Comments Add Comment

महानगरमा शौच-सास्ती : पानी पिउनु भन्दा पिसाब फेर्न महंगो !

महानगरले बनाउँदैछ मिर्गौला रोगी

बन्द बोतलको एक लिटर पानीको मूल्य औसत २० रुपैयाँ । त्यो पानीले पिसाब थैली भरिन थालेपछि तपाईं जरुर समस्यामा पर्नुहुनेछ, यदि काठमाडौं महानगरमा हुनुहुन्छ भने ।

महानगरमा एक त मुत्र बिसर्जन गर्न शौचालय नै फेला पर्दैन । दैनिक लाखौं मानिस आउजाउ गर्ने यो महानगरमा सार्वजनिक शौचालय ‘दुर्लभ’ छ । शौचालय फेला पारिहाले पनि मुत्र बिसर्जन वा दिसा गर्न मिल्ने हुँदैन ।

भएका सीमित शौचालय कि जाम भएर पसीनसक्नुगरी भरिएका हुन्छन् कि सफा गर्ने साबुन पानीसमेत हुदैन । त्यसमाथि अधिकांश शौचालय ढोकाविहीन छन् । ढोका भए चुकुल हुँदैन ।

त्यस्ता शौचालय पनि सशुल्क छन्– दिसा गरेको १० र पिसाब फेरेको पाँच रुपैयाँ लाग्छ । अर्थात् खल्ती रित्तो हुनेका लागि दिसा–पिसाब ‘मनाही’ छ, काठमाडौं महानगरमा ।

भद्रगोल शौचालय

काठमाडौं महानगरमा दैनिक सरदर १५ लाखभन्दा बढी मानिस आउजाउ गर्ने अनुमान छ । त्यति मानिसका लागि कुल ५७ वटा सार्वजनिक शौचालय छन् । ती पनि नाक–मुख थुनेर पस्नुपर्ने, हेरी नसक्नुका ।

महानगरका शौचालयमा दिसा–पिसाब गर्नु ‘सजाय भुक्तान’ गरेजस्तै हुनेगर्छ । महिलाहरुका लागि त ति ‘निषेध’जस्तै छन् ।

किनमेलमा चक्कर लगाउनु पर्दा होस् या अस्पताल वा सरकारी अड्दा धाउँदा, दिसा–पिसाब च्यापेर हिँड्ने वा शरीरलाई पुग्दो पानी नखाइ आउनेहरु धेरै हुन्छन्, महानगरको भीडमा ।

आपतमा ज्यान छाडेर दिसा वा पिसाब गर्नेबाट महानगरले आम्दानी गर्छ । सार्वजनिक शौचालयमा पस्नेहरुले तिर्ने शुल्क महानगरको खातामा जम्मा हुन्छ । रत्नपार्कका शौचालयहरुले वार्षिक ४७ लाख रुपैयाँ बुझाउने गरेका छन् । महानगरले अन्य शौचालयहरुबाट पनि वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्ने गरेको छ ।

यत्तिका पैसा नयाँ शौचालय थप्न वा व्यवस्थित गर्नमा किन लगाइँदैन ? सर्वधारणमा स्वभाविक उठ्ने प्रश्न हो यो ।

न महिला न अपाङ्गमैत्री

महिलाहरुका लागि महानगरमा सार्वजनिक शौचालय बिल्कुलै नभए सरह छ । महिलाले यहाँका शौचालयमा सुरक्षित र निर्धक्क भएर शौच गर्नसक्ने अवस्था नै छैन । अझ मासिक श्रावको बेला त रगत पखाल्ने, प्याड बदल्ने कुरा असम्भवप्रायः बन्छ ।

शारीरिक रुपमा अशक्तहरुका लागि पनि सार्वजनिक शौचालय नभए बराबर छ । असक्तहरुले साँघुरो वा अहसज ठाउँमा रहेको शौचालय न पहिल्याउन सक्छन् न त ह्विलचेयर लिएर त्यहाँ पस्न सक्छन् । सहरमा काम पर्दा उनीहरुको लागि शौचको समस्याबाट जोगिने उपाया हुन्छ– कि खानपिन नगरी हिँड्ने कि त च्यापेरै वासस्थान पुग्ने ।

शारीरिक–मानसिक समस्यालाई निम्तो 

चिकित्सकहरुको भनाइ छ– पिसाब थैली भरिएपछि पिसाब फेरिहाल्नु पर्छ, दिसा लागेपछि रोक्नु हुँदैन । तर, काठमाडौं महानगर क्षेत्रमा पसेपछि दिसा–पिसाब च्यापेर हिँड्नुको विकल्प हुँदैन ।

दिसा–पिसाब च्याप्दा शरीरभित्र विकार फैलने कुरा सबैलाई थाह छ । अझ चिकित्सकहरुको कुरा सुन्ने हो भने लामो समय पिसाब रोक्दा मूत्रथैली सुनिन्छ र ब्याक्टेरिया उब्जन्छ । पिसाबमा यूरिया र अमिनो एसिडजस्ता टक्सिन हुन्छन् । लामो समय पिसाब रोक्दा उक्त टक्सिन मिर्गौंलामा जम्न पुग्छ । मिर्गौंलामा टक्सिन जमेपछि के हुन्छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।

त्यस्तै, लामो समय दिसा रोक्दा कब्जियत हुने कुरा सबैलाई थाह छ । तर, कब्जियतबाट पायल्स निम्तिने चिकित्सकहरु बताउँछन् ।

दिसा–पिसाबले च्यापेपछि हुने मानसिक तनावको हिसाबले त महानगरका सार्वजनिक शौचालयहरुलाई ‘तनाव कारखाना’ भन्दा पनि हुन्छ ।

दिसा–पिसाब च्यापेर हिँड्न परेपछि त्यसै पनि मनोदशा ठिक रहँदैन । सार्वजनिक शौचालय खोज्दा नभेटिने र बल्लबल्ल भेट्दा दिसा–पिसाब गर्नै नसक्ने भएपछि विस्फोटक अवस्थाको तनाव लिएर भौतारिनु पर्छ ।

मलमुत्रमय महानगर

दूरदराजका गाउँबस्तीलाई धमाधम खुला दिसामुक्त क्षेत्र घोषणा गरिँदैछ । गाउँहरुमा एक घर, एक चर्पी कार्यक्रम पनि अगाडि बढाइएको छ ।

मुलुकको राजधानी महानगर भने खुला दिसा–पिसाबयुक्त छ । खोला किनारदेखि सडक पेटीसम्म र गल्ली–गल्छेडादेखि कुना–काप्चासम्म दिसा–पिसाबको ओइरो छ । सार्वजनिक प्रयोगका लागि पर्याप्त शौचालय नहुँदा महानगर मलमुत्रमय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment