१९ फागुन, काठमाडौं । ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त ।
श्रीमतीलाई दाहिने कोल्टो फेराइदिएपछि उनले केही मिनेटका लागि फुर्सद पाएका छन् । ‘यस्तो त शत्रुलाई पनि नहोस् । बरु फ्याट्टै प्राण जाओस्, तड्पेर बाँच्नु नपरोस्’ बोल्दाबोल्दै बसन्तकुमार ठकुरीको गला अवरुद्ध बन्यो । सुतिरहेकी श्रीमती चेली तामाङतिर पुलुक्क हेरे, आँसु देख्लिन् भनेर हतार–हतार सम्हालिए ।
‘मलाई विख दिएर मारिदिनुस्, कि त यो पाइप निकालिदिनुस् भन्छिन्, म आफ्नी बुढीलाई कसरी मार्न सक्छु ?’ उनले आफैंलाई प्रश्न गरे । अनि उत्तरमा मौन बने ।
केहीबेरमा भुत्भुताए, ‘कहिलेकाहीँ त लाग्छ, उनलाई पनि विष दिउँ र आफूले पनि खाइदिउँ । तर, सानी छोरीको याद आउँछ, उनको भविश्य सम्झन्छु ।’
बसन्तले आफूलाई दह्रो देखाउन प्रयास नगरेका होइनन्, तर, सक्दैनन्, आँखा रसाइहाल्छ ।
दुर्घटना
बसन्तको मन विचलित छ । दुई वर्षको प्रेम सम्बन्ध, १३ वर्ष बितेको बैवाहिक सम्बन्ध, आठ वर्षकी छोरी, घर बनाउने सपनाले विदेशिएको दिन … उनका आँखाअघि नाचिरहन्छन् । अनि एक्कासी ठोक्किन आइपुग्छ टेलिफोनमा सालीको आवाज, ‘दिदीलाई त मोटरसाइकलले हानिदियो, अस्पतालमा ल्याएको छ ।’
२०७३ साल चैत २५ गते मलेसियाबाट चेलीलाई फोन गर्दा सालीले उठाएर दिदीको दुर्घटना भएको सुनाएकी थिइन् । त्यसको अर्को दिन उनी नेपाल फर्किए । नर्भिक अस्पतालमा अचेत अवस्थामा रहेकी श्रीमतीलाई हेरे, उपचारमा दौडधुप गरे ।
नर्भिक अस्पतालमा ४५ दिनको उपचारपछि चेलीलाई ट्रमा सेन्टरमा ल्याइएको थियो । ट्रमामा ६ महिना आईसीयुमा राखेपछि ५१४ नम्बर बेडमा सारिएको हो ।
उनको उपचारमा संलग्न डाक्टरले ‘मेरुदण्डको दुईवटा नशा च्यापिएको छ’ भनेको बसन्तले बुझेका छन् । अरु समस्या डाक्टरले सुनाए पनि राम्ररी बुझ्न सकेका छैनन् । कहिले शरीर फुलिएर भुक्क हुन्छ, कहिले सुकेर चिर्पट जस्तो ।
बसन्त मात्र होइन, अब त डाक्टरले अब ‘यस्तै हो’ भनेर हरेश खाइसके जस्तो लाग्छ उनलाई । तर, उनलाई ‘हाम्रो काम बचाउने हो सक्दो त गर्छौं,’ भनेका छन् ।
बसन्त बारम्बार भन्छन्, ‘म बाँचुञ्जेल उनले स्वास मात्रै फेरिरहे पनि हुन्थ्यो जस्तो लाग्छ ।’
भेट, बिहे र विदेश
काभ्रे भकुण्डेबेसीका बसन्त र सिन्धुपाल्चोक मुडेकी चेलीको भेट १५ वर्षअघि काठमाडौंमै भएको थियो । त्यतिबेला बसन्त लोकन्थलीमा मार्केटिङ कम्पनीको गाडी चलाउँथे, चेली जडिबुटीमा दाइको होटलमा खाना पकाउँथिन् ।
होटलमा जाँदाआउँदा भएको चिनजान प्रेममा बदलियो । त्यसको दुई वर्षमा बिहे गरे । उनीहरुको बिहे घर परिवारलाई चित्त बुझेन । अहिलेसम्म पनि राम्ररी स्वीकारेका छैनन् ।
बिहेपछि चेलीले ब्यूटी पार्लर चलाइन् । बसन्तको गाडी चलाउने काम छँदै थियो । केही वर्षमा छोरी जन्मिइन् । दुवैलाई लाग्यो, ‘यत्तिले पुग्दैन, अब भविश्य दह्रो बनाउनुपर्छ ।’ त्यसैले चेलीले केही वर्ष बसन्तलाई विदेश पठाउने सोचिन् । उनैले सबै जोरजाम गरेर मलेसिया पठाउने चाँजोपाँजो मिलाइन् ।
बसन्त भन्छन्, ‘हामीले कमाएको पैसाले नपुगेपछि चेलीले नै पैसाको जोहो गरेकी थिइन् ।’
बसन्तले विदेश जाँदा लागेको ऋण तिरे । अब नेपाल फर्किएर घर बनाउने सपना देखेका थिए । ‘मलेसिया चार वर्ष बसेँ । अब एक वर्ष बसेर फर्केने र घर बनाउने भनेर सोचिरहेको थिएँ उनलाई यस्तो भइहाल्यो’ चेलीतिर हेर्दै बसन्तले भने ।
हतारमा नेपाल फर्किंदा मलेसियामा काम गरेको दुई हजार रिंगेट पनि लिनै बाँकी छ ।
उनका अनुसार नर्भिकमा उपचार गराउँदासम्म दुर्घटना गराउने व्यक्ति बेला–बेला आउँथे । उनले पटकपटक गरेर झण्डै १५ लाख रुपैयाँ उपचार खर्च पनि दिएका छन् । त्यसपछि भने न फोनमा सम्पर्क हुन्छ न त भेट्नै आएका छन् ।
अहिले यसबारे कुरा गर्न प्रहरी कहाँ जाँदा प्रहरीले पनि ‘१५ लाख त दिएकैरहेछ’ भनेर फर्काउन थालेको छ ।
बसन्तका अनुसार मोटरसाइकलले तीनकुनेको जेब्राक्रसमै हानेको हो भनेर प्रहरीले उनलाई सुनाएका थिए । ‘एउटाको मोटरसाइकल अर्कोले चलाउँदा हानेको रहेछ । दुवैको लाइसेन्ससम्म थिएन’ बसन्त भन्छन्, ‘त्यसबेला उपचार खर्च सबै ब्येहोर्छु, छोरीलाई पढाइदिन्छु भनेका थिए अहिले सम्पर्कमा छैनन् ।’
नर्भिकमा डाक्टरहरुले कलाकार मदनकृष्ण श्रेष्ठको जस्तै ब्याट्री राखेर बचाउन सकिन्छ भन्ने कुरा गरेका थिए । त्यसका लागि इन्डियाबाट डाक्टर मगाइयो, १० लाख रुपैयाँभन्दा बढी खर्च भयो तर, चेलीको अवस्थामा कुनै सुधार देखिएन ।
‘म पनि त्यो बेला भर्खर विदेशबाट आएको २० लाख रुपैयाँ थियो । त्यसैले डाक्टरले भनेको सबै गराएँ । हान्ने मान्छेले पनि १५ लाख रुपैयाँ दिएको त थियो तर त्यतिले कहाँ पुग्नु ? भएभरको सम्पत्ति सकिँदा पनि पुगेको छैन,’ उनले भने ।
अब गाउँ काभ्रेमा रहेको सानो जग्गा मात्रै बाँकी छ । त्यसबाट धेरै आए दुई लाख आउला ।
त्यसपछि के गर्ने बसन्तलाई थाहा छैन ।
बिरामी कुर्दाकुर्दै अस्पतालकै गार्ड
श्रीमती चेलीको उपचारमा बसन्तले कुनै कसर छाडेका छैनन् । तर, एकातिर स्वास्थ्यमा सुधार भएको छैन भने अर्कोतिर आर्थिक अभावले पनि थिच्दै लगेको छ ।
दिनहुँ बढ्दै गएको खर्च र कमाई शून्य उनले उपाय निकाले, अस्पतालमै सेक्युरिटी गार्डको काम गर्ने । त्यसो गरे ड्युटीको समय नजिकै हुने भइयो र ड्युटी सकेपछि सँगै ।
उनी ट्रमा सेन्टरमा सेक्युरिटीको जिम्मा लिएको युनिक सेक्युरिटी कम्पनीमा गए र काम सुरु गरे ।
‘एक टाइम सेक्युरिटीमा बस्छु र अर्को टाइम श्रीमतीलाई हेर्छु भन्ने सोचेको थिएँ तर, कम्पनीले त्यो सम्भावना पनि मेटाइदियो,’ नमजा मानेर उनले सुनाए । कम्पनीले डबल ड्युटी गर्न भनेपछि बसन्तले त्यसो गर्न नसक्ने बताए ।
‘केही दिन त पूरा दिन गरेँ पनि तर त्यो सम्भव भएन । आँखा रातो भएर सुन्नियो । एक समय मात्रै काम गर्छु, बिरामी पनि हेर्नुपर्छ भन्दा कम्पनीले मानेन’ बसन्तले भने, ‘त्यसैले राजीनामा लेख्न लगाए । पाँच कक्षासम्म मात्र पढेको राम्ररी लेख्न पनि नआउने, त्यहीँ एक जनाले लेखेकोमा सही गरिदिएँ ।’
त्यसपछि उनले कामको खोजी थाले । अहिले आयल निगमका एक कर्मचारीको कार चलाउने काम गरिरहेका छन् । ‘बिहान ९ बजेतिर गएर कहिले ५ बजे कहिले ८ बजे फर्कन्छु र चेलीको रेखदेख गर्छु,’ बसन्तले आफ्नो दैनिकी सुनाए ।
अस्पतालले गरेको सहयोग
बसन्तलाई अस्पताललाई पनि निकै सहयोग गरेको छ । ट्रमा सेन्टरले बेड चार्ज लिँदैन भने चेलीका लागि खानेकुरा पनि दिन्छ । बसन्तले झण्डै ७ महिना त्यहीँ सेक्युरिटी गार्डको काम गरेकाले त्यो सम्भव भयो । ‘अहिले औषधीहरु मात्रै किन्नुपर्छ । त्यो पनि कहिलेकाहीँ नर्स, डाक्टरहरुले आफैं ल्याइदिनु हुन्छ’ बसन्तले सुनाए, ‘मेरो लागि ट्रमा सेन्टर नै भगवान भएको छ । नाजुक अवस्थामा बेड सित्तैमा दिएर, बिरामीलाई खानेकुरा मिलाइदिएर धेरै सहयोग दिएको छ ।’
सुरुसुरुमा त सहयोग लिन मानेका थिएनन् । भन्थे, ‘मसँग त छ, मभन्दा नहुनेलाई सहयोग गरिदिनु होला ।’ शायद चेलीका उपचार गर्दागर्दै रित्तिन्छु भन्ने अनुमान थिएन होला । तर, अहिले अस्पतालले गरेको सहयोगले ठूलो राहत दिएको छ ।
बसन्तले जागिरबाट आएको आधा पैसा आफू नभएका बेला चेलीलाई हेर्न राखेको हेरालुलाई दिनुपर्छ ।
‘गाडी चलाएर २० हजार आउँछ । १० हजार कुरुवा राखेको बहिनीलाई दिएको छु । छोरीको पढाइ पनि हेर्नै पर्यो,’ उनले भने, ‘कुर्न राखेको बहिनीले पनि म त सक्दिन होला दाइ, बोलेको नै बुझिँदैन भनेकी छिन्, अब खोइ के पो गर्ने ।’
पहिलो पटक मनाइदिएको जन्मदिन
बसन्त ३४ वर्षका भए । चेली गएको महिना ३७ लागिन् । ३७ वर्ष टेकेकै दिन जिब्रो पड्काएर बसन्तलाई बोलाइन् । अनि कानमा फुस्फुसाइन्, ‘आज त म जन्मेको दिन है ।’
चेली आफूलाई केही अप्ठ्यारो भयो र केही भन्न मन लाग्यो भने यसैगरी जिब्रो पड्काउँछिन् । चेलीको जिब्रो पड्कनेवित्तिकै बसन्त उनको नजिक कान थाप्छन् । चेलीले कानमा फुसफुसाएपछि केही नभनी अस्पतालबाट निस्किएका बसन्त एकैछिनमा १२ सयमा केक किनेर ल्याए । अस्पतालमै चेलीको हात समातेर केक काटिदिए । दुखाई बिर्सिएर चेली पनि एकछिन खुशी भइन् ।
बेला–बेला अस्पताल आएर छोरी पनि आमालाई नियाल्छिन् र मलिन अनुहार लिएर फर्कन्छिन् । छोरीलाई बसन्तले साली कहाँ राखेर पढाइरहेका छन् । ‘केही समय छोरीलाई थाहा नदिइ लुकाएर पनि राख्यौं तर, कति दिन लुकाउनू । गफ गर्दै जाँदा थाहा भइहाल्यो,’ पीडा मिश्रित स्वरमा बसन्तले भने ।
बसन्तका अनुसार चेलीलाई खानमा कुनै परेज छैन । तर, कुनै बेला पेट फुलेर आउँछ र डायरिया हुन्छ । कुनै बेला दिशा हुँदैन । जब निकै गाह्रो हुन्छ, चेली मर्ने कुरा गर्छिन् । अलिअलि ठीक भएका बेला भने केही वर्ष बाँच्ने आशा राख्छिन् । बसन्त भने ‘२/४ वर्षले पुग्दैन, म बाँचुञ्जेल तिमी मेरो छेवैमा हुनुपर्छ’ भन्छन् ।
बसन्तलाई त्यसबेला असाह्यै पीडा हुन्छ, जब श्रीमतीले ‘मलाई मारिदिनुस्’ भन्छिन् ।