Comments Add Comment

अर्थमन्त्री खतिवडा ‘फेल’, अधिकांश सूचक कमजोर भएपछि बजेट लक्ष्य घटाइयो

२२ फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुको पहिलो पृष्ठ निराशा, बेथिति र कुशासनकै विषयहरुले भरिएका छन् । बजेटको लक्ष्यअनुसार खर्च नभएकोदेखि नक्कली भ्याटबिलको बिगबिगी बढेकोसम्मका खबरहरुलाई पत्रिकाहरुले छापेका छन् । त्यस्तै, रेल किन्न बजेट अभाव भएको, एयरबस मर्मतमा नियमविपरीत बढी मूल्य राख्ने कम्पनीलाई ठेक्का दिइएका समाचार पनि पत्रिकामा समेटिएका छन् ।

कान्तिपुरले मुलुकको अर्थतन्त्रको पछिल्लो निराशाजनक अवस्थाबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, बजेटले लिएको लक्ष्यअनुसार खर्च त भएको छैन नै राजश्व संकलन, वैदेशिक ऋण र अनुदान परिचालनको लक्ष्य पनि टाढिएको छ । साउनदेखि पुससम्मको प्रगति उल्लेख्य हुन नसकेपछि सरकारले बजेटका सबै लक्ष्य मध्यावधि समीक्षामार्फत घटाएको छ ।

कृष्ण आचार्य कान्तिपुरमा लेख्छन्– लक्ष्य पूरा नहुने भएपछि सरकारले पुँजीगत खर्च १४.५ प्रतिशत, चालु खर्च ५.६, वित्तीय व्यवस्थापन खर्च १३ प्रतिशतले घटाएको छ । यसले समग्र खर्च ८.८ प्रतिशत कम हुने अनुमान छ । राजश्व संकलन लक्ष्यभन्दा ३ प्रतिशत कम हुनेछ । मध्यावधि समीक्षामार्फत अन्य लक्ष्य मात्रै घटाउने परम्पराविपरीत यसपटक राजश्व संकलनको लक्ष्यसमेत घटाइएको छ ।

तर अर्थमन्त्रीले भने योभन्दा बढी उपलब्धि हासिल गर्न सक्ने भन्दै बजेटकै लक्ष्य हाराहारी पुग्ने गरी काम गर्ने दाबी कान्तिपुरमा गरेका छन् ।

आठ वर्षअघि छानबिन र कारबाहीपछि रोकिएको नक्कली भ्याट बिल बनाउने धन्दा फेरि सुरु भएको अर्को खबर पनि कान्तिपुरमा छ । समाचार अनुसार, राजश्व अनुसन्धान विभागले पछिल्लो समग्र २४ वटा व्यापारिक फर्मविरुद्ध १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । १६ कम्पनीमाथि अनुसन्धान भइरहेको छ ।

इन्द्रावतीको आङमा भइरहेको उत्खननको तस्वीर मुख पृष्ठमा छापेको अन्नपूर्णले रेल किन्न बजेट अभाव भएको लेखेको छ । सरकारले चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन ।

अन्नपूर्ण लेख्छ– सरकारले बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ ।

नागरिकले बजेट कार्यान्वयनको समीक्षा गर्दै दुईतिहाइको बलियो सरकार जनअपेक्षाअनुसार विकास निर्माणको काम गर्न असफल भएको निष्कर्ष निकालेको छ । आफ्नै जग्गाको विवरण गुठी संस्थानलाई थाहा नभएको, घुस प्रकरणमा राजनारायण पाठकसँग बयानको तयारी गरिएको लगायत खबर पनि नागरिकको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment