Comments Add Comment

उपमेयरलाई मेयरको जवाफ : व्यक्ति स्वार्थमा महानगरको वेइज्जत नगर्नुस्

भरतपुर महानगरमा विवाद

१५ फागुन, चितवन । दिदीबहिनी बचेर चुनाव लडेका भरतपुर महानगरकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहको मनमुटाव त्यसबेला सार्वजनिक भयो, जब कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले समीक्षा बैठक बहिष्कार गरे ।

कांग्रेस र माओवादीको सहकार्यमा चुनाव जितेका उनीहरुले आम चुनावताका नै अलग अलग बाटो रोजेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमाले र माओवादीले वाम मोर्चा बनाएपछि नै भरतपुरमा तनाव आउने पूर्वमान थियो ।

नभए एमाले र माओवादीले पार्टी एकता गरेको केही समयपछि समीक्षा बैठक भयो । त्यसपछि पनि बेलाबेला सानो स्वरमा प्रकट भएको असन्तुष्टि अहिले छरपष्ट भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले मेयरकै आडमा आफुलाई अपमान गरेको आरोप उपमेयर शाहले लगाएकी छन् । गत साउनमा पनि उनले यहि आरोप लगाएकी थिइन् ।

उपमेयरले यसपटक मेयरमाथि महानगरमा आर्थिक अनियमितता गरेको आरोप पनि लगाइन् ।

यो पनि पढ्नुहोस रेनु दाहाललाई मेयरमा जिताएर गल्ती गरिएछ : उपमेयर शाह

मेयर दाहालले भने आरोप प्रमाणित गर्न चुनौती दिएकी छन् । उपमेयरले आफ्नो चरित्र हत्या गर्न बेतुकका आरोप लगाएको मेयर दाहालको भनाइ छ । उपमेयरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर भरतपुर महानगरको वेइज्जत गरेको उनको दाबी छ । देशका छवटा महानगरमध्ये भरतपुरले विकासमा चालेको कदमले राष्ट्रिय चर्चा पाएकाले त्यसलाई रोक्ने प्रयास भएको उनले बताइन् ।

मेयर दाहालले बुधबार विहान नेपाल कम्यनिष्ट पार्टी (नेकपा) निकट वडाध्यक्ष र नगर कार्यपालिका सदस्यहरुलाई राखेर पत्रकार सम्मेलन गरिरहँदा उपमेयरले पनि कांग्रेस निकट वडाध्यक्षहरुलाई भेला गरेकी थिइन् ।

स्वार्थले झगडा

स्थानीय तह निर्वाचन अघि एकाघरका दिदीवहिनी झैं गरी हिँडेका मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह अहिले पानी बाराबारको स्थितीमा पुगेका छन् । उपमेयरले प्रमुख प्रशासकिय अधिकृत सुवेदीको व्यवहार र महानगर मैले चलाउने हो भन्ने मेयरको अभिव्यक्तिलाई मुद्धा बनाएकी छन् ।

सुरुमा दाहालले उपमेयरलाई खुशी बनाउने प्रयास गरेको देखिन्छ । जस्तो, उपमेयर शाहका लागि गाडी हुँदाहुँदै ६० लाखको नयाँ गाडीको व्यवस्था गर्ने निर्णय महानगरले गर्‍यो । माथिल्लो तलाको कार्यकक्ष उपमेयर शाहलाई छाडेर मेयर दाहाल तल्लो तलामा सरिन् ।

उप–मेयरको सचिवालयमा कुनै कुराको कमी हुन नदिइएको महानगरपालिकाका कर्मचारीहरु बताउँछन् । उनीहरुका अनुसार, ज्वाँइलाई डाइभरमा जागिर दिएकी उपमेयर शाहले भतिजीलाई प्राविधिक पदमा जागिर लगाउन मेयर दाहाललाई दवाव दिँदै आएकी थिइन् । तर, प्रमुख प्रशासकीय अधिृकतले प्राविधिक कर्मचारी राख्न नसकिने भनेपछि रिसाएको कर्मचारीहरु बताउँछन् ।

शाह उपमेयर भए पनि उनको पार्टी कांग्रेसले भरतपुर महानगरपालिकामा कांग्रेसले वडा न. २१ का वडाध्यक्ष चित्रसेन अधिकारीलाई दलको नेता तोकेको छ ।

कांग्रेसकै कतिपय नेता–कार्यकर्ताले आफूलाई फोन गरेर उपमेयर शाहको क्रियाकालापबाट नआत्तिन भन्ने गरेको मेयर दाहालको भनाइ छ । ‘यो पार्टीसँग होइन, व्यक्तिगत स्वार्थसँग जोडिएको विषय हो’ मेयर दाहालले भनिन्, ‘कांग्रेसले जितेका वडामा मैले बढि बजेट र कार्यक्रम दिएको कुराको वोध उहाँहरुलाई छ ।’

मेयर दाहालले उपमेयरको सचिवालयको फेसवुक पेजमा धम्की आएको विषय पनि उठाइन् । उपमेयरलाई धम्कीपूर्ण म्यासेज गरेका भरतपुर– ११ का शिवहरी सुवेदीलाई माफी मगाएर सहमति गरिएको थियो । तर, उपमेयर शाहले काठमाडौंमा पत्रकार सम्मेलन गरेर त्यो बिषय पनि उठाएको मेयर दाहालले बताइन् ।

उपमेयरले घर भाडा पनि मागेको तर, भरतपुरमा घर भएकाले नदिइउको उनको तर्क छ । भरतपुरमा घर नभएकी मेयरले मासिक ३३ हजार ६०० घर भाडा लिने गरेकी छन् । उपमेयर शाहको भने भरतपुर– १२ मा घर छ ।

त्यस्तै, गत असोजदेखि मंसिरसम्म मेयरको इन्धन खर्च ४५ हजार छ भने उपमेयरको ९४ हजार रुपैयाँ । ‘म फस्ट म्यान हो, सेकेण्ड म्यान उहाँले महानगरप्रति कुनै जिम्मेवारी देखाउनुभएको छैन’ पत्रकार सम्मेलनमा मेयर दाहालले भनिन् ‘मैले कतिसम्म लत्रिने, झुक्ने र पूजा गर्नुपर्ने हो ?’

पत्रकार सम्मेलनमा मेयर दाहालले उपमेयर शाहले लगाएका एकएक आरोपको खण्डन गरिन् । त्यसक्रममा उनले उपमेयरका आफन्तलाई जागिरमा नलगाउँदा असहज अवस्था आएको बताइन् । ‘आफ्नो तोकिएको काम समेत पुरा नगर्ने, स्वार्थमा मात्र ध्यान दिने उहाँको बानी भयो’, उनले भनिन्, ‘सकेसम्म आफ्ना नातागोतालाई मात्र जागिर दिनेमा उहाँको ध्यान हुन्छ ।’

उपमेयरले आफ्ना चारजना नातेदारलाई सचिवालयमा राखेको र एकजनालाई कम्प्युटर अपरेटर राख्न दबाव दिएको मेयरले बताइन् । ‘उहाँमा आफ्नो जिम्मेवारप्रति कुनै चिन्ता देखिएन’, दाहालले भनिन्, ‘व्यक्तिगत कुण्ठा बोकेर महानगरकै बेइज्यत गर्दै हिँड्नुभएको छ ।’

उनले आर्थिक अनियमिता लगायत सबै आरोप पुष्टि गर्ने प्रमाणसहित उपस्थित हुन उपमेयर शाहलाई चुनौती दिइन् । ‘यस्ता झिनामसिना कुरा मिडियामा ल्याउन चाहान्नथेँ तर, अति नै भयो’, मेयर दाहालले आक्रोशित हुँदै भनिन्, ‘उहाँलाई एक–एक आरोप प्रमाणित गर्ने प्रमाण लिएर आउन चुनौती दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment