Comments Add Comment

समृद्धिका लागि ९८ खर्ब चाहिने : राष्ट्रिय योजना आयोग

पाठक घुस प्रकरण: उपराष्ट्रपतिपुत्र दीपेशसँग बयानको तयारी

२३ फागुन, काठमाडौं । जिल्ला अदालत कैलालीले सांसद् रेशम चौधरीलाई बुधबार सुनाएको जन्मकैदको फैसला नै आजका सबै दैनिक पत्रिकाहरुको मुख्य समाचार बनेको छ । कालीकोटमा खुलेको रोजगार बैंक र फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिको सूचीबारे पत्रिकाहरुले नछुटाइकन खबर लेखेका छन् । यसबाहेक, स्वास्थ्य, राजनीति, बेथिति, अनियमिततालगायत विषयलाई पनि पत्रिकाहरुले समेटेका छन् ।

गोरखापत्रले राष्ट्रिय योजना आयोगले तयार पारेको पन्धौं पञ्चवर्षीय योजनामा उल्लेख विषयमाथि मुख्य समाचार लेखेको छ । समाचार अनुसार, आयोगले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न पाँच वर्षभित्र करिब ९८ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने अनुमान गरेको छ । उक्त लगानीबाट पाँच वर्षभित्र औसत १०.१ प्रतिशतसम्मको वृद्धिदर हुने आयोगको लक्ष्य छ ।

मस्यौदामा २२ औं शताब्दीको नेपालको परिकल्पना गर्दै आयोगले १० प्रतिशतसम्म आर्थिक वृद्धिको लक्ष्य अघि सारेको समाचारमा उल्लेख छ ।

यसका लागि कुल लगानीमध्ये सार्वजनिक क्षेत्रबाट ३७.६ प्रतिशत अर्थात ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैयाँ लगानी हुने अनुमान छ । त्यस्तै निजी क्षेत्रबाट सबैभन्दा धेरै ५६ खर्ब ८३ अर्ब ८८ करोड रुपैयाँ लगानी हुने मस्यौदामा उल्लेख छ । यो कुल लगानीको ५८.१ प्रतिशत हुनेछ ।

केही दिनदेखि निरन्तर अस्पतालभित्रका बेथिति उधिन्दै आइरहेको नयाँ पत्रिकाले आज प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीसँग यसका नेता वामदेव गौतमले सम्बन्धविच्छेद गरेको लेखेको छ । लामो समयदेखि अध्यक्ष ओलीलाई साथ दिँदै आएका गौतमले पछिल्लो स्थायी समितिको बैठकसँगै उनीसँगको सम्बन्धविच्छेद गरेका हुन् ।

नयाँ पत्रिका लेख्छ– तत्कालीन एमालेको सातौ महाधिवेशनयता निर्णायक घडीमा गौतमले ओलीलाई नै साथ दिएका थिए । गौतमले यसपटक भने ओली सरकार र पार्टी नेतृत्व दुवै मोर्चामा असफल भइसकेको निष्कर्षसहित फरक विचार पेस गरे । तीन महिनायता उनले ओलीलाई धोकेबाज पनि भने । ओलीसँग आफ्नो मोहभंग भएको बताउँदै आएको गौतमले अन्ततः फरक मतमार्फत राजनीतिक लाइनमा सम्बन्धविच्छेदकै घोषणा गरेको चर्चा चलेको हो ।

गौतमले यसबारे सार्वजनिक रुपमा घोषणा गरेका त छैनन् तर बैठकबाहेक उनको ओलीसँग अहिले संवाद टुटिसकेको छ ।

समाचार अनुसार नेकपाको ४ सय ४९ सदस्यीय केन्द्रीय कमिटीमा गौतमलाई विगतमा साथ दिँदै आएका करिब डेढ दर्जन केन्द्रीय सदस्य छन् । अहिलेसम्म १५ जनाले खुलेर उनलाई साथ दिँदै आएका छन् । यो केन्द्रीय कमिटीभित्र जम्मा साढे ३ प्रतिशत संख्या हो ।

मोफसलको स्थानीय तहको अनुकरणीय प्रयासलाई स्थान दिँदै कान्तिपुरले आज कालीकोटमा खुलेको रोजगार बैंकबारे मुख्य समाचार बनाएको छ । कालीकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंक स्थापना गरेको हो । बैंकका सदस्यले नगरका विकास निर्माण, उत्पादन, सामाजिक सुरक्षा, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनलगायत काम गर्नेछन् ।

समाचार अनुसार, नगरपालिकाले श्रम रोजगार बैंक स्थापनाको घोषणा गर्दै भारतलगायतका मुलुकमा जोखिपूर्ण काम गर्न युवा जाने क्रम रोकिने विश्वास लिएको छ ।

रेशम चौधरीबारे कैलाली जिल्ला अदालतले गरेको फैसलाबाट रिसाएको राजपाले त्यसको प्रतिक्रियास्वरुप सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकोलाई पनि कान्तिपुरले समेटेको छ ।

रेशम चौधरीलाई अदालतले सुनाएको जन्मकैदकै विषयमा केन्द्रित अन्नपूर्णले उपराष्ट्रपतिका छोरा दीपेश पुनसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानको तयारी गरेको लेखेको छ । आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तिसँग बयान लिने तयारी गरिएको हो ।

स्मरणीय छ, राजनारायणको घुस प्रकरणबारे खिचिएको भिडियो जफत गर्न पुनले आफ्ना दूत पठाएको खुलासा केही समयअघि अनलाइनखबरले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment