Comments Add Comment

कक्षा ११ का विद्यार्थीको शंका : संसदमा दुईतिहाई छैन जस्तो लाग्यो !

सांसदलाई नियमित हाजिर हुन विद्यार्थीको सुझाव

१४ फागुन, काठमाडौं । कक्षा ११ मा कानुन विषय पढिरहेका एक हुल विद्यार्थी मंगलबार संसदको गतिविधि प्रत्यक्ष रुपमा हेर्न संसद भवन नयाँबानेश्वरभित्र प्रवेश गरे । त्यसक्रममा उनीहरुले संसद सचिवालयका कर्मचारीसँग पनि केहीबेर भलाकुसारी गर्ने मौका पाए ।

कलेजमा विद्यार्थीहरुले ध्यान दिनुपर्ने महत्वपूर्ण विषय हो– हाजिर । कक्षामा नियमित उपस्थित हुनु विद्यार्थीको अनुशासनभित्र पर्छ । शायद यही कारणले मंगलबार संसद भवनमा पनि विद्यार्थीहरुले कति सांसदहरु हाजिर हुँदारहेछन् भनेर चासो राखे ।

तर, सांसदहरु बस्ने अधिकांश कुर्सी खाली देखेपछि विद्यार्थीहरुले नियमितरुपमा संसद बैठकमा हाजिर हुन सांसदहरुलाई सुझाव दिएका छन् । संसदको उपस्थिति हेरेपछि केही विद्यार्थीले संसदमा दुई तिहाई बहुमत नभएको जस्तो लागेको बताए । कानुन पारित गर्दा पनि बहुमत सांसदहरु आएनन् भने के हुन्छ भन्ने उनीहरुले जिज्ञासा राखे ।

काठमाडौंस्थित कामना इन्टरनेशनल कलेज सानोभर्‍याङका २२ जना विद्यार्थी प्राध्यापक हरि पाण्डेको साथ लागेर प्रतिनिधिसभा बैठकका गतिविधि बुझ्न आएका थिए ।

‘संसदमा दुई तिहाई छैन जस्तो लाग्यो’

‘टीभीमा हेर्दाखेरि प्रमुख (सभामुख) मात्रै देखिन्थ्यो । तर, यहाँ आएपछि यताउता सबैतिर देखियो । हल पनि एकदमै ठूलो र सोचेको भन्दा पनि राम्रो रहेछ’, काभ्रेकी रोसाङ तामाङले संसद अवलोकनको अनुभव सुनाउँदै भनिन्, ‘तर, नेताहरु सबै उपस्थित नहुने रहेछन् ।’

रोसाङलाई जस्तै संसदभित्रको गतिविधि फरक रहेछ भन्ने अर्का विद्यार्थी खिमलाल डाँगीलाई पनि लागेछ । उनले भने ‘सिक्ने भनेर आएको, पढेको र देखेको त फरक भइहाल्छ तर, बैठकमा सबै सांसदहरु आउनुभएको जस्तो लागेन ।’

डाँगीले थपे, ‘दुई तिहाइ बहुमत भनिन्छ नि, त्यो संसदमा छैन जस्तो लाग्यो । विधेयक पास हुनेबेलामा पनि बहुमत सदस्यहरु आइदिनुभएन भने के हुन्छ ?’

अर्का बिद्यार्थी रुपेन्द्र दाहालले सांसदहरुलाई नियमित बैठकमा हाजिर हुन सुझाए । ‘उहाँहरुले कुनै पनि विषय उठाउँदा त्यसले राम्रो असर गर्छ र नकारात्मक घटना न्युनीकरण हुन मद्दत पुग्छ भन्ने लाग्छ’, दाहाल भन्छन, ‘आफैँ उपस्थित नभएपछि जनताका मुद्दा के उठाउलान् भन्ने लग्यो । सकेसम्म सबै संसदहरु बैठकमा उपस्थित हुनुभयो भने राम्रो हुन्थ्यो कि भन्ने सुझाव पनि दिन चाहन्छु ।’

बैठकमा सांसदहरुले उठाएका भ्रष्टाचार नियन्त्रणका कुरा, माथिल्लो तामाकोशी नेपालले आफैँले बनाउनुपर्छ भन्ने विषय भने आफूलाई चित्त बुझेको दाहालले सुनाए ।

प्राध्यापक तथा अधिवक्ता हरि पाण्डे कानुनका श्रोतहरु, कानुन कसरी बन्छ, कानुन निर्माण हुने प्रक्रियाहरु के–के हुन भन्ने बुझाउन विद्यार्थीहरुलाई सदनको गतिविधि देखाएको बताउँछन् । ‘तर, विद्यार्थीहरुले सांसदहरु कम उपस्थित भएको विषयलाई बढ्ता ख्याल गरेछन्,’ उनले अनलाइनखबरसँग भने ।

‘बलात्कारको विषय उठिरहँदा घत लाग्यो’

केही विद्यार्थीहरुले महिला हिंसा, बलात्कार, भ्रष्टाचारजस्ता विषय संसदमा उठ्दा घत लागेको प्रतिक्रिया दिए ।

‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले देशै उचाल्या जस्तो भएको थियो । अझै पनि त्यस्ता घटनाहरु भइरहेको भन्ने विषय संसदमा उठ्यो’, गोरखाकी एञ्जिला अमगाई भन्छिन्, ‘यसमा राजनीतिक चलखेल छ भन्ने विषय पनि बाहिर अइरहेका छन् । सरकारले केही गर्न सकेन कि के भएर हो भन्ने लाग्यो । आजै यो विषय उठ्दा घत लाग्यो ।’

मंगलबारको बैठकमा नेकपाकी सांसद विमला बिकले बर्दियामा १९ वर्षीया किशोरी र ६ वर्षीया वालिका बलात्कृत भएको विषयमा सरकारको ध्यानाकर्षण गरेकी थिइन् ।

विपन्न वर्गलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन स्वास्थ्य बीमा कार्यक्रम देशैभर लैजानुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएकोमा भने एञ्जिला खुसी भइन् । ‘स्वास्थ्य विमा गर्‍यो भने खर्च अभावमा उपचार नै नपाउने विपन्न वर्गलाई राहत दिने कुराहरु गर्नुभयो, त्योसुन्दा खुसी लाग्यो’, उनले भनिन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेकपाका सांसद खगराज अधिकारीले स्वास्थ्य बीमा ऐन अन्तर्गतका कार्यक्रमलाई एकैचोटि देशव्यापी प्रवाहित गर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव मंगलबार सदनमा पेश गरेका थिए ।

संसदको अवलोकन गरेर फर्केका विद्यार्थीहरुले नेपालको संसद भवन नेपाल आफैँले बनाएको होइन र अहिलेसम्म भाडामै बस्छ भन्ने थाहा पाउँदा दुःख लागेको सुनाए ।

नुवाकोट घर भई हाल काठमाडौंस्थित कामना इन्टरनेशनल कलेज सानोभर्‍याङ काठमाडौंमा कक्षा ११ मा अध्ययनरत कृतिका सापकोटाले भनिन्– ‘यस्तो सुनेर साह्रै दुःख लाग्यो कि संसद भवन नेपालले बनाएको होइन रहेछ, चीनले बनाइदिएको रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment