Comments Add Comment

प्रियंका जब भित्री बस्त्र र सेनिटरी प्याड लिएर विद्यालय पुगिन्

‘तपाईंहरुमध्ये क-कसलाई महिनावरी सुरु भइसकेको छ ?’ अभिनेत्री प्रियंका कार्कीले सोधिन्, ‘हात उठाउनुहोस् त ।’ छात्राहरुले मुख छोपे । बोलेनन् ।

प्रियंकाले मझौला थैलोबाट भित्री बस्त्र (अन्डरवेयर) निकालेर देखाएपछि त रमिता हेरिरहेका छात्राहरु लाजले भुतुक्कै भए । मुसुमुसु हाँस्दै उनीहरुले घोसेमुन्टो लगाए ।

यस्तो लाग्थ्यो, मानौ प्रियंका चटक देखाइरहेकी छिन् । तर, उनी महिनावरी हुँदाको अप्ठ्यारो र त्यसलाई सुल्झाउने उपाय सुनाइरहेकी थिइन् । प्रियंकाले थैलोबाट सेनिटरी प्याड निकालिन्, जो भित्री बस्त्रमा राखेर प्रयोग गर्न सकिन्थ्यो । त्यसलाई एक पटक होइन, पटक-पटक प्रयोग गर्न सकिन्छ ।

सेनिटरी प्याड कसरी लगाउने, किन लगाउने भन्ने कुरा उनले विस्तारमा सुनाइन् । यसरी, ‘हामी छात्रा वा महिलाहरुको महिनापिच्छे महिनावरी हुन्छ । यतिबेला रगत बग्छ । यस्तो बेला हामीलाई विद्यालय आउन लाज लाग्छ, असहज लाग्छ । त्यसैगरी महिनावरी भएको बेला धेरैजसोले थाङ्नाको प्याड बनाएर लगाउँछन् । राम्ररी धुँदैनन् । घाममा सुकाउन पनि लजाउँछन्, अरुले देख्छ भनेर । महिनावरी हुँदा किन लजाउने ?’

उनी भन्दै गइन्, ‘महिनावरी हुँदा लजाउने होइन । किनभने यो प्राकृतिक कुरा हो । महिनावरी भएपछि नै गर्भ रहन्छ । गर्भ रहेपछि नै सन्तान जन्मन्छ । सन्तान जन्मिएपछि नै सृष्टि चल्छ । महिनावरी हुनु भनेको सृष्टिको एउटा प्रक्रिया पो हो त !’

यद्यपी महिनावरीलाई धेरैले ‘लाजको विषय’ ठान्ने र यस विषयमा खुलेर कुराकानी गर्दैनन् । यही कारण महिलाहरु यौनाङ्ग एवं प्रजनन रोगको शिकार हुन्छन् । त्यसैले महिनावरीको समयमा यौनाङ्गको सफाईदेखि सेनिटरी प्याटको प्रयोगमा सावधानी अपनाउनुपर्छ ।

प्रियंका यस्तै सन्देश बोकेर तराईको सरकारी विद्यालयमा पुगेकी थिइन् । विद्यालय हो, हरिपुर निगाहपुर मावि । पूर्व-पश्चिम राजमार्गबाट साढे तीन किलोमिटर दुरीमा रहेको यो विद्यालयमा करिब पाँच यस विद्यार्थी पढ्छन् । यसमध्ये छात्राको संख्या अधिक छ । छोरालाई निजी विद्यालय र छोरीलाई सरकारी विद्यालय पढाउने प्रवृत्ति रहेको सोही विद्यालयकी शिक्षिका शिवानी सिंहले बताइन् ।

सोही विद्यालयमा अभिनेता आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले स्थापना गरेको ‘आयंका फान्डेशन’ले महिलामैत्री शौचालय निर्माण गरिदिएको छ । खासगरी मासिक श्राव भएको बेला महिलाहरुले पुरुषसँग शौचालय साझेदार गर्न नसक्ने भएकाले उनीहरुलाई छुटै शौचालय बनाइएको थियो ।

शौचालय निर्माणसँगै प्रियंका र आयुष्मानले महिनावरी सम्बन्धी जनचेतनामूलक अभियान अगाडि बढाएका छन् । यसै अन्र्तगत उनीहरुले छात्राहरुलाई सेनिटरी प्याड वितरण गरेका थिए । पुन प्रयोग गर्न मिल्ने र सहज रुपमा विसर्जन गर्न सकिने यस्ता प्याड बर्षभरका लागि हुने उनीहरुले बताए ।

थैलोमा केही थान प्याड, दुई वटा भित्री बस्त्र, सावुन, रुमाल आदि राखिएको थियो । यस किसिमको सेनिटरी प्याड किटलाई कसरी जतनसाथ प्रयोग गर्ने भन्ने पनि प्रियंकाले सिकाइन् ।

यसैगरी धनुषाकै जनता मावि र आधारभूत माविमा पनि आयंका फान्डेसनले महिनावरी सम्बन्धी चेतनामुलक कार्यक्रम आयोजना गरेको थियो । ति सबै विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरिरकेका थिए भने छात्राहरुलाई सेनिटरी प्याड वितरण गरिएको थियो ।

शौचालय निर्माणका लागि पञ्चकन्या ग्रुपले सहयोग गरेको थियो भने प्याड वितरणका लागि केजीएच ग्रुपको सहयोग थियो । केही समयअघि मात्र प्रियंका र आयुष्मानलाई खानेपानी मन्त्रालयले ‘महिनावरी स्वच्छता दूत’ घोषणा गरेको सरोज ओलीले बताए ।

‘महिनावरी’ को कुरा गर्दा खासखुस

आयंका फाउन्डेनको यो प्रारम्भिक काम थियो, जसले तराईका विद्यालयलाई लक्षित गरेर महिनावरी सम्बन्धी जनचेतना फैलाउने काम गरेको थियो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थिती देखिन्थे । तर जसै मञ्चमा उभिएर प्रियंका महिनावरी सम्बन्धी चर्चा गर्थे, उपस्थित भिडमा खासखुस चल्थ्यो । सुकिला मुकिला अभिनेत्रीले भित्री बस्त्र लिएर महिनावरी सम्बन्धी कुरा गरिरहँदा उनीहरुले केही असहज मानेजस्तै गर्थे ।

उपस्थित विद्यार्थी र अभिभावकको मनोभाव बुझेर हुनुपर्छ, प्रियंकाले यसलाई लाज मान्ने विषय होइन भन्दै पटक-पटक भिनन् । आयुष्मानले पनि महिनावरी भन्नसाथ महिलाहरु आफै लजाउन नहुने भन्दै यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

देशभरका सरकारी विद्यालयमा पुग्ने

मासिकस्राव एक नियमित र प्राकृतिक प्रक्रिया भएपनि यस सम्बन्धमा महिलाहरु त्यती खुल्दैनन् । कतिसम्म भने, महिनावरी भएको बेला उनीहरु आफ्नो अवस्थाबारे पनि अरुलाई थाहा दिन चाहँदैनन् । कुरा लुकाउँछन् ।

यही कारण उनीहरु भित्र-भित्रै सास्ती खेपिरहेका हुन्छन् । जबकी यतिबेला उनीहरुलाई शारीरिक रुपमा पीडा हुने, जस्तो कि पेट दुख्ने, बेचैनी हुने, झर्को लाग्ने जस्ता समस्या पनि थपिन्छ । यसरी एकमुष्ठ रुपमा अनेक झन्झट खेपिरहँदा छात्राहरुलाई विद्यालय आउन थप समस्या हुन्छ । उनीहरुको उपस्थिती नियमित नहुन सक्छ । पढाई छुट्छ । विद्यालय आए पनि शौचालय प्रयोग गर्दा समस्या हुन्छ । शौचालयमा पानी नहुँदा रगत पखाल्न सकिदैन । यावत् कारणले छात्राहरुको लागि महिनावरीको बेला निकै सास्ती हुनेगर्छ ।

यही समस्याबाट छात्राहरुलाई उन्मुक्ति दिलाउने हेतुले आयंका फाउन्डेशनले नयाँ अभियान छेडेको बताइन्छ । ‘हामीले यो सुरुवात गरेका हौं’ फाउन्डेसनका सल्हाकार सरोज ओली भन्छन्, ‘अब देशभरको सबै सरकारी विद्यालयमा हामी यही अभियान लिएर पुग्नेछौं ।’

कति प्रभावकारी होला ?

अक्सर सेलिब्रेटीहरु सामाजिक कार्यमार्फत समाजसँग आफुलाई जोड्ने प्रयास गर्छन् । आफुले आर्जन गरेको पैसा उनीहरु सामाजिक सेवामा लगाउने गर्छन् ।

विश्वकै सेलिब्रेटीले कुनै न कुनै रुपमा समाजसँग आफुलाई जोडिरहेका हुन्छन् । उनीहरुले ठूलो धनरासी सामाजिक हितको काममा लगाउने गर्छन् ।

हामीकहाँ पनि यसै किसिमको प्रवृत्ति मौलाएको छ । सेलिब्रेटीहरु विभिन्न माध्याम अपनाएर समाजसेवामा होमिएका छन् । यद्यपी हामीकहाँ सेलिब्रेटीले आफ्नै आर्जनबाट भन्दा पनि च्यारिटीमार्फत वा देश-विदेशमा रहेका नेपालीलाई सहयोगको अपिल गरेर सामाजिक काम गरिरहेका छन् । यसले समाजलाई हित गरेपनि त्यसको पारदर्शी र विश्वसनियतामा भने प्रश्न उठाउने ठाउँ रहन्छ । त्यसैले कुनैपनि सेलिब्रेटीले सामाजिक क्षेत्रको कार्य गर्दा आफ्नै आर्जनलाई खर्चको स्रोत बनाउने कि अन्यत्रबाट सहयोग लिने भन्ने कुरा निकै संवेदनशिल विषय हुन् । आयंका फाउन्डेसनसँग पनि यो चुनौती यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment