Comments Add Comment

‘क्याप्टेन’ देशैभर हाउसफूल, अनमोल हल पुग्दा देखियो यस्तो क्रेज(फोटो फिचरसहित)

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘क्याप्टेन’ले शनिबार देशैभरका हलमा बम्पर व्यापार गरेको छ । चलचित्रका वितरक मनोज राठीले चलचित्रको यो कमाइलाई बम्पर भनेका छन् । उनले भने–‘लामो समयदेखि चलचित्र क्षेत्रमा देखिएको व्यापारिक खडेरीलाई यो चलचित्रले तोडेको छ ।’ शुक्रबार चलचित्रको अकुपेन्सी ५० देखि ६० प्रतिशतको हारहारीमा देखिएतापनि शनिबार चलचित्रको व्यापार शत प्रतिशत रहेको राठीले बताए ।

शनिबार बिहानैदेखि काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, गंगा, गुण लगायतका हलमा दर्शकको चाप उच्च देखियो । काठमाण्डौ बाहिर पनि बिहानैदेखि दर्शक हलमा पुगेका थिए । चलचित्र ‘क्याप्टेन’ हेर्न दिवा शोमा काठमाण्डौको गोपिकृष्ण र अष्टनारायण हलमा दर्शकको चाप थामिनसक्नु थियो । काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार बम्पर रहेको वितरकले बताएका छन् ।

गोपिकृष्ण हलका प्रबन्धक प्रदिप दाहालले भने–‘यो भीड छक्का पन्जा ३ पछि देखिएको हो । दर्शक प्रतिक्रिया वुझ्दा यो चलचित्रले लामो समयसम्म स्पिड लिने देखिएको छ । हामीले पनि लामो समयदेखि हलमा मान्छे देख्न पाएका थिएनौ । लामो समयपछि हलमा चहलपहल बढेको छ ।’

राष्ट्रिय झन्डा बोकेर हल पुगे अनमोल
यसैविच, शुक्रबार दिवा शोको समयमा नायक अनमोल केसी दुई नायिकाको साथमा गोपिकृष्ण मुभिज र अष्टनारायण हल पुगेका छन् । गोपिकृष्ण हलमा प्रहरीको सुरक्षामा पुगेका अनमोललाई ४ जना सुरक्षागार्डले सुरक्षा दिएका थिए । तर, पनि हलमा देखिएको दर्शकको उच्च चापले अनमोललाई भिडबाट जोगाउन सुरक्षागार्डलाई हम्मेहम्मे भएको थियो । राष्ट्रिय झन्डाको साथमा हल पुगेका अनमोलले दर्शकसँग राष्ट्रिय गान पनि गाएका थिए ।

साथै, अनमोलले आफ्नो अटोग्राफसहितको फुटबल दर्शकलाई दिएका थिए । चलचित्रका निर्माता समेत रहेका भूवन केसीले चलचित्रको व्यापारबारे भने–‘यो चलचित्रमा हामी सबै टिमको मिहिनेत छ । यसको लगानी धेरै छैन । तर, हामीलाई दर्शकको प्रतिक्रिया कस्तो आउँछ भन्ने लागेको थियो । दर्शकको प्रतिक्रियाले अत्यन्तै खुशी बनायो ।’

यस्तै, चलचित्रका नायक अनमोल केसीले आफूले गरेको मिहिनेतलाई दर्शकले स्विकार गरिदिनुभएको भन्दै खुशी व्यक्त गरे । चलचित्रका दुई नायिका प्रियंका एमभी र उपासना सिंह ठकुरीले दर्शकले आफूहरुलाई पनि रुचाइदिनुभएको भन्दै खुशी व्यक्त गरे । चलचित्रका कलाकार प्रशान्त ताम्राकारले दर्शकले आफ्नो कोचको भूमिकालाई रुचाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment