतीक हो, त्यसलाई भारतले आफ्नो पेन्सन क्याम्प बनाएर आफ्नो सेना ल्याएर राख्न खोज्दैछ । नेपालको प्रशासन र नेताहरू लाचार भएर त्यसलाई बेचेर खाँदैछन् । यी सबै क्षेत्रमा हामीले प्रतिरोध गरिरहेका छौँ ।’

फाइल फोटो

नेपालमा रहेका भारतीय विकास आयोजनाहरुको विरोध गर्दै विप्लव भन्छन्– ‘नेपालमा बिजुली निकालेर भारतमा लाने कुरा कसले मान्छ ? दुई–चारजनाले कमिसन खाएर, दुई– चारजना नेताहरू चुप लागेर हुन्छ ?’

त्यसैगरी विदेशी लगानीमा सञ्चालित एनसेलमाथि आक्रोश पोख्दै विप्लव भन्छन्, ‘एनसेलको हेर्नुहोस् त, हामीले कुरा उठाउँदा ४३ अर्बको कुरा थियो । दुई महिनाअघि ६० अर्बको कुरा थियो । अहिले ७२ अर्बको कुरा आएको छ । कुनचाहिँ पार्टीको नेता बोल्यो ? यो सबमा भ्रष्टाचार भएको छ भन्ने कुरा थाहा हुँदैन ?’

विप्लव अगाडि भन्छन्, ‘हामी एउटा ठूलो परीक्षण गरेर साम्राज्यवादलाई चुनौती दिँदैछौँ । हामीले यहाँ दलाल पुँजीवादलाई चुनौती दिँदैछौँ ।…. विदेशी दलालहरूले हाम्रो देशलाई गाँजेर लुट्ने ?.. यी सबै राष्ट्रियतासँग सम्बन्धित कुरा हुन् । हामी त्यसलाई सफल हुन दिँदैनौँ ।’

ओली सरकार असफल भएको दाबी

सशस्त्र गतिविधि गरिरहेका विप्लवले ओली सरकारलाई ‘दलाल पुँजीपति’ हरुकै सरकारको निरन्तरता बताउँदै यो एक वर्षको अवधिमा सरकार पूर्णतः असफल भएको र संकटमा फसेको दाबीसमेत गरेका छन् ।

‘केपीजी झापा विद्रोहको बन्दुक फालेर आत्मसमर्पण गर्न जानुभयो । प्रचण्डजीत झन् अब महान् जनयुद्धका सम्पूर्ण उपलब्धिहरूलाई खरानी पारेर त्यहाँ पुग्नुभयो ।’

‘यो ११–१२ महिनामा उहाँहरू पूरै असफल हुनुभयो, जनताको आँखामा फेल खानुभयो,’ विप्लवले ओली सरकारको मूल्यांकन गर्दै भनेका छन्, ‘केपीजी–प्रचण्डजीले कम्युुनिस्टका नाममा सरकारमा गएर समाजवाद ल्याउँछु भन्नेजस्तो गर्नुभएको छ । सुख र समृद्धि ल्याउँछौँ भनेर नारै दिनुभयो सुखी नेपाली समृद्ध नेपालको । यो कुरा नितान्त छलकपटपूर्ण र फट्याइँ थियोे ।’

संविधानलाई समेत अस्वीकार गरेर चुनाव बहिस्कार गर्दै हिंसाको बाटोमा हिँडिरहेका विप्लवले अगाडि भनेका छन्, ‘नेपालमा सत्ता परिवर्तन भएको छैन । दलाल पुँजीपति वर्गकै सत्ता भएको स्थितिमा जनताले त्यहाँभित्रबाट नयाँ जीवन पाउने कुरा सम्भव हुँदैन । किनकी केपीजी र प्रचण्डजी दुवैजना क्रान्तिको बाटोबाट विचलित भएको, भागेको, पछाडि हटेको पात्र हो । केपीजी झापा विद्रोहको बन्दुक फालेर आत्मसमर्पण गर्न जानुभयो । प्रचण्डजीत झन् अब महान् जनयुद्धका सम्पूर्ण उपलब्धिहरूलाई खरानी पारेर त्यहाँ पुग्नुभयो ।’

यो सरकार संकटमा फसेको विप्लवको दाबी छ । उनले भनेका छन्, ‘यो दलाल पुँजीवाद आफैँमा एउटा संकटग्रस्त राज्यप्रणाली हो । नेपालमा थप के छ भने त्यसका कट्टर प्रतिनिधिहरू सरकारभन्दा बाहिर छन् । वामपन्थी र कम्युनिस्ट नाम गरेका त्यहाँ पुगेका छन् । त्यो पनि एकदमै कट्टर दलाल पुँजीपति वर्गलाई मन परेको छैन, पच्दैन । सँगसँगै फेरि साम्राज्यवादीहरू, उत्तरसाम्राज्यवादीहरूलाई पनि त्यो मन पर्दैन । त्यसो भएपछि यो त संकटग्रष्ट हुनु नै थियो । संकट त यो दलाल पुँजीपति वर्गको चरित्र नै हो ।’

अब ओली सरकार फासीवादको बाटोमा जान सक्ने विप्लवको विश्लेषण छ । उनले भनेका छन्– ‘यसमा म दुईटा कुरा देख्छु । एउटा, केपीजी–प्रचण्डजीहरू र नेपाली जनताबीच सङ्घर्ष हुने र त्यो संघर्षमा कि त केपीजी–प्रचण्डजीहरूले एउटा सामाजिक फासिवाद लाद्ने वा उहाँहरूलाई जनताहरूले क्रस गर्ने । अर्को सम्भावना के छ भने यी नामधारी कम्युनिस्टहरू अथवा सामाजिक दलाल केपीजी–प्रचण्डजीहरूको पराजय भयो भने अर्को कुनै न कुनैरूपले पुँजीवादी फासीवाद वा दलाल पुँजीवादी फासीवाद आउने सम्भावना छ । प्रचण्डजी र केपीजीहरू त असफल हुने कुरा नै भइहाल्यो ।’

यसैवीच, बाइडबडी विमान खरीद प्रकरणमा पनि विप्लव बोलेका छन् । उनी भन्छन्, ‘अहिले वाइडबडीको कुरा गर्नुस् । वाइडबडी पनि एउटा राष्ट्रघात हो नि त । जनताले उठाएको करको पैसा लगेर किनेको वाइडबडीको जहाजमा ६/६ अर्ब रुपैयाँ घोटाला हुने । यसमा किन प्रचण्ड बोल्दैनन् ? किन केपी बोल्दैनन् ? किन शेरबहादुर बोल्दैनन् ?’

माओवादीले फेरि ब्युँतिएको दाबी

हिजोको जनयुद्धवाला माओवादी अझै नसकिएको र फेरि शक्ति आर्जन गरेर यहाँसम्म आइपुगेको विप्लवको दाबी छ ।

उनले आफ्नो अन्तरवार्तामा भनेका छन्– ‘सायद पुँजीवादीहरूलाई, साम्राज्यवादीहरू र यहाँका सामन्तवादीहरुलाई अब नेपालको क्रान्ति सिद्धियो भन्ने परेको थियो । तर, हाम्रो टिमले आत्मसमर्पणवाद, विसर्जनवाद र संशोधनवादको विरुद्धमा पुनः एउटा क्रान्तिको झन्डा खडा गर्‍यौं ।… देख्नेखालको झन्डा खडा गरेर आज हामी यहाँ आइपुगेका छौं । र, अहिले फेरि नयाँ सङ्घर्षका किरणहरू अथवा सङ्घर्षका प्रक्रियाहरू अगाडि आएका छन् ।’

वार्ताका लागि ऋषि धमलाकोमा जाने कुरा आएन !

नेत्रविक्रम चन्द विप्लवले सरकारी वार्ता टोलीका संयोजक सांसद सोमप्रसाद पाण्डे राम्रै मान्छे भए पनि ऋषि धमलाको रिपोर्टस क्लबमा वार्ताका लागि जान नमिलेको जवाफ दिएका छन् ।

सोमप्रसादजीले कुनै क्लबमा गएर भाषण गरेको भरमा हामी वार्तामा दौडेर जाने कुरा त आएन नि ! ऋषि धमलाको क्लबमा हामी सोमप्रसादजीलाई भेट्न जाने कुरा त आएन नि ।

सरकारले बोलाएको वार्तामा किन नगएको भन्ने प्रश्नको जवाफमा विप्लवले भनेका छन्– ‘यो रमाइलो जस्तो पनि र बडो गम्भीर विषय पनि हो । ०६४ सालदेखि ०६९ सालसम्म वार्ताले नै यस्तो बनायो । प्रचण्डहरूलाई त्यहाँ पु¥यायो । हामीलाई यहाँ पु¥यायो । बाबुरामलाई त्यहाँ पु¥यायो ।’

विप्लवले अगाडि भनेका छन्, ‘वार्तामा हामी भाग लिन्छौँ कि लिँदैनौँ, यी विषयहरू आफ्नो ठाउँमा छँदैछन् । तर, कुरा के भने सरकारले बिनाकारण हाम्रा साथीहरू समात्यो । अदालतसम्मको लडाइँले छोड्यो । छोड्दाखेरि वार्ता गर्ने मनसाय थियो भने उनीहरूले नै जानून् । वार्ताटोली बनायो तर कोसँग के विषयमा वार्ता गर्ने भन्ने विषयमा बाहिर आधिकारिक ढङ्गले बोल्दा पनि बोलेनन् । वार्ताका विषयमा हाम्रो पार्टीसँग आधिकारिक तरिकाले, जिम्मेवारीपूर्ण तरिकाले कुरा गर्दा पनि गरेनन् ।’

वार्ताकै प्रश्नमा विप्लव थप्छन्, ‘व्यक्तिगतरूपले सोमप्रसादजी राम्रै मान्छे हो । कम्युनिस्ट भनेर आएको हुनाले पनि, बोलीको हिसाबले शिष्ट नै होला । त्यो ठीक छ ,तर सोमप्रसादजीले कुनै क्लबमा गएर भाषण गरेको भरमा हामी वार्तामा दौडेर जाने कुरा त आएन नि ! ऋषि धमलाको क्लबमा हामी सोमप्रसादजीलाई भेट्न जाने कुरा त आएन नि ।

विप्लवले अगाडि भनेका छन्, ‘हामी वार्तामा एकदमै लालायित, पूरै कुदिहाल्ने भन्नेमा पनि छौनौँ । हामी वार्ताबाट त्रसित पनि छैनौँ । वार्ता राजनीतिक आन्दोलनको एउटा आयाम हो । आउँछ, सामना गर्ने कुरा पनि आउँछ । आउँदैन, क्रान्तिमा अगाडि बढ्ने कुरा हुन्छ । यसलाई हामीले यसरी नै बुझ्नुपर्ने हुन्छ ।’

यो पनि पढ्नुहोस् : 

विप्लवका नेता भन्छन्- बम हान्दा मरेकालाई राहत दिन्छौं, प्रहरी भन्छ- बोल्न सक्दैनौं !

कार्यकर्ता छुटाएपछि सरकारसँग टाढिएको थियो विप्लव समूह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment