Comments Add Comment

छापामा आज : नेपालमा तत्काल पानीजहाज कठिन भएको विज्ञको निष्कर्ष

सिन्डिकेट ब्युँताउन चलखेल, सरकारको कामले प्रचण्ड निराश

२४ फागुन, काठमाडौं । महिलासँग सम्बन्धित विषय आजका सबैजसो दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर पत्रपत्रिकाहरुले महिला अधिकारका विविध पाटा–पक्ष केलाएका छन् । त्यस्तै पानीजहाज सम्भाव्यता अध्ययन टोलीको निष्कर्ष, सरकारको काम–कारबाहीलगायत विषयलाई पनि पत्रिकाहरुले समेटेका छन् ।

कान्तिपुरले ‘वर्षभरि महिला आन्दोलित’ शीर्षक दिएर बितेका १ वर्षमा भएका महिला आन्दोलनबारे चर्चा गरेको छ ।

विचार पृष्ठ र सम्पादकीयमा पनि कान्तिपुरले महिलाकै विषय समेटेको छ । ‘नारी समानताका लागि बलिया नीति र नारा’ शीर्षक सम्पादकीयमा कान्तिपुरले महिला आन्दोलनका अहिलेसम्मका इतिहास केलाउँदै स्वभाविक हकका लागि अर्को नागरिक आन्दोलनको खाँचो औंल्याएको छ ।

इँटाभट्टामा कार्यरत महिलाका कथा छापेको अन्नपूर्णले निर्वाचन आयुक्त इला शर्मा र राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठसँगको संवाद छापेको छ । नागरिकले सहभागिताले महिला सशक्तीकरण बढाएको निष्कर्ष निकालेको छ ।

सरकारप्रति प्रचण्ड निराश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड सरकारको कामकारबाहीप्रति निराश देखिएको खबर नागरिकले लेखेको छ । प्रचण्डका पछिल्ला अभिव्यक्तिलाई उसले प्रचण्ड निराश बनेको दृष्टान्तका रुपमा प्रस्तुत गरेको छ ।

नागरिकका अनुसार, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसामु सरकारले जनभावनाअनुसार काम गर्न सकेको वा नसकेको समीक्षा गर्नुपर्ने बताएका छन् ।

कम्पनीमार्फत सिन्डिकेट ब्युँताउने चलखेल

संघीय संसद्को प्रतिनिधिसभाको बैठकले कम्पनीमार्फत सिन्डिकेटधारी यातायात व्यवसायीलाई नै फाइदा पुग्ने गरी कम्पनी ऐन २०६३ संशोधन गर्ने विधेयक पारित गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको संशोधन विधेयकमा कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनीमा दर्ता हुने प्राइभेट कम्पनीको सेयर संख्या १ सय १ जनाबाट बढाएर असीमित हुने व्यवस्था गरेसँगै यातायात क्षेत्रका संगठित कम्पनीले फेरि शक्तिशाली सिन्डकेट ब्युँताउने सम्भावना बढेको आशंका नागरिकले गरेको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले यातायात क्षेत्रमा कायमै रहेको सिन्डिकेटलाई उल्टै मद्दत पुग्ने व्यवस्था राखिएकाले सिन्डिकेट कायमै हुने अवस्था सिर्जना भएको विश्लेषण नागरिकको छ ।

प्राविधिक टोलीको निष्कर्ष– नेपालमा तत्काल पानीजहाज कठिन

जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ ।

नयाँ पत्रिकाका अनुसार नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रुपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरु तत्काल पानीजहाज आउन कठिन रहेको निष्कर्षमा पुगेका छन् ।

खासगरी कोसी र गण्डकी ब्यारेजभन्दा मुनि पानीको सतहक न्यून भएकाले नेपालभित्र तत्काल पानीजहाज सञ्चालन सम्भव नुहने निष्कर्ष विज्ञहरुको छ ।

कोसी र गण्डक व्यारेजबाट अधिकांश पानी नहर हुँदै भारततर्फ नै लगिएको छ । त्यसकारण हिउँदमा त्यस क्षेत्रमा पानीको सतह एकदमै कम हुने गरेको छ । तर पानीजहाजका लागि नदीमा पानी छाड्न भारत तयार नभएकाले मालबाहक पानीजहाज ल्याउन तत्काल सम्भव नदेखिएको विज्ञहरुको मत छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment