Comments Add Comment

आधुनिक छाउपडी घर बनाऔं, नयाँ पुस्ताले आफैं भत्काओस्

म अछामको मान्छे, जहाँबाट यो छाउपडी प्रथा सुरु हुन्छ । जहाँ यस प्रथाले बलियोसँग जरा गाडेर बसेको छ । थाहा छैन, सुदुरपश्चिमभन्दा बाहिरका मान्छे, विशेष गरेर शहरियाहरुले त्यो प्रथाको पकडलाई कस्तो रुपले लिन्छन्, तर मैलेचाहिँ आफैंले आमा महिनावारी हुँदा वा छाउ हुँदा, पर सर्दा, नछुने हुँदा, यो प्रथा नजिकबाट भोगेको छु ।

सुन्दा एकदमै डर र दुःख लागेर आउँछ, अछाममा यस्तो भयो उस्तो भयो, बाजुरामा २ छोरासहित आमा छाउगोठमै मरिन्, यो वर्षभरि छाउपडी प्रथाका कारणले यति मान्छे मरे र यस्तै-यस्तै ।

अझ उदेक त त्यतिबेला लाग्छ, जब समाचार आउँछ कि छाउपडी घर भत्काइएकाले चिसोमा कठ्याङगि्रएर मरे रे ! त्यसो भए के ती भत्काउने सरकार र सम्बन्धित निकाय अपराधी हुन् त ? यी यावत कुराहरुलाई सोच्दा मनमा प्रश्न उब्जिन्छ के साँच्चै २/४ दिन गरैसरकारी संस्था त्यो ठाउँमा गएर वा सरकारी खबर कहिले नपुग्ने सुदुरपश्चिममा मुलुकको कानुनले यस छाउपडी प्रथाको समाधान गर्न सक्छ त ?

मलाई लाग्दैन कि यसरी छाउपडी प्रथाको अन्त्य होला । किनभने, मैसँग भएको अनुभवको कुरा गर्दा, मेरो परिवार अछामबाट कञ्चनपुर बसाइँ सरेको ३० बर्ष भइसक्दा पनि कञ्चनपुरमा नै हटाउन नसकिएकोछाउपडी घर र प्रथा, अछाममा वा पहाडी अरु जिल्लामा चाहिँ कसरी यति सजिलै छाउपडी घर (गोठ) भत्काएर हटाउन सकिएला र ?

धेरै समयको छाउपडी घर भत्काउने प्रयास र असफलतापछि मैले यो प्रथा कसरी सुरु भयो र किन अहिलेसम्म यसरी जरा गाडेर बसेको भनेर मेरा अग्रजहरुबाट बुझ्न खोज्दा वैज्ञानिक कारण पाएँ जसलाई पछि देवीदेवताका नामले कार्यान्वयन गरियो । अहिलेको विज्ञानले के सिकाउँछ भने महिनावारी हुँदा महिलामा धेरै रक्तश्राव हुने हुनाले विश्राम गर्नुपर्छ र किटाणुको संक्रमण हुन सक्ने भएका कारण सरसफाईमा पनि त्यति नै ध्यान दिनुपर्छ । यही कारणलाई पछ्याइएजस्तो गरी हाम्रो अछाममा महिला महिनावारी हुँदा उसले गरेका केही पनि काम चल्दैन, जस्तै- घाँस काटेको गाईगोरुलाई चल्दैन । दाउरा चुलोमा चल्दैन । यस्तै-यस्तै केही पनि काम चल्दैन । जसले के हुँदोरहेछ भने महिनावारी भएको ५/७ दिनसम्म केही पनि काम नगरेर बिश्राम गरेर बस्नुपर्दो रहेछ ।

सरसफाइको कुरा गर्नु हुन्छ भने महिनावारी भएका महिलाले ५/७ दिनसम्म दिनहँ आफुले पनि नुहाउनु पर्ने र आफूसुत्ने छाउगोठ घरको पनि दिनहु लिपपोत गर्नु पर्ने हुँदोरहेछ । यति बुझिसकेपछि यदि केही कुरा मैले मेरै घरमा सुधार गर्न सकें भने त छाउपडी प्रथा वा महिनावारीबाट हुन सक्ने दुर्घटनाबाट बच्न सकिन्थ्यो कि जस्तो लाग्यो र त्यसैको फल्स्वरुप हाम्रो घरमा भएको छाउपडि घरलाई सुरक्षित बनाउने निर्णय गर्‍यौं । र, मेरो घरमा, घरभन्दा चिटिक्क परेको अनि पूर्ण सरसफाई भएको छाउपडी घर बनायौ र त्यहाँभित्रै गर्मी महिनाका लागि फ्यान पनि छ र चिसोको महिनाका लागि पर्याप्त ओढ्ने ओ्याउनेको व्यवस्था पनि छ ।

आजकाल त्यो छाउपडी घर सुरक्षित भएकाले मेरो छिमेकीबाट १०/१५ जना महिलाहरु आफू महिनावारी हुँदा त्यहाँ बस्न आउने गरेका छन् ।

यसो भन्दै गर्दा मैले अब यो प्रथाको जर्गेना र प्रवर्द्धन गर्नुपर्छ भनेको चाहिँ हैन । तर, यो प्रथालाई एकैपटक जरैबाट उखेलेर फाल्न नसकिने देखिएका कारण यसलाई जनचेतना सँगसँगै विस्तारै निर्मूल गर्दै जानुपर्छ न कि अगाडि भनेजस्तै २/४ दिन गैरसरकारी संस्था त्यो ठाउँमा गएर गोठ भत्काउन र उल्टै गाउँमा नमान्ने भएका कारण महिलाहरु चिसोमा कठ्याङगि्रएर मरुन् ।

बरु, जस्तो कि- मेरो घरमा मेरा हजुरबुबा, आमाको पुस्ता रहँदासम्म वा भनौं न, मेरा आमाबुबाको पुस्ता रहँदासम्म मेरो घरमा त्यो छाउपडी गोठ हट्दैन । तर, मेरो पुस्तामा आउँदा त्यसलाई म आफैं भत्काउँछु ।

अहिले पनि मेरो घरमा विस्तारै केही सुधार पनि देखिँदै छ । पहिले पहिले ७ दिनसम्म बाहिर राख्थे, अहिले ४ दिनसम्म मात्रै राख्न सुरु गरिसके । जुन, अझ हट्दै जाला भन्ने आशा छ । तर, जतिबेलासम्म हट्दैन, त्यतिबेलासम्म त मेरा आफन्त सुरक्षित भए नि ।

यतिका गैरसरकारी संस्था र सरकारले सहकार्य गर्छ भने जनचेतना सँगसँगै अहिलेका लागि जतिबेलासम्म एकदमै मान्दैनन्, हामी सुरक्षित छाउपडी घर बनाइदिउँ न । बरु प्रत्येक घरमा सकिँदैन भने १०/१२ घरका लागि एउटै बनाउन सकिन्छ । जनचेतना पनि बढाउँदै जाउँ । आउने पिँढीले आफैं छाउपडी घर भत्काउँदै जानेछ र विस्तारै प्रथा पनि हट्दै जानेछ ।

र, यो जनचेतनाका कार्यक्रम हामीजस्तै युवायुवतीका माझमा र युवायुवतीकै मार्फत घर-घरमा र गाउँगाउँमा पुर्‍याइनुपर्छ । यसो गर्दा छाउपडी प्रथाको काठमाडौंमा बसेर गरिने समाधानभन्दा अल्पकालीन र दीर्घकालीन पश्चिमले समाधान हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment