Comments Add Comment

ललितपुरमा खुल्यो ‘वाटर एटीएम’, लिटरको १० रूपैयाँ

२१ फागुन, काठमाडौं । बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेको त थाहा छ । तर, एटीएमबाट पानी आउँछ भन्ने अश्चर्य लाग्न सक्छ । हो, अब प्यास मेटाउनका ‘एटिएम’बाट पानी पिउन पाइने भएको छ ।

नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा वाटर एटीएम मेसिन जडान गरिएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा स्थापना गरिएको वाटर एटीएमको खानेपानी मन्त्री बिना मगरले सोमबार उद्घाटन गरिन् ।

काठमाडौँ उपत्यकाका २० स्थानमा वाटर एटीएम मेसिन जडान गरिनेछ । यस्तो प्रविधि नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणाले जानकारी दिए । वाटर एटीएमलाई नेपालीमा ‘पँधेरो’ नामाकरण गरिएको छ ।

एटीएमबाट २०० मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । दुई सय मिलिलिटर पानीको मूल्य दुई र एक लिटर पानीको मूल्य १० रूपैयाँ तोकिएको छ ।

एटीएममा दुई रूपैयाँको क्वाईन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था मिलाइएको छ ।

बोर्डले सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर नयाँ प्रविधि भित्र्याएको हो । वाटर एटीएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौतासमेत भएको छ ।

सो अवसरमा मन्त्री मगरले बाटोमा हिड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गर्दै पिउने पानीको गुणस्तरलाई ध्यान दिन बोर्डलाई निर्देशन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment