Comments Add Comment

सभापति देउवाका ३ वर्ष, खोयाको घर !

नेपाली कांग्रेस पार्टी नै फुटाएर ०५९ असोज ६ गते प्रजातान्त्रिक कांग्रेस गठन गरेपश्चात नै ‘राणा’ र ‘शाह’सँगको ‘संभ्रान्त’ साइनोको करामत सबैले बुझेकै थिए । तर, ८ असोज ०६४ सम्म आइपुग्दा पार्टी नै चलाउने आँट शेरबहादुर देउवामा नभएकै कारण मूल पार्टी नेपाली कांग्रेसमा प्रजातान्त्रिक कांग्रेसलाई विलय गराइदिए ।

विलयपश्चात सम्पन्न महाधिवेशनमा आफ्नो सादगीपनका कारण सुशील कोइरालाले सभापति नै बन्नवाट देउवालाई रोक्न सफल भएका थिए । तर, सत्ता र समीकरणको राजनीतिमा भ्रमपूर्ण पासा फ्याँक्न काबिल देउवाले ०७२ फागुनबाट सिंगै पार्टी हत्याए ।

सभापतिमा निर्वाचित देउवाले तीनवर्षे अवधिमा केन्द्रीय समिति र विभागलाई पूर्णता दिन त सकेनन् नै, हुँदाहुँदा पार्टी सञ्चालनका निम्ति महत्वपूर्ण मानिने विधान पास गर्नसमेत महासमिति बैठकको म्याण्डेट कुल्चेर केन्द्रीय समितिको बहुमतको साहारा लिन पुगे ।

देउवाको उक्त निर्णयको विपक्षमा वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायत एक दर्जन नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेख्नुपर्‍यो । पार्टीको आन्तरिक जीवनमा यो ‘नोट अफ डिसेन्ट’ प्रकरण त्यतिकै सेलाउने देखिँदैन । यसैबाट सभापतिको जिम्मेवारी थेग्न देउवा असफल भएको निश्कर्ष निकाल्न अब कठिन रहेन ।

बहुदल प्रचारका क्रममा ०३६ सालमा देशका विभीन्न भागमा पुग्दा साँच्चिकै लोभलाग्दो छवि बनाएका थिए देउवाले । तर, ०४२ को कांग्रेसको सत्याग्रह आसपास पञ्चायती व्यवस्थाले राजनीतिक वातावरण केही खुकुलो बनाइदिँदा देउवामा आएको परिवर्तनले पार्टी नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई समेत झस्कन पुगे । र, उनलाई छात्रवृत्ति दिलाएर बेलायत उडाइयो । त्यो कालखण्डबाट आएको देउवाको छविको गिरावट अहिलेसम्म रोकिन सकेको छैन ।

१९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डपछि देउवा प्रधानमन्त्री त बने, तर आफैंले घोषणा गरेको निर्वाचन सम्पन्न गर्न सकेेनन् । १८ असोज ०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘असक्षम’को पगरी गुँथाएर बर्खास्त गरिदिए ।

त्यहीबीच कांग्रेस पार्टी नै फुटाएर राजाको अभिष्ठ पूरा गर्दै २१ जेठ ०६१ सम्म आइपुग्दा देउवा ‘गोर्खाली राजाले न्याय दिन्छन् भनेको हो रहेछ’ भन्दै तेस्रोपटक प्रधानमन्त्री भए । तर, पनि राजा देउवासँग सन्तुष्ठ हुन सकेनन्, १९ माघ ०६१ मा शासन हातमा लिएरै छाडे । राजाले शासन हातमा लिँदा उनै देउवा प्रधानमन्त्री थिए ।

सत्ता राजनीतिमा ‘खेलाडी’ मानिएका देउवा पार्टी सञ्चालनको राजनीतिमा भने एउटा सानो गुटको घेराबन्दीमा थन्कन पुगे । अन्ततः त्यही गुटको घेराबन्दीको शिकार बन्न पुग्यो कांग्रेसको विधान ।

फरक विचारका नेतासामु विधानजस्तो विषयमा बहुमत/अल्पमत नगरिने र महासमितिको म्याण्डेट पनि नकुल्चने बताएका देउवाले निमेषभरमै आफ्नो उक्त भनाइ खण्डित गर्दै बहुमतको आडमा महासमितिको म्याण्डेटलाई अस्वीकार गर्दा आम कांग्रेसमा व्यापक निराशा देखापरेको छ ।

हुन त बोल्न र ढाँट्न कुनै लाजको पर्दाले छेक्दैन भन्ने नजिर धेरै छन् । त्योमध्येको एउटा नजिर हो संसद विघटन । १८ असोज ०५९ को राजा ज्ञानेन्द्रको कदमको केही घण्टाअघि त्रिभुवन विमानस्थलमा देउवाले भनेका थिए, ‘जनप्रतिनिधि नहुँदा प्रजातन्त्र कमजोर हुने भएकाले संसद विघटन हुँदैन ।’ तर, त्यही रात उनले संसद विघटनको सिफारिस गरिदिए ।

देउवा सभापति भएयता कांग्रेसको राजनीतिभित्र ‘प्रतिशोध’ ले समेत राम्रै प्रवेश पाएको छ । जसको उदाहरणस्वरुप लिन सकिन्छ भातृसंगठनका अधिवेशनहरु । नेपाल विद्यार्थी संघमा कुन्दनराज काफ्ले, दलित संघमा मञ्जित ताम्राकारजस्ता आशलाग्दा युवाहरुको जित नजिक देखिँदा ती संगठनहरुको अधिवेशनको त कुरा छाडौं, नेपाल विद्यार्थी संघको केन्द्रीय समिति नै भंग गरियो । दलित संघ, किसान संघजस्ता संगठनको समयावधि पूरा भएको दशकौं हुँदासमेत ती संगठनतिर छड्के आँखासमेत लगाइएको छैन ।

देउवाबारे यहीँनेर भन्नैपर्ने हुन्छ, उनी ‘सिद्धान्तनिष्ठ’ भन्दा पनि ‘उपयोगितावादी’ नेता हुन् ।

आज अमेरिका, चीन, भारत र रसियाजस्ता मुलुकले जसरी आर्थिक, राजनीतिक क्षेत्रमा साम्राज्य चलाएका छन्, त्यसैगरी पार्टीभित्र पनि साम्राज्य चलाउने होड विश्वभर नै देखिन्छ । नेपालका सन्दर्भमा त्यसैको उदाहरणका रुपमा नेकपा, नेपाली कांग्रेस हुँदै सानै दल किन नहोस् कमल थापाको राप्रपा नेपाल समेतलाई दिन सकिन्छ । नेकपाभित्र केपी ओलीले जुनरुपमा फरक विचार राख्नेप्रति प्रतिशोधको राजनीति गर्दैै आएका छन्, त्यसलाई पनि ‘माथ’ गर्ने गरी कांग्रेसभित्र देउवा प्रस्तुत भएका छन् ।

नेपालका राजनीतिक दलभित्र हुर्किएको प्रतिशोधको राजनीतिक प्रकरणले आउँदो एक दशकपछिको नेपालको राजनीति अत्यन्तै कहालीलाग्दो अवस्थामा पुग्ने अनुमान लगाउन कठिन छैन ।

कांग्रेसभित्रकै थप केही विषयवस्तु उठाउँ ।

विसं. ०२७ मा नेविसंघको जन्म हुँदा देउवा संस्थापक सदस्य थिए । नेविसंघलाई कांग्रेसको नर्सरी पनि भन्ने गरिन्छ । त्यही नर्सरीमा रहेका विरुवा नै मासिने गरी नेविसंघका कार्यकर्ता पार्टी कार्यालयमा मारपिट गर्दा समेत देउवाको चेहरामा कुनै परिवर्तन देखिएन । पार्टीकै नेतालाई सार्वजनिक मञ्चवाटै तल्लो स्तरको गाली गलौज गरिनु, आफ्ना विचारसँग असहमत नेता/कार्यकर्तालाई घरमै बोलाएर हप्काउनु जस्ता कार्यले हिजोका मितिमा क्रान्तिकारी छवि भएको कांग्रेस र तिनका नेता देउवाको छवि आज विचार र विधि शून्यमा पुगेको निश्कर्ष निकाल्न सकिन्छ ।

पछिल्लो समय जारी संविधानको कार्यान्वयनस्वरुप निर्वाचन सम्पन्न गर्नेबाहेक देउवाको प्रधानमन्त्रित्व र पार्टी सभापतिको कार्यकाल मुलुक, प्रजातन्त्र र स्वयम कांग्रेस पार्टीका लागि पनि कहिल्यै पि्रयकर हुन सकेन । तर, देउवासँग जोडिन पुगेको गुट र संभ्रान्त परिवारका लागि भने देउवाकालीन समय स्वणिर्म युग बन्न पुग्यो ।

पार्टीभित्र विधि र विचारले काम गर्न छाडेपश्चात देउवा समूह अहिले नितान्त ‘गुट’ निर्माण गरेर ‘पार्टी कब्जा’ को रणनीतिमा उत्रँदा देशैभरका कांग्रेसमा एकसाथ निराशा छाएको छ । यसलाई रोक्न देउवासँग फरक मतका नेता पनि असक्षम भए भने मुलुकभरमै लोकतन्त्रवादीहरुले कांग्रेसको विकल्प खोज्ने छन् ।

पार्टी निर्माण विधि, पद्दति र विचारले हुने हो । आवश्यक पर्दा नेताले लिएको अडानले राष्ट्रलाई नै बलियो बनाउने गछए । यहाँ एउटा उदाहरण प्रस्तुत गराैं –

गोरखाली राजाबाट न्याय पाएँ भन्दै जुन समय देउवा सत्तामा पुगे, त्यही सत्ता लामो समय जान दिएनन् तिनै गोरखाली राजाले । देउवाले संसद विघटन गरिदिएपछि विघटित संसदको पुनस्थापनाको माग दह्रोरुपमा उठाए गिरीजाप्रसाद कोइरालाले । उनले सडकमै संसदको बैठक चलाइदिएर राजाको शासनमाथि प्रहार गरे । वयानका लागि बोलाउँदा सर्वोच्च अदालतलाई नारायणहिटीमै सारिदिए हुन्छ भन्दै वयानमा नगएर चट्टानी अडान देखाए । तिनै कोइरालाको अडान देखेको पुस्ताका लागि देउवाको पार्टी सञ्चालनको तौरतरिका हेर्दा केटाकेटीले मकैको खोयाको घर बनाएझै लाग्छ ।

देउवा नेतृत्वको कांग्रेसले केवल सत्ताको राजनीतिलाई मात्र प्राथमिकता दिएर विचारको राजनीति त्याग्न पुग्दा कांग्रेसकै भविश्यबारे व्यापक प्रश्नसँगै संशय पैदा हुनुलाई अस्वाभाविक मान्न सकिन्न । सत्ताद्वारा गरिएका दर्जनांै जनविरोधी कार्यका सामु देउवा स्वयंले आफैंलाई एकाध राजदुत लगायतका खुद्रे स्वार्थका सामु आफैंलाई समर्पण गरिदिएबाट जनतासमेतले कांग्रेससँग आशा राख्ने ठाउँ पातलो बन्दै गयो ।

विगतको मैलो देउवामा कायमै रहेकाले पनि सिंगै पार्टीको नेतृत्व गर्ने क्षमता उनमा नदेखिएको हो । जीवनको उत्तरार्धमा पार्टीको नेतृत्वमा पुग्दा ‘पार्टी र मुलुक’ का लागि केही गरेर अमीट छाप छोड्नेभन्दा पनि गुट निर्माण गरेर रमाउने प्रवृत्ति देउवामा देखा पर्दा कांग्रेस पार्टी कमजोर त भयो नै, कांग्रेस कमजोर हुँदा दुई तिहाईको बहुमत बोकेको सरकारले लोकतान्त्रिक पद्दतिमा समेत धाबा बोल्दा दरिलो आवाज उठाउने शक्ति समेतको एकै साथ अभाव खड्कने नै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment