Comments Add Comment

नेपालको नयाँ नक्सा सार्वजनिक, तीन प्रदेशको मात्रै नाम

२३ फागुन, काठमाडौं । नेपालको संघीय संरचना अनुसारको प्रशासनिक नक्सा लोकार्पण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेकी हुन ।

संघीय संरचना अनुसारको भनिए पनि सात मध्ये सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मात्रै नाम नक्सामा छ । बाँकी चार प्रदेशको नम्बर मात्रै छ । प्रदेशहरूको नामाकरणमा ढिलाई हुँदा नक्सामा सबै प्रदेशको नाम राख्न नसकिएको मन्त्री अर्यालले बताइन् ।

मन्त्री अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक भएकाले अब त्यसअनुसार प्रशासनिक, जिल्ला र स्थानीय तहहरूको नक्सा बन्ने जानकार दिइन् ।
सरकारले प्रशासनिक नक्सा तेस्रो पटक सार्वजनिक गरेको हो । यसअघि २०४९ र २०३२ सालमा पनि आधिकारिक रुपमा प्रशासनिक नक्सा सार्वजनिक गरिएको थियो ।

कानून निर्माण सम्पन्न : मन्त्री अर्याल

मन्त्री अर्यालले भूमि व्यवस्था, सहकारी र गरिबी निवारणसँग सम्बन्धित सम्पूर्ण कानून निर्माणको काम मन्त्रालयले सम्पन्न गरिसकेको बताएकी छन् । उनी भन्छिन्, ‘मन्त्रालयबाट गर्नुपर्ने कानून निर्माण सम्बन्धित सबै काम गरिसकेका छौं ।’

भूउपयोगसँग सम्बन्धित कानूनहरू संसद्मा छलफलको क्रममा छन् । भूउपयोग विधेयकमा जमिनलाई नौ प्रकारमा विभाजन गर्ने प्रस्ताव गरिएको छ । यसअघि सीम, अब्बल, दोयम र चहर गरी जम्मा चार प्रकारको वर्गीकरण थियो ।

उत्पादन बढाउन सरकारले पहिलो पटक भूमि बैंकको अवधारणा ल्याएको मन्त्री अर्यालले जानकारी दिइन् । भूमि बैंकले उत्पादकत्व बढाएर आयातलाई निरुत्साहन गर्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment