Comments Add Comment

महाशिवरात्री तयारी : चारैतर्फ लाइनको व्यवस्था, ढोकैमा चन्दन वितरण

६ हजार सुरक्षाकर्मी, ५ हजार स्वयंसेवक परिचालन

१९ फागुन, काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनको लागि आवश्यक सबै तयारी पूरा भएको छ । यस वर्षको महाशिवरात्री सोमबार परेको छ ।

पशुपतिनाथ दर्शन गर्न आउन भक्तजनको लाइनको व्यवस्था, सुरक्षा, आवास तथा भोजन, प्राथमिक स्वास्थ्य उपचार लगायतका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी र भिड व्यवस्थापन गर्न ५ हजार स्वयंसेवक परिचालित हुनेछन् । भिडभाडमा चोरी र लुटपाट हुन सक्ने भन्दै गरगहना नलगाइ मन्दिर दर्शनका लागि आउन पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ ।

पशुपति क्षेत्र वरपर मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ भने प्लाष्टिक निषेध गरिएको छ ।

चारैतर्फ लाइनको व्यवस्था

कोषले पशुपति नाथ मन्दिरको चारैतिरबाट दर्शनार्थीको लाइनको व्यवस्था मिलाएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक-एक गरी दुई वटा लाइनको व्यवस्था व्यवस्था मिलाइएको छ ।

यसैगरी जयवागेश्वरी-इट्टापाखा-भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एउटा लाइनको व्यवस्था छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

यस्तै बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान-सुमार्गी भवन-चारशिवालय-पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक-एक गरी दुई लाइनको व्यवस्था पनि मिलाएको छ ।

भक्तजनको भीड बढी भएमा तिलगंगा-राम मन्दिरतिरबाट समेत अर्को एउटा लाइनको व्यवस्था गरिने सदस्य सचिव ढकालले बताए ।

ज्येष्ठ नागरिक र अशक्तलाई भने लाइनमा नबसी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

बाहिरिने ढोकैमा चन्दन वितरण

महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता-चप्पल राख्ने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकीएको छ । आवास क्षेत्रमा १०० संस्थाले निःशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाएका छन् ।

६ हजार सुरक्षाकर्मी, ५ हजार स्वयंसेवक

पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने कोषले जनाएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न संघसंस्थाका पाँच हजार स्वयंसेवक खटाइने छ ।

भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्ट िनै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् ।

पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एकहप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् ।

बढे साधुसन्त 

शिवरात्रीका लागि पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको संख्या बढ्दो क्रममा छ । भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी बताए ।

उनका अनुसार शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको छ । साधुसन्तलाई निःशुल्क आवास, भोजन र धुनी बाल्ने व्यवस्था मिलाइएको छ ।

उनीहरुलाई फागुन २२ गते दान दक्षिणासहित बिदाइ गरिने कोषले जनाएको छ ।

पाँच स्थानमा पार्किङ

तिलगंगा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुहृयेश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल-गौशाला-चावहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिनेछ ।

हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले भक्तिसंगीत कार्यक्रम प्रदर्शन गर्नेछन् । आइतबारदेखि नै पश्चिम मूल ढोकाअघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment