Comments Add Comment

म अमेरिकामा फेरिएँ, यता म्याङ्लुङ फेरिएछ  !

आफू जन्मेको घर, निकट नातेदार अनि देश कसलाई प्यारो नलाग्ला ? पुरानो घर, बाल्यकालका सहपाठी मित्रसँग भेट्ने, आफू पौडेको खोलाको पानी छुने हुटहुटी कसलाई नहोला र ? बाह्र बर्षमा बगेको खोला पनि फर्कन्छ भन्ने सुनेको थिएँ । मेरो भागमा १२ लाई दुई पटक गुणा गरेपछि पनि  आफ्नो  देश जाने बाटो खुलेको थिएन । २५ वर्ष भएछ देश छाडेको । अझ २८ बर्ष भएछ, गाउँ छाडेको । यी बर्षहरु गन्दा पनि कहाली लाग्छ ।

अमेरिकाबाट काठमाडांै उत्रिएको एकसाता नबित्दै आफ्नो जन्मभूमि पूर्बी तेह्रथुमको म्याङ्लुङ बजार जान हतारिएँ । देशको माटो चुम्दै जन्मेको घर देखेर आएँ  । तीनजुरेबाट पाथिभरा चढ्दै गुराँस टिप्दै आएँ । गाउँ बस्ति पाठशाला हेर्दै सहपाठी भेट्दै गर्दा  । थुप्रै थुप्रैको माया अनि सदभाब बोकेर आएँ ।

श्री एयरलायन्सको बिमानबाट बिराटनगर जाँदै गर्दा मौसम खुलेको थियो । तुँवालो फाटेको बेला देखिने उत्तरतर्फका हिमाल मेरो स्वागतमा हाँसिरहेका हुन् कि भन्ने भान पर्‍यो । नोभेम्बरको महिनामा हुस्सुले ढाकेर बिमान ढिलो या रद्द पनि हुन् सक्छ भन्ने सुनेकाले डर नलागेको होइन, तर समयमै बिमान उड्यो ।

बिराटनर विमानस्थलमा भाइ सुरेशलाई देखें । उसँग करिब २८ बर्षपछि भेट्दा मुटु नै फुत्रुक्क उप|mेला जस्तो भयो । मिठो मसिनो बोल्ने पहिले जस्तै ऊ शान्त र अझ गम्भीरखालको भएछ । साथमा मुस्कुराउँदै थिइन्, सुरेशकी जीव्ानसँगीनी अञ्जली । जसले मेरो भाइको जीवनलाई सहज बनाइदिएकी छन् । मेरी श्रीमती विद्या श्रेष्ठसँग उनको भलाकुसारी सुरु भयो । म पनि उनीप्रति अनुगृहित हुँदै अर्का दाजु डा. रामेश्वर श्रेष्ठलाई ढोग गरेपछि हाम्रो गाउँतर्फको यात्रा सुरु भयो  ।

चालकसहित हामी ६ जनाको तेह्रथुम भ्रमण सुरु भयो । इटहरी नपुग्दै भाइले भेडेटारमा दिउँसोको खाना खाने र बसन्तपुरमा खाजा खाएर बेलुका म्याङलुङ बजार पुग्ने योजना सुनेर म छक्क परें । अस्ति भर्खरजस्तो लाग्छ, काठमाण्डौंबाट घर पुग्न मलाई चार दिन लागेको थियो । अहिले म्याङ्लुङ बजार ६ घण्टा मै पुग्न सकिने भएछ  । यातायातको सुविधाले मानिसको समय कति बचत हुँदो रहेछ । यो विदेशमा हुँदा भन्दा नेपालमा हुँदा मज्जाले अनुभव भयो ।

युवावस्थामा छाडेको आफ्नो प्रिय बजार मैले ठम्याउन सकिनँ । आफूले चिनेका कुनै घर पुराना जस्ता थिएनन् । न त बाटो, न मानिसहरु । म्याङ्लुङ बजार अब बजार नभएर शहर  भएको थियो

मेरा आँखा एकोहोरो पहाड, बस्ती र हरेक चोकमा देखिने मानिसहरुमा थियो । डाँडाकाँडा, गाउँ अनि बस्ति एक तमासले हेर्दै गएँ ।  कहाँ कति परिवर्तन भएछ भनेर अत्यधिक उत्सुकताले आँखा फारेर हेर्दै गर्दा महसुस भयो, गाउँहरु बजार बनेछन् । बजारहरु शहर बनेछन् ।

‘दृश्यलाई कैद गर्नु भविष्यलाई सम्झनामा राख्नु पनि हो ।’ रामेश्वर दाइको भनाइलाई समर्थन गर्दै हामीले भेटिएका बजारका स्तम्भहरुमा फोटो खिच्न बिर्सेनौं । भेडेटारमा शंखको स्तम्भ, लसुनेमा लसुन, बसन्तपुरमा लालीगुराँसको, सिँधुवामा काउली अनि म्याङलुङ बजारमा श्री सिंहबाहिनी भगबती मन्दिरमा रहेको म्याङलुङ देवीको प्रतीक बिरालोको स्तम्भमा हामीले सामुहिक तस्वीर लियौं ।

ठाउँ-ठाउँमा स्तम्भ राखिनु सुन्दर अनुभव भयो । यस्तो सोच अनि विचारको कदर गर्न मन लाग्यो । यी स्तम्भले त्यस क्षेत्रको भौगोलिक, सांस्कृतिक अनि सामाजिक परिवेशको परिचय दिने प्रयास गरेको सहजै बुझिन्थ्यो । कलाकृतिहरु पनि मेहेनतपूर्वक बनाइएको देखिन्थ्यो । हिलेमा तोङबा लोकप्रिय छ ।  लसुनेका लसुन तीखा र स्वादिला मानिन्छन् । सिँधुवामा फलेका काउली भारतसम्म लोकप्रिय छन् । यी सबै कुरा बुझेर त्यहीअनुसारको स्तम्भ बनाउने सोचलाई सलाम छ ।

अझ बसन्तपुरमा गुराँसको राजधानी भएका कारण यहाँ बनाइएको गुराँसको स्तम्भलाई ध्यान दिएर हेरँ बसन्तपुर तीनजुरे अनि मिल्के क्षेत्रमा मात्र १२३ विभिन्न जाति अनि बिभिन्न रंगको गुराँस पाइन्छ भन्ने कुरा पढेको थिएँ । त्यसलाई झल्काउन बनाएको स्तमभलाई मनभरि सम्हालेर राखेँ ।

कुनैबेला हिडेँर चार दिनमा काटेको यो बाटो हाँसीखेली र फोटो खिच्दै ८ घन्टामा म्याङलुङ बजार पुग्यौं । ६ बजेको साँझ म्याङलुङको पुतली बजारमा शहिद नेत्र गुरागाईंको सालिक देखेर मन भारी भयो । श्रद्धापूर्वक उनका अघि शीर झुकाएँ । समाज परिवर्तनका लागि तत्कालीन व्यवस्थाका बिरुद्ध राँको बाल्ने थुप्रै तिलस्मी कथा सुनेको स्थानीय पात्रलाई प्रतिमामा देख्न पाउँदा पनि खुशी लाग्यो ।

युवावस्थामा छाडेको आफ्नो प्रिय बजार मैले ठम्याउन सकिनँ । आफूले चिनेका कुनै घर पुराना जस्ता थिएनन् । न त बाटो, न मानिसहरु । म्याङ्लुङ बजार अब बजार नभएर शहर  भएको थियो । यो दुर्गम भनिने पहाडमा पनि ठूला ठूला भवन, गाडी, ट्रक, टेम्पो अनि मोटरसाइकलको आवागमन जताततै देखिने साधन भएछन् । म विस्मृत बनेर टोलाइरहें । यस्तै भयो, जस्तो साँझबाट रात हुँदै थियो ।

म आफू परिवर्तन हुँदा म जन्मेको गाउँ भने पुरानो जस्तै कल्पना गरेर बसेको रहेछु । मैले त भुसुक्कै बिर्सिएको रहेंछु । विक्रम सम्बत ०५९ साल मंसिर ८ गते म्याङ्लुङ बजारमा भएको भिषण आगलागीको घटना । उक्त दुर्घटनाका कारण बजारका अधिकांश घरहरु जलेर खरानी भएको सुनेको थिएँ । दशौँ करोडको क्षति भएको । उक्त घटनाले बजारको पुरानो स्वरुप पनि परिवर्तन गरेछ ।

यात्राको थकानले हो कि आफ्नो कल्पनाको बजार भेट्न नपाएर हो, म रातभर छटपट गरिरहेँ । घर पुगेको पहिलो बिहानी श्री सिंहबाहिनी माध्यमिक बिद्यालयमा भेटघाटको निम्तो आयो ।  बुवा नारायणमान श्रेष्ठले हामी नजन्मँदै पञ्चायकालीन समयमै स्थापना गरेको र त्यसका संस्थापक प्रध्यानाध्यापक भएर काम गर्नु भएको उक्त विद्यालयमा हामीले पनि पढेका थियौं ।

एउटा औपचारिक कार्यक्रम राखिएको रहेछ । प्रध्यानाध्यापक तेजबहादुर कार्कीले  सम्पूर्ण शिक्षक, कर्मचारी र बिद्यार्थी भाइ-बहिनीहरुसँग स्कुलको इतिहास र वर्तमान अवस्थाका बिषयमा कुराकानी गर्ने मौका पाएँ । सबैभन्दा महत्वपूर्ण कुरा, अमेरिका नेपाली समाजको सहयोग र श्री सिंह बाहिनी एलुम्नाईमार्फत एक लाख रुपैयाँको जेहेन्दार छात्राको लागि स्थापना गरिएको छात्रवृत्तिमार्फत धेरैले सहयोग पाइरहेका रहेछन् ।

यो कोषमा डा.रामेश्वरमान श्रेष्ठ र भाउज्यू निर्मला श्रेष्ठले तत्कालै एक लाख रुपैयाँको उक्त कोषमा थपिदिनु भयो । बुबा सञ्चालक समितिको अध्यक्ष हुँदा निर्माण गर्नुभएको छात्रवाससँग जोडिएर अरु पनि दुई/चार भवन थपिएछन् । नयाँ बाटो र बजारको मध्यभागमा अवस्थित स्कुललाई अझ बिकसित गर्ने योजना बनिरहेको रहेछ ।

जहाँ बसे पनि आफ्नो भाषा, संस्कृति र परम्परा बचाउन नेवार समुदाय अघि नै छन् । यहाँ पनि यस्ता संस्था पहिलेदेखि नै सक्रिय थिए । अहिले कुन अवस्थामा छन् भन्ने सोच्दै गर्दा ‘झिगु परोपकार समाज’ तेह्रथुमका मित्रहरुले भेटघाटका लागि अप्रत्यासित रुपमा बोलाए । म आउने खबर बजारभरि फैलिएको रहेछ । कार्यक्रममा विशिष्ट पदाधिकारी नारायणलाल श्रेष्ठले आफ्नो मातृभाषा नेवारीमा बोलेर यो दुर दराज पहाडी क्षेत्रमा नेवारी सांस्कृतिक सम्पदालाई कसरी संरक्षण गरिराखेका छन् भन्ने कुरा प्रस्ट्याउँदा म पुनः भावुक भए । संस्थाका अध्यक्ष शुभ भगत रहेछन ।

बजारमा भएको भिषण आगलागीका बेला त्यहाँ उपस्थित सबै प्रत्यक्षदर्शी थिए उक्त घटनाको बेलिबिस्तार लाए । तिनले आफ्नो पितृले आर्जेको धन-सम्पति दनदनी बलेर खरानी बनाएको कसरी हेर्न सके होलान् । अत्यास र कहाली लाग्दो घटनामा  बजारको पचहत्तर प्रतिशत घर जलेर खरानी भएको थियो । एक, दुई होइन, अधिकांश साहु महाजन अनि व्यापारिक घर ब्यापार जलेर खरानी बनेको थियो त्यो कालो रातमा ।

घरको बायाँपट्टि लटरम्म फल्ने विभिन्न फलफूलका रुखहरु सुन्तला, कागती, भोगटे, स्याऊ, आलुचा, अम्बक अनि मेहेलको बडेमानको रुख अनि घर पछाडिको अनार अनि ठूलो हलुवाबेदका रुखहरु अझै ठडिएकै होलान् र ? शंका लाग्थ्यो, सोचेर पसिना पसिना हुन्थें

घटनापछि थुप्रै बासिन्दा अनि ब्यापारी अन्यत्र धरान, बिराटनगर अनि काठमाण्डौतिर बसाइँ सरे । ती जो रहेका थिए, ती तिनै थिए जो कर्मठ थिए । ती  दृढ निश्चयी अनि लगनशील थिए ।  त्यहाँ जो बसे, बजारलाई सुन्दर शहर बनाउनमा तल्लीन अनि लगनशील बनेर लागिरहे ।  तिनले त्यहीँ जन्मेर हुर्केर आफ्नो सर्वस्व गुमेको आफ्नै आँखाले देखे भनौं, बिनास देखे । आज तिनैले त्यस बजारलाई यति बिकसित बनाए, तिनले आफ्नै जीबनमा त्यस बजारको बिनास पनि देखे अनि बिकास पनि । यो काम गर्न सानो आँट र साहस चाहिन्न भन्ने मैले बुझेको छु । ती सबैलाई यसै लेखमार्फत सलाम ।

उहिले पूर्वी नेपालको पाँच नम्बर क्षेत्रमा रहेको तेह्रवटा थुमको मालपोत उठाउने मालअड्डा भएको कारणले तेह्रथुम नामाकरण भएको अग्रजहरु बताउने गर्छन् । म्याङलुङ देवीको उत्पतिका कारणले तेरहथुम  जिल्लाको सदरमुकाम म्याङलुङ बजार नामाकरण गरिएको प्राचीन अनि ऐतिहासिक शिलालेखबाट पुष्टि हुन्छ  ।  खोरंगा खोला र पिंगुवा खोलाको बीच डाँडामा अवस्थित म्याङलुङ बजार चट्ट मिलेको छ । माथिल्लो टोल, तल्लो टोल अनि पुतलीबजारको मात्र पहिले नामाकरण गरिएको लामो बजार अहिले धेरै बिभिन्न सडकको नामबाट परिचित भएछ  ।

तेह्रथुम साहित्य प्रतिष्ठानको सक्रियतामा मेन्छेम रेडियो तेह्रथुमको स्टुडियो भवनमा भब्य साहित्यिक कार्यक्रममा सहभागी हुन् पाउनु मेरो लागि अर्को एक सुखद र अविस्मरणीय संयोग थियो  । मेन्छेम रेडियोले प्रत्यक्ष्य प्रशारण गरेको सो साहित्यिक कार्यक्रममा स्थानीय कबि तथा साहित्यकारहरु संग कविता बाचन र साहित्यिक भलाकुसारी गर्ने अबसर मिल्यो ।

बिशेषत प्रवासमा नेपाली भाषा तथा साहित्यको बिकासमा केन्द्रित रहेर त्यसको बिकास, संरक्षण, सम्वर्द्धन र सम्बन्ध के कसरी गर्न सकिन्छ भन्ने मै केन्द्रित रहेर छलफल भयो । म्याङलुङ बजारमा अवस्थित एक मात्र पुस्तकालय श्री कृष्ण पुस्तकालय बजार आगलागीपछि नामोनिसान रहेनछ ।

०२६ सालमा त्यही पुस्तकालयमा म र कबि विश्वविमोहन श्रेष्ठ भएर हस्तलिखित पत्रिका (तीनजुरे) निकालेर राखेको झल्झली याद आइ नै रहृयो । साहित्यमा अरुभन्दा धेरै अग्रणी र बिकास भएको तेह्रथुम जिल्लामा अहिले साहित्यको बिकासका नाममा ‘तेह्रथुम साहित्य प्रतिष्ठान’स्थापना भएको देख्दा धेरै नै खुशी लाग्यो ।  संस्थाका अध्यक्ष दीपक कट्टेल र सो कार्यक्रममा सहजीकरण गर्ने प्रकाश धौलाकोटी र उपस्थित सबै मेरो साहित्यिक मनको एउटा विशिष्ट कुनामा समेटिएका छन्, जो शायदै मेटिएला  ।

तीन दिन घुम्दा तेह्रथुमको  विकासले फड्को मारेको मैले ठहर्‍याएँ । बिजुली र सडकको सञ्जाल गाउँ गाउँ पुगेछ ।  खोरंगा खोलादेखि विद्युत निकाल्न विशाल जलविद्युत आयोजनाको स्थापना गरेर द्रुत गतिमा निर्माण कार्य भैरहेको थाहा पाउँदा धेरै खुशी लाग्यो ।  गाउँगाउँमा बजाज टेम्पोले ट्याक्सीको सुबिधा प्राप्त हुन थालेछ ।  स्कुल, कलेज, अस्पताल र नगरपालिकाका भब्य भवनले साच्चै नै म्याङलुङ बजार नगरपालिकामा परिणत हुनुलाई मैले सहज विकास मानेँ ।

०१५ सालको निर्वाचनमा संसदमा म्याङलुङ ९५ वर्षीय तेजमान तुम्बाहाङ्फे र श्री सिंहबाहिनी हाईस्कुलका धेरै लामो समयसम्म शिक्षक रहनु भएका शिक्षक जगदीशकुमार श्रेष्ठ (जेके सर) सँगको भेट मेरा लागि ऐतिहासिक मात्रै नभएर अविस्मरणीय रह्यो ।

सोच्नु, कल्पनु अनि यथार्थमा देखिनु अनुभवका यी बिभिन्न तह हुँदा रहेछन् । प्रवासमा रहँदा पटक पटक सोच्ने गर्थें म्याङलुङ बजारमा रहेको मेरो घरको अगाडिको लहरै मिलेर ठडिएका लाकुरीका रुखहरु बुढो भैसकेका होलान् । घरको दायाँ पट्टि आमाको मिहिनेतको फल सुन्दर फूलबारीमा कसले पो पानी सिञ्चित गरिराखेको होला ? घरको बायाँपट्टि लटरम्म फल्ने विभिन्न फलफूलका रुखहरु सुन्तला, कागती, भोगटे, स्याऊ, आलुचा, अम्बक अनि मेहेलको बडेमानको रुख अनि घर पछाडिको अनार अनि ठूलो हलुवाबेदका रुखहरु अझै ठडिएकै होलान् र ?

शंका लाग्थ्यो, सोचेर पसिना पसिना हुन्थें । कल्पना गर्थें । चाँडै फर्केर जान सके हुने ।  विधिको बिडम्बना, समय आखिर २८ वर्षछि मात्र यो दिन आयो ।

तर, यथार्थमा कहाँ त्यस्तो थियो र ! नासपातीको रुखको बदलामा ठूला दुईवटा घर होइन, भवन ठडिएको रहेछन् । सुन्दर फुलबारी भएको ठाउँमा साना-साना विद्यार्थी खेल्ने पार्क बनेका रहेछन् । हलुवाबेद र अनारको रुख भएको ठाउँमा बोर्डिंग स्कुलको लामो कक्षा भवन बनेछ । वरिपरि घरैघरको जंगलले मेरो विगतको सुन्दर र एकान्तको घर त शहरबीच कोलाहलको अभ्यस्ततामा अल्मलिएर छक्क अनि पक्क परेर टोलाइरहेको पो रहेछ ।

घर अगाडिको फुटबल खेल्ने ठूलो टुँडिखेल खुम्चिएर मोटरको पार्किङस्थल बनेर धुलोमुलो बनेर लमतन्न परेर बसेको रहेछ ।  घर पुरानै रुप र रंगमा बुढौली उमेरमा चाउरी परेर ठिङ्ग उभिइरहेको पाएँ । अनि किमकर्तब्यबिमुढ बनेर उदास उदास बनेर सल्लाको रुखझैं विरहको गीत सुसेली रहेको पो पाएँ । मलाई देखेर अचम्म मानेर विस्फारित आँखाले रिसाएर थुप्रै प्रश्न एकैचोटी सोधे झैं लाग्यो । म नतमस्तक बनेँ । नाजवाफ बनेँ । लाजले शीर एकपटक निहुर्‍याएँ । छोटो बसाइमा उसको रामकहानी सुन्ने फुर्सद मसँग कहाँ थियो र ? उसको प्रश्नलाई नसुने झैं गरें । खैर, जेजस्तो स्थितिमा रहे पनि बाँचेकै पाएँ । त्यही धन्य मानेँ ।

जो जसले जसरी यात्रा सफल बनाउन सहयोग गरे, सबैप्रति आभारी हुँदै पुनः यो पताल प्रवासमा आएको छु । यो परदेशीको मनमा ती दृश्य सधैं-सधैं रहनेछ । मेरो शीर जन्मभूमिका लागि सधैं निहुरिरहनेछ ।

–भर्जिनिया, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment