२५ फागुन, काठमाडौं । अहिले कविता पौडेललाई चिनाउन पूर्वमन्त्री एवं साहित्यकार मोदनाथ प्रश्रितको नाम लिनुपर्छ । तर, उनी मोदनाथकी अर्धांगिनी मात्र होइनन् ।
तत्कालीन एमालेको भातृ संगठन अनेम संघकी नेतृ थिइन् कविता । त्योभन्दा पनि उनी ‘नेपालमा पहिलोपटक हलो जोत्ने महिला’ भनेर चिनिन्छिन् । महिलाले गर्नु हुँदैन भनेर समाजले तोकेका थुप्रै कामहरु उनले खोजीखोजी गरेकी छन् ।
कहिल्यै स्कुल नगएकी कविता कठिन मिहेनत गरेर लेखपढ गर्न जान्ने मात्र भइनन् र कविता नै लेख्न सक्ने भइन् । उनका दुई दर्जन पुस्तकहरु प्रकाशित छन् । शुरुमा उनको नाम ‘रामप्यारी’ थियो, पछि कविता भइन् ।
७३ वर्षीया कवितालाई अहिले भेट्दा आम वृद्धाहरु भन्दा फरक लाग्दिनन् । उनले अतीतमा गरेका संघर्ष र विद्रोहका कथाहरु अहिले उनको अनुहारमा पढ्न पाइँदैन । तर, कसैले कोट्यायो भने उनी जोशिँदै सुनाउँछिन् ।
अनलाइनखबरसँगको कुराकानीमा उनले आफ्ना अतीतका पाइला यसरी पछ्याइन् :
छोरी कन्यादान गरेर बुवा जोगी
मेरा दाजु घनश्यामका मिल्ने साथी र सहपाठी हुनुहुन्थ्यो- हर्राबोटका गौरीशंकर पौडेल । उहाँ दाजुसँग हाम्रो घरमा बारम्बार आइरहनुहुन्थ्यो । म पनि उहाँसँग घुलमिल भइसकेकी थिएँ ।
१० वर्षकी मभन्दा चार वर्ष जेठा गौरीशंकर दाइलाई मेरी आमाले ज्वाइँ बनाउने सोच्नुभएको रहेछ । एक दिन बुवा र आमाबीच गलफत्ती भइरहेको कान थापेर सुनेँ । आमा जसरी पनि गौरीदाइसँग मेरो बिहे गराइदिने कुरा गरिरहनुभएको थियो भने बुवाचाहिँ यो कुरा सुन्नै चाहनुहुन्थेन ।
‘हामी बिर्तावाल हौं, उनीहरु हाम्रा धोतीपोका हुन्,’ बुवा कड्किँदै हुनुहुन्थ्यो, ‘त्यो टपरे बाहुनलाई कुनै हालतमा ज्वाइँ भनेर ढोग्न सक्दिनँ ।’
मलाईचाहिँ किन हो, आमाको कुरा मन पर्यो । गौरीशंकर दाइसँगै बिहे गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । उहाँ राम्रो चित्र बनाउनु हुन्थ्यो । कविता लेख्नुहुन्थ्यो । कथा सुनाउनुहुन्थ्यो । मलाई उहाँको माया लाग्थ्यो ।
मेरो विवाहको विषयमा बुवा र आमाबीच निकै कचिंगल भयो । दुवैजना आ-आफ्नो हठमा हुनुहुन्थ्यो । एक दिन आमाले गौरीशंकरलाई छोरी दिन नपाए झुण्डिएर मर्ने धम्की दिनुभयो । त्यसले बुवा गल्नुभयो ।
तर, उहाँले शर्त राख्नुभयो, ‘ठीक छ, छोरीको बिहे गरिदिन्छु । तर, त्यसपछि म जोगी बन्छु ।’
बुवाको जोगी बन्ने कुरालाई आमाले सायद पत्याउनुभएन । धम्की मात्रै ठान्नुभयो ।
यता, बुवा बिहेका लागि तयार भएको थाहा पाएर म फुरुक्क परेँ । दुवै परिवारबीच सहमतिपछि हाम्रो विहे तय भयो ।
वि.सं ०१३ साल वैशाख ३१ गते हाम्रो बिहे । मलाई बिहानै सिंगारपटार गरिदिएका थिए । त्यतिबेला क्रिम, पाउडर, लिपिस्टकको चलन थिएन । शरीरमा बुकुवा लगाइदिएका थिए । नयाँ लुगा र गरगहना लगाउन पाएर मलाई नाचुँनाचूँ भइरहेको थियो । यत्तिकैमा पञ्चेवाजाको ध्वनी सुनियो । जन्ती आयो भन्दै हल्लाखल्ला सुरु भयो । म पनि जन्ती हेर्ने उत्सुकताले उपि|mँदै घरबाहिर निस्किएँ ।
‘ए, बेहुली मान्छे कहाँ कुदेको ?’ भन्दै आमाले समात्नुभयो । मलाई गौरीशंकर कस्ता भएर आएछन् भनेर हेर्नु थियो । अनि आफ्ना लुगा देखाउनुथियो । तर, आमाले रोकेपछि खिन्न भएँ ।
परम्परागतरुपमा हाम्रो बिहे भयो । मलाई सबै कुरा रमाइलो लागिरहेको थियो । लोकन्तीले रुनुपर्छ भनिरहेका थिए, तर म भने खुशीको मुडमा थिएँ ।
अन्माउने बेलामा आमा, सानीमा र ठूलीआमाहरु डाँको छोडेर रुन थाल्नुभयो । मलाई नराम्रो लाग्यो । डोलीमा चढाएर बिदाइ गर्ने बेलामा मेरा आँखाबाट पनि आँशु झरे ।
मलाई डोली चढाएर हर्राबोट पुर्याइयो । हाम्रो गाउँबाट त्यस्तै ९/१० किलोमिटर टाढा होला । घर पुग्दा धेरै मानिसहरु जम्मा भइसकेका थिए । धेरैका आँखा ममाथि नै अडिएका थिए । मलाई निकै लाज लाग्यो । किन सबैले मलाई नै हेरिरहेका होलान् भनेर अचम्भित पनि भएँ ।
विवाहको चौथो दिन श्रीमान र म दुलान फर्काउन म्यालपानी आयौं । हामी घरमा पुग्दा बा हुनुहुन्नथ्यो । राति हामी सबै खाना खाएर सुत्यौं । बा कतिबेला आएर सुत्नुभएछ ।
अर्को दिन बिहान मेरो श्रीमान बाहिर दलानमा बसिरहँदा बा भित्रबाट निस्किनुभयो र ज्वाइँका खुट्टामा ढोग्नुभयो । अनि भन्नुभयो, ‘स्वर्गीय पण्डित घनश्याम गुरु (मोदनाथ प्रश्रितका पिता) को विद्यादान र सम्मानलाई सम्झेर मैले आफ्नी छोरी तपाईंलाई दिएको हुँ । तपाईंले पनि आफ्ना पिताको जस्तो सम्मान आर्जन गर्नुहोला । हाम्रा कुलको इज्जत राखिदिनुहोला र मेरी छोरी रामप्यारीलाई माया गरेर पाल्नुहोला ।’
खाना खाएपछि गौरीजी मलाई छोडेर घर फर्किनुभयो । बाचाहिँ आँटीमा गएर बाकस खोली कागजपत्र हेर्न थाल्नुभयो । केही कागजपत्र निकालेर झोलामा राख्नुभयो । लुगा फेर्नुभयो । र, आफूले बजाउने गरेको एकतारे बाजा समातेर बाहिर निस्किनुभयो ।
बाहिरबाट आमालाई बोलाएर भन्नुभयो, ‘मैले त्यत्रो विरोध गर्दा पनि नटेरेर हाम्रो धोती बोक्ने रैतीका छोरालाई छोरी दिएरै छोडिस् । म अब आफ्नो समाजमा मुख देखाउन लायक छैन । आजैदेखि जोगी भएर हिडेँ ।’
आमा स्तब्ध बन्नुभयो । ग्वाँ-ग्वाँ रुँदै अगाडि गएर बालाई रोक्न खोज्नुभयो । बिलौना गर्न थाल्नुभयो । हामीले पनि घेरा हालेर उहाँलाई घरतिर तान्न खोज्यौं । तर, केही लागेन । हाम्रो हात फुत्काएर जबरजस्ती बा हिँड्नुभयो । हामीले रुँदै केहीबेर उहाँलाई पछ्यायौं । तर, उहाँ हामीलाई हेर्दा पनि नहेरि एकोहोरो हिँडिरहनुभयो ।
त्यस दिनभरि हामी रोइरह्यौं । आमाका रुँदारुँदा आँखा सुन्निएका थिए । बाको पलायनसँगै आमालाई ठूलो बज्रपात परेको थियो । त्यतिबेला आमा त्यस्तै ३० वर्षकी हुनुहुन्थ्यो भने बा उहाँभन्दा ३० वर्ष जेठो । बाकी पहिली श्रीमतीतर्फकी छोरी नै मेरी आमाभन्दा १० वर्ष जेठी हुनुहुन्थ्यो ।
हिँडेको करिब दुई वर्षपछि बा एकपटक दशैंमा घर आउनुभएको थियो । त्यतिबेला म माइतीमा नै थिएँ । लामो दाह्री, लामो कपाल, गेरुवस्त्र र कमण्डलु बोकेर बुवा आउँदा हामीलाई चिन्नै गाह्रो पर्यो । त्यतिबेला उहाँ दशैंदेखि तिहारसम्म करिब एक महिना बस्नुभयो । तर, छुट्टै पकाएर खानुभयो । तिहारपछि फेरि एकतारे बजाउँदै बाटो लाग्नुभयो । आमाले लाख बिन्ती गर्दा पनि केही लागेन । त्यसको केही महिनामा नै बुवाको मृत्यु भएको खबर आयो ।
बिर्तावाल भएकाले मेरो माइती परिवार पहिले निकै सम्पन्न थियो । तर, बुवाले जुवाको कुलतमा लागेर धेरै सम्पत्ति सिध्याइसक्नुभएको रहेछ । थुप्रैसँग ऋण पनि लिनुभएको रहेछ । त्यसैले बुवाको मृत्युपछि आमा ठूलो संकटमा पर्नुभयो । बुुवालाई ऋण दिएकाहरुले आमालाई पिरोल्न थाले । आमाले जीवनभर कहिल्यै सुख पाउनुभएन ।
यता मेरो घरपट्टिको अवस्था पनि त्यति राम्रो थिएन । हाम्रो विवाहको एक वर्ष अगाडि मात्रै ससुरा घनश्याम पौडेलको मृत्यु भएको थियो । जेठो छोरा प्रश्रितजी पढ्दै हुनुहुन्थ्यो (बिहेपछि उहाँले आफ्नो नाम गौरीशंकर पौडेलबाट फेरेर मोदनाथ प्रश्रित राख्नुभएको थियो) ।
सासूआमाले मलाई सुरुदेखि नै राम्रो व्यवहार गर्नुभएन । उहाँले मलाई निकै कटू वचनहरु लगाउनुहुन्थ्यो । श्रीमान भने सरल र मायालु हुनुहुन्थ्यो । तर, उहाँ घरमा बसे पो । पढाइका लागि बनारस बस्नुहुन्थ्यो । त्यसैले मैले घरमा सासूआमाको टोकसो सहेर बस्नुपर्यो ।
घरमा गर्नुपर्ने काम भनीसाध्यै छैन । घाँस, दाउरा, पानी, गोबर, सोत्तर, गाउँ-बेसी, मेलापातको काम सकी नसकी गर्दै गएँ । हर्राबोटबाट बेंँसी बाँक्लीफाँट एक कोस (तीन किलोमिटर) टाढा पर्छ । त्यहाँबाट दिनको दुई खेप, तीन खेप धानका बोरा र परालका भारी ओसार्नुपर्थ्यो । घाँस काट्न र दाउरा खोज्न परपर पुग्नुपथ्र्यो । मलाई घर धान्न निकै गाह्रो पर्यो ।
भोक लागेर पेटका आन्द्रा बटारिन्थे । कहिले दुई-चार मुठी चामल काँचै चपाउँथेँ । आमालाई सम्झेर धुरुधुरु रुन्थेँ । रात दिन धसिएर काम गर्दा पनि सासूआमाको मन जित्न सकिनँ । आफ्नो लोग्ने विदेश, मनको बह पोख्ने ठाउँ पनि थिएन ।
हलो जोत्दा हंगामा
जसोतसो दिनहरु बित्दै गए । उमेरसँगै म पनि परिपक्व हुँदै गएँ । हाम्रा एक छोरा र दुई छोरी भए । प्रश्रितजी पढाइका लागि फेरि बनारस जानुभयो । माइला देवर पनि बाहिरै हुनुहुन्थ्यो । कान्छा देवर सानै हुनुहुन्थ्यो ।
घरमा बलियो पुरुष नभएकाले देउरानी उषा र मैले घरधन्दादेखि खेतीको काम सबै भ्याउनुपथ्र्यो । ०२९ सालको कुरा हो, वैशाखमा बारीमा मकै छर्ने बेला भयो । घरमा गोरु पालेका थियौं । तर, बाहुनले हलो जोत्नुहुँदैन भन्ने मान्यता थियो । महिलाले हलो जोत्ने त कल्पना नै थिएन ।
०२२ मा प्रश्रितजीले पाँच गाउँ पञ्चायतका प्रधानपञ्च र तीन सय मान्छे भेला गरेर हाम्रै खेतमा ‘बाहुन हलो सञ्चालन अभियान’ आयोजना गर्नुभएको थियो । त्यसपछि म पनि सोच्न थालेकी थिएँ कि यसैगरी महिलाले पनि हलो जोत्ने परम्परा सुरु गर्न पाए हुन्थ्यो नि ।
म राजनीतिकरुपमा पनि केही सचेत हुन थालेकी थिएँ । मनमा आँट भरिँदै गइरहेको थियो । फलानो-फलानो काम महिलाले गर्नुहुँदैन भन्ने सामाजिक सिद्धान्तलाई मेरो मनले प्रश्न गर्न थाल्यो । मैले धेरै शास्त्रहरुको अध्ययन गरेँ । तर, कतै पनि महिलाले यस्तो काम गर्नु हुँदैन भनेर लेखेको पाइनँ । अन्ततः निस्कर्षमा पुगेँ कि महिलाले हलो जोत्न नहुने कुनै कारण छैन ।
मकै छर्ने बेलामा जोत्ने हलीको अभाव भयो । सासूले भन्नुभयो, ‘देउरानी जेठानी मिलेर कोदालो खनेर भए पनि मकै छर ।’
तर, त्यति ठूलो पाटो कोदालोले खनेर कसरी सक्ने ? अन्ततः मैले निर्णय गरेँ, अब आफैं हलो जोत्छु ।
खुसुक्क गोरु फुकाएर देउरानी-जेठानी बारीतिर हिँड्यौं र गोरु नार्यौं । मैले पहिलोपटक अनौ समातेर जानी-नजानी जोतेँ । उषाले मकै छरिन् । त्यो बारीको पाटोलाई वरिपरि रुखहरुले ढाकेको थियो । त्यसैले मैले हलो जोतेको कसैले थाहा पाएन । देउरानी भने निकै डराइरहेकी थिइन् । म भने ठूलै काम गरेँ भनेर निकै गदगद थिएँ ।
अर्कोपटक पनि मैले यसैगरी हलो जोतेँ । यसपालि पनि कसैले देखेन । तर, मलाई अब सबैलाई देखाएर जोत्ने मन थियो, ता कि अरु महिलाहरुलाई पनि प्रोत्साहन होस् ।
सोही वर्षको मंसिर २७ गते यो मौका पनि जुर्यो । हाम्रो बाँसटारी भन्ने खेत आलु लगाउन र गहुँ छर्नका लागि जोतिँदै थियो । खेतको डल्ला फोर्न र आलीकुना खन्न म र उषा त्यहाँ खटिएका थियौं । खेत जोत्न रामबहादुर नेपाली -सुजी) आएका थिए । दिउँसो दुई बजेतिर ती सुजीदाइ खेतको बीचमा गोरु छाडेर पानी खान भनी खोलातिर लागे ।
उनी गएपछि गोरुहरु मेलो छोडेर घाँस भएको अर्को गराको ढिकतिर दगुर्न थाले । हलो जुवा भाँचिने छाँट देखियो । त्यसपछि केही नसोचिकन मैले गएर अनौ समातेँ । अनि गोरु फर्काएर मेलोमा ल्याई धमाधम जोत्न थालेँ । सुजीदाइ आउन ढिला गरे । त्यसैले एउटा गरा सकेर अर्को गरामा गोरु लगेँ ।
अर्को गरामा जोत्न लाग्दा खोला वारिपारिका मानिसहरुले मलाई देखेछन् । हल्लीखल्ली भइहाल्यो । नानाथरी कुराहरु गर्न थाले । ‘लौ अलच्छिन लाग्यो, अब गाउँमा विपत्ती हुन्छ’ भनेर गाउँलेहरु आत्तिए ।
एकजनाले चिच्याएर भनेको सुनेँ, ‘यो आईमाईलाई समात… समात… ।’
अर्कोले दाँत किट्दै भन्यो, ‘ए पापिनी हलो छोड् ।’
उषा निकै आत्तिइन् । मैले भने कुनै डर नमानी निर्धक्क हलो जोतिरहेँ । केहीबेरपछि सुजीदाइ आए । मैले दुईवटा गरा जोतिसकेको देखेर उनी जिल्ल परे ।
प्रधानपञ्चको साथ
मैले हलो जोतेको घटनाले गाउँमा उग्ररुप लियो । मेरा बारेमा मानिसहरु नानाथरी कुरा गर्थे । तर, म एउटा कानले सुनेर अर्कोले उडाइदिन्थे ।
दुर्भाग्य कस्तो भने त्यही वर्ष गाउँमा सुख्खा लाग्यो । साथै हैजाको प्रकोप पनि फैलियो । गाउँलेहरुले यसको दोष ममाथि थोपरे ।
एक दिन खाना खाएर निस्कने बेलामा सुजीले दौडँदै आएर भने, ‘ए ठूली नानी । आईमाईले हलो जोतेको पापले गाउँभरि हैजाको महामारी फलिएर यति मान्छे मरे भनी मैदानको पोखरातिर शान्तिस्वस्ती र होम गरिँदैछ । तिमी त्यहाँ गएर गाई दान गरी सबैसित माफी माग्नुपर्छ भनेका छन् । गाउँलेहरु एकदमै रिसाएका छन् । मैले भनेको मान्छेउ भने तिमी गाउँबाट भाग । त्यहाँ गयौं भने तिमीलाई पिटेर मार्न बेर छैन ।’
उनको कुरा सुनेर म डराइनँ । बरु आफूलाई बलियो बनाएर गाउँलेहरुको सामना गर्ने निधो गरेँ ।
मैदानमा पुग्दा सबैजना मेरै प्रतिक्षामा थिए । म आएर उनीहरुको अगाडि रोईकराई गरेर माफी माग्ने सबैको अनुमान थियो होला । तर, त्यस्तो भएन ।
एकजना महिलाले मेरो पाखुरा समात्दै भनिन्, ‘दाजुभाइ, दिदीबहिनी हो, यसैका पापले गर्दा गाउँमा खडेरी परेर रोग फैलिई थुप्रै मान्छे मरे । आज यसलाई बाँधेर सिस्नुपानी लगाउनुपर्छ ।’
मैले पनि कड्केर भनेँ, ‘खबरदार, ममाथि हात हाल्नुभो भने राम्रो हुनेछैन ।’
मेरा काका-ससुराले भन्नुभयो, ‘ए दुलही, खुरुक्क माफी मागेर गाई दान गर । सबै कुरा सामसुम हुन्छ ।’
म पिपलको बोटनजिकै काठको बेञ्चमा थ्याच्च बसेँ । सबैले मलाई घेरे । मलाई खाउँला झैं गरेर हेरिरहेका थिए ।
अनि म पनि बर्बराएँ, ‘आईमाईले हलो जोत्न हुँदैन भनेर कुन शास्त्रमा लेखेको छ ? लौ वेद, पुराणका पाना पल्टाएर देखाउनुस् त ? यदि देखाउनुभयो भने माफी मागौंला ।’
भिडमा कल्याङमल्याङ भयो । कोही के, कोही के भन्न थाले ।
म भन्दै गएँ, ‘आफ्नो खेतीपाती र कामधन्दा आफैंले गरेर खान नहुने के छ ? म आफैं जोतेर निर्वाह गर्छु, कसले के गर्दोरहेछ हेरौं त ।’
त्यसपछि एकजनाले झम्टिए, ‘यो आईमाई कति मातेकी हँ ? उल्टै हामीलाई पो भाषण छाँट्छे । लौ यसलाई लगेर पिपलको हाँगामा उँधोमुन्टो लगाएर झुण्ड्याऔं । अनि बल्ल यसको चेत खुल्छ ।’
उनी पार्खुरा सुर्केर मतिर आउन खोजे । म पनि कड्किएँ, ‘मलाई रुखमा लगेर झुण्ड्याउने बहादुर छोरो कुन आमाले जन्माएकी रैछ, लौ आउ त । छ तागत कसैको ? महिलालाई उभिन्डो बनाएर झुण्ड्याउने कानून छ हाम्रो मुलुकमा ?’
अर्का ठालु चिच्याए, ‘यो आईमाई त गोदीगोदी मार्नुपर्ने खालकी रैछ । हामीहरुले छुन भएन, नत्र मैले जानेको थिएँ । सबै आईमाईहरु गएर साफसँग गोद न, के हेरेर बसेका छौ ? यस्ता राक्षेसनीलाई गाउँमा राख्ने हो भने त अरु आईमाईहरु पनि भाँडिन्छन् ।’
त्यति नै बेला कताबाट प्रधानपञ्च जीवनाथ गौतम आइपुगे । बाहिर पञ्च भए पनि भित्र उनी कम्युनिष्ट थिए । पार्टीले नै भित्री सल्लाह गरेर उनलाई प्रधानपञ्चमा उठाएको थियो ।
त्यहाँ के भइरहेको छ भन्ने बुझ्न उहाँलाई कठिन भएन । उनले मेरो पीठमा धाप मार्दै भने, ‘स्याबास बहिनी । तिमीले ठूलो साहसको काम गरेकी छौ । अझै गर्दै जाऊ । यो समाजको कालोमैलो फाल्दै जाऊ । तिमी नेपाल आमाकी सच्चा छोरी हौ ।’
यसरी प्रधानपञ्च नै मेरो समर्थनमा उत्रिएपछि गाउँलेहरुको मुखमा बुझो लाग्यो । उनीहरुले चुइँक्क बोल्न सकेनन् । लुसुलुसु घरतिर लागे । तर, मेरो कुरा काट्ने क्रम भने जारी नै रह्यो ।
अर्को विद्रोह : दमाईको मलामी
समाजले बनाएको अर्को मान्यता थियो, महिलाले मलामी जानुहुँदैन । यो मान्यता तोड्ने अवसर पनि मलाई प्राप्त भयो त्यही वर्ष ।
गाउँमा हैजाको प्रकोप फैलिएको थियो । धामीझाँक्रीको भर पर्दा मानिसहरु भटाभट मरिरहेका थिए ।
हाम्रो गाउँमा सबैभन्दा गरिब परिवार थियो कौडे दमाईको । उनका एक छोरा र चार छोरी थिए । छोरो लाहुर गएर उतै बिहे गरेको रहेछ । दुर्भाग्यवस त्यहीँ महामारीका बेला ऊ आफ्नी दुलही, दुई छोरा र एउटी छोरी लिएर घर आएको थियो ।
केही दिन घर बसेपछि परिवारलाई छोेडेर उ फेरि आसाम गयो । ऊ गएको आठ/दश दिनपछि परिवारमा हैजा सरेछ र कौडे दमाईकी ठूली छोरी मरी । त्यसको चार दिनपछि लाहुरबाट आएको ठूलो नाति मर्यो । एक सातापछि कान्छो नाति पनि मर्यो ।
कान्छो नाति मरेपछि कौडे विक्षिप्त अवस्थामा पुगिसकेको थियो । हैजा सर्ने डरले उसको घरमा कोही मान्छे पनि आएको थिएन । बच्चाको लास आँगनमै फालेर सबैजना रोइरहेका छन् भन्ने मैले थाहा पाएँ ।
त्यसबेला बाहुनहरु कामी-दमाईको मलाम जाँदा अनिष्ट हुने मानिन्थ्यो । त्यो बच्चाको लास अर्को दिनसम्म आँगनमै लडिरहेको थियो । मैले छरिछिमेकीहरुलाई कौडे दमाईको परिवारमा विपत्ति परेकाले सहयोग गर्न जाउँ भनेँ । तर, कोही पनि तयार भएनन् । बर उल्टै, ‘बाहुन भएर दमाईको मलामी जाने कुरा नगर’ भनेर मलाई नै गाली गरे ।
तर, मेरो मन मानेन । एक्लै कौडे दाइकहाँ पुगेँ । मलाई देख्नासाथ उनी भक्कानो फुटाएर रुन थाले । मैले तिम्रा दाजुभाइहरु किन आएनन् भनेर सोधेँ ।
उनले ग्वाँग्वाँ रुँदै भने, ‘के गर्नु, सबैका घरमा बिरामी छन् । कोही मलाम गएका छन् ।’
बुहारीतिर देखाउँदै भने, ‘बुहारीले कति दिनदेखि केही मुखमा हालेकी छैन । आज बिहानबाट मेरी बुढीले पनि उल्टी र दिशा गर्न लागी । छोराले बाँसका मुनाजस्ता तीन छोराछोरी छोडेर हिँडेको थियो, ती सबै बिते । त्यो नाति हिजै बितेको । लास गन्हाउन थाल्यो । कोही आएनन् । आफूलाई एक्लै लैजाने हिम्मत छैन ।’
त्यसपछि मैले भनेँ, ‘यो बच्चाको लास यसै राखेर हुँदैन । लौ कोदालो निकाल, यसलाई तिमी र म भएर लैजाऔं ।’
उनले कोदालो निकाले । हामीले लास उठायौं । लास उठाएको देखेपछि भित्र बुहारी झनै तड्पिएर रुन थालिन् । हामी अलि तर खरबारीमा पुग्यौं । मैले खाल्डो खनेँ । उनले बच्चाको लास राखिदिएर अर्कोतिर फर्केर रुन थाले । मैले त्यो लासलाई माटोले पुरिदिएँ । अनि हामी उनको घरमा फर्कियौँ । बुहारीको बेहाल थियो । मैले उनलाई सम्झाएँ । घरबाट अलिकति चामल ल्याएर दिएँ ।
मैले र कौडेले बच्चाको लास उठाएर लगेको केही छिमेकीहरुले देखेका थिए । अब गाउँलेलाई ठूलो मसला भइहाल्यो ।
‘कविता त दमाईको मलामी गइछ’ भन्ने हल्ला मेरी सासूआमाको कानसम्म पुग्यो । उहाँ क्रोधले आगो हुनुभयो । त्यो दिन घरभित्रै पस्न दिनुभएन । बाहिरै सुतेँ । त्यस दिनदेखि सासूआमाले मैले पकाएको दाल र भात खान छोड्नुभयो ।
यति मात्र होइन, मैले आईमाईले गर्नुहुँदैन भनेको घरको छानो छाउने र खसी मार हान्ने काम पनि गरेँ । यसरी म गाउँलेहरुका अगाडि एउटी अधर्मी महिलाका रुपमा चित्रित भएँ ।
मेरा सबै ‘कुर्तुत’ बारे बनारसमा रहेका मेरा श्रीमानलाई खबर पुगेछ । एक दिन उहाँको पत्र आयो । उहाँले पत्रमा मलाई लेख्नुभएको थियो, ‘तँ अलि उग्र भइस् । यो तरिका ठीक होइन ।’
उहाँले नरम भाषामा गरेको गालीले मलाई त उल्टै शान्त्वना मिलेझैं भयो ।
प्रश्रितको त्यो पत्र
घरभित्रको अभाव, दुख र सासूआमाको टोकसो सहन नसकेर मलाई बारम्बार माइती जान मन लाग्थ्यो । माइतीमा आमाको अवस्था पनि उस्तै दयनीय थियो । तर, पनि उहाँको काखमा शीर राखेर पीर बिसाउन त पाउँथेँ ।
सासूआमासँग माइती जाने कुरा गर्दा सँधै रिसाउनुहुन्थ्यो । कहिल्यै खुशी भएर विदा नदिने । त्यसैले एकरात म उहाँलाई थाहा नदिए भागेर माइत गएँ । तर, आमा निकै रिसाउनुभयो । मलाई खम्बामा डोरीले बाँधेर सिस्नुपानी लगाउनुभयो । अनि थचक्क भुईंमा बसेर आफैं रुन थाल्नुभयो । मैले अब आइन्दा भाग्दिनँ भनेर बचन दिएँ ।
तर, फेरि अर्कोपटक पनि म भागेर माइती आएँ । यसपटक चाहिँ ‘अब फर्किन्न’ भन्ने थियो । जेजस्तो भए पनि आमासितै बस्छु, यदि आमाले बस्न नदिए मर्दिन्छु भन्नेसम्म सोचेकी थिएँ । माइतमा पुगेर आमालाई भने, ‘आमा अब म त्यो घरमा बस्न सक्दिनँ । यदि तपाईंले पनि शरण नदिए म झुण्डिएर मरिदिन्छु ।’
आमा छाती पिटीपिटी रुन थाल्नुभयो ।
‘यो छोरी जन्मिनेवित्तिकै मरेकी भए पनि हुन्थ्यो नि । कस्तो अभागी पूर्पूरो मेरो । अब म यसलाई कसरी पालुँ ?’ आमा बिलौना गर्न थाल्नुभयो । भाइबहिनीहरु वाल्ल परेर हेरिरहे ।
अनि आमाले मलाई अंगालोमा लिएर भन्नुभयो, ‘भैगो, अब यहीँ बस् । ज्वाइँ बनारसबाट आएर जे गर्नुहोला, गर्नुहोला ।’
त्यसपछि म माइतीघरमा आमा र भाइबहिनीसँगै बस्न थालेँ । प्रश्रितजी बनारसबाट फर्केपछि मलाई लिन आइदिए हुन्थ्यो भन्ने मनमा थियो । तर, भरोसा थिएन । लोग्नेमान्छेको के विश्वास ? अर्को बिहे गर्न पनि सक्नुहुन्छ भनेर पिरोलिएकी थिएँ ।
एकदिन घनश्याम दाइ बनारसबाट घर आउनुभयो । उहाँले प्रश्रितजी पनि आफूसँगै फर्केको बताउनुभयो । म एकातिर रमाएँ, तर अर्कोतिर डराएँ । उहाँ लिन आउनुहुन्छ कि भन्ने झिनो आशा थियो । तर, आउनुभएन भने मेरो वैवाहिक जीवनमा त्यहीँ पूर्णविराम लाग्न सक्थ्यो ।
त्यसको एक सातापछि प्रश्रितजी मलाई लिन आउनुभयो ।
बाहिर दलानमा बसेर आमाले रुँदै उहाँसित बिलौना गर्नुभयो । प्रश्रितजीले पनि मेरो विषयमा आमासँग धेरै गुनासो राख्नुभयो ।
‘म गरिब परिबारको हुँ भन्ने जान्दाजान्दै छोरी दिनुभयो, अब के बिलौना गर्नुहुन्छ ?’ प्रश्रितजीले आमालाई भन्नुभयो ।
त्यसपछि आमाले जवाफ दिनुभयो, ‘अब मलाई केही नभन्नुस् ज्वाइँ । मैले त भैगो मेरो कोखको एउटा फुल फुटेछ भनी चित्त बुझाएकी छु ।’
त्यो ‘कोखको फुल फुटेछ’ भन्ने शब्द प्रश्रितजीलाई निकै अपि्रय लागेछ । उहाँ आक्रोशित हुनुभयो ।
‘ए उसोभए तपाईंको एउटा फुल फुट्यो ? ठीक छ, अब आफ्नी छोरी आफैं पाल्नुस् । म गरिबले अर्काकी छोरीलाई आफ्नो घरमा लगेर आत्महत्या गर्नुपर्ने अवस्थामा किन पुर्याउँ ? अब रामप्यारीको कुरा लिएर म कहिल्यै यहाँ आउनेछैन,’ प्रश्रितजीले भन्नुभयो ।
उहाँको यस्तो शब्दले मेरो मुटुमा वाण हानेझैं भयो । उहाँ जुरुक्क उठेर ठमठम हिँड्नुभयो । हामी आमाछोरी हेरेको हेर्यै भयौं ।
त्यसपछिका दिनहरु मेरा लागि निकै पीडादायी बने । घरबाट भागेर आएकोमा मलाई थकथकी लागिरह्यो । प्रश्रितजी अब फेरि मलाई लिन आउनुहुन्न भन्ने कुराले मलाई औधि पिरोल्यो । एक मनले त आफैं फर्केर जाउँ जस्तो पनि हुन्थ्यो । तर, राति भागेर हिँडेकी बुहारीलाई सासूआमाले कसरी स्वीकार्लिन् भन्ने डर थियो मनमा ।
यस्तैमा एक दिन बनारसबाट प्रश्रितजीको पत्र आयो । त्यो पत्र मेरा लागि कुनै परमाणु बमभन्दा कम थिएन । पत्रसँगै उहाँले एउटी सुन्दर युवतीको फोटो पनि समावेश गर्नुभएको थियो ।
उहाँले लेख्नुभएको थियो, ‘मलाई माफ गर रामप्यारी । मैले अर्को विवाह गर्ने निर्णय गरेँ । तस्वीरमा देखिएकी युवती मेरी साथी हुन् । उनीसँग चाँडै बिहे गर्छु । तिमी पनि आफ्नो भविश्यका बारेमा निर्णय लिन स्वतन्त्र छौ ।’
यो पत्र पढ्नासाथ मलाई भाउन्न भयो । जिन्दगीमा ठूलो चट्याङ परेझैं लाग्यो । अहँ, म उहाँसँग छुट्टनि सक्दिनँ । जेसुकै होस, घर फर्किन्छु भन्ने निधो गरेँ । जसरी पनि सासूआमालाई पगाल्छु भन्ने सोचेँ ।
माइत आएको अठार महिनापछि म लुरुलुरु घर गएँ । सासूले मलाई देख्नासाथ झम्टिनुहोला भन्ने लागेको थियो । तर, त्यस्तो भएन । उहाँ निकै मत्थर हुनुभएको रहेछ । खासमा माइली बुहारी उषाको काम गराई उहाँलाई चित्त बुझेको रहेनछ । उषा मभन्दा राम्री थिइन्, तर काममा मजस्तो फुर्तिली र बलियी थिइनन् ।
‘माइली बुहारीको त अनुहार मात्रै राम्रो हो, गह्रुंगो काम गर्न सक्दिन । जस्तो भए पनि काम गर्न सक्ने बहादुर त ठूली बुहारी नै हो ।’ सासूले छिमेकीसँग यस्तो कुरा गरेको म सुन्थेँ ।
विसं. २०१९ को वैशाखमा प्रश्रितजी घर आइपुग्नुभयो । उहाँ एक्लै हुनुहुन्थ्यो ।
ढोगभेट र कुराकानीपछि उहाँ कोठाभित्र पस्नुभयो । म पछिपछि गएँ ।
मैले ठाडै सोधेँ, ‘खोई मेरी सौता ?’
उहाँले प्याट्ट मेरो गालामा थप्पड हान्नुभयो र भन्नुभयो, ‘केको सौता ?’
गाला रातो भए पनि उहाँको त्यो थप्पड मलाई अति पि्रय लाग्यो, किनकि त्यसमा माया घुलेको थियो । त्यसले मेरो मनको चिन्ता हरण गरेको थियो ।
अब मैले नखरा पार्दै सोधेँ, ‘साँच्चै भन्नुस् न किन ल्याउनुभएन त्यसलाई ?’
खासमा उहाँले मलाई पत्रमा कुनै फिल्मी हिरोइनको फोटो पठाएर झुक्याउनुभएको रहेछ ।
‘तिमीलाई घरमा फर्काउनका लागि यस्तो चाल चलेको हुँ,’ उहाँले खितिति हाँस्दै भन्नुभयो । मलाई शरीरबाट ठूलो काँडा झिकेझैं भयो ।
त्यो रात हामीले गफिएरै बितायौं । उहाँले मलाई बनारस लगेर पढाउने कुरा गर्नुभयो । म मख्ख परेँ ।
पढ्नलाई संघर्ष
वाल्यावस्थामा मैले पढ्न पाइनँ । त्यो जमानामा छोरीलाई पढाउने चलन नै थिएन । दाइहरुले पढेको देख्दा रहर लाग्थ्यो । तर, बुवालाई केही भन्ने सक्दिनथेँ ।
बिहे भएपछि मलाई पढाइको अभाव खट्किन थाल्यो । खासगरी जब मेरा देवरले लेखपढ गर्न जान्ने श्रीमती बिहे गर्नुभयो । ५ कक्षा पढेकी पाएपछि माइली बुहारी मेरी सासूले मलाई तिरस्कार गर्ने थप बहाना मिल्यो । पढेलेखेको परिवारमा म अक्षर पनि नचिन्ने बुहारी भएर जाँदा म आपै+mलाई हीनतावोध हुन थाल्यो । श्रीमानले पनि मलाई ‘गोबरगणेश’ भनेर उडाउने गर्नुहुन्थ्यो । त्यसैले जसरी पनि पढेर एसएलसी पास गर्छु भन्ने अठोट गरेँ ।
एक दिन श्रीमान घर आउनुभएका बेलामा आफ्नो इच्छा जाहेर गरेँ । उहाँ मलाई अक्षर चिनाइदिन तयार हुनुभयो । केही किताब पनि किनिदिनुभयो । तर, उहाँ फर्किर्एपछि मलाई सिकाउने कोही भएन । त्यसैले आफैंले किताब हेरेर सिक्ने प्रयास गरेँ । जसलाई भेट्यो उसैलाई सिकाइदेउ भन्न थालेँ ।
वनमा घाँस काट्न जाँदा पनि किताब बोकेर जान्थेँ । सासूआमाको आँखा छलेर पढ्थेँ । माइती बस्दा दाइभाइहरुसँग सिक्थेँ । यसरी म अक्षर पढ्न र लेख्न सक्ने भएँ । बिस्तारै किताबहरु पढ्न थालेँ । थुप्रै नेपाली र हिन्दी साहित्यिक र राजनीतिक किताबहरु पढ्दै गएँ । ज्ञान र चेतना पनि बढ्दै गयो ।
अब म एसएलसी दिन कस्सिएँ । त्यहाँ विद्यालय भर्ना भएर पढ्ने अवस्था थिएन । प्रश्रितजीले मलाई बनारसमा पढाउने बचन दिनुभएको थियो । त्यसैले मैले बनारस जाने निधो गरेँ ।
त्यतिबेला छोरो विजय हेटौंडामा देवरसँग बसेर पढ्थ्यो । ८ वर्षकी छोरी लिएर म घरबाट हिँडेँ । सुनौलीबाट गोरखपुर पुगेँ । त्यहाँ पुष्पलालको अफिस कहाँ छ भनेर सोधखोज गर्दै उहाँसम्म पुगेँ ।
बनारसमा एक्कासी मलाई देख्दा प्रश्रितजी अचम्भित हुनुभयो । खुशी पनि हुनुभयो । मैले आफू पढ्नलाई आएको बताएँ ।
वनारसमा मैले मास्टर राखेरै ३ वर्ष पढेँ । म प्राइभेट फर्म भरेर मेट्रिक परीक्षाको तयारीमा थिएँ । तर, त्यहीबेला गर्भवती भएँ । छोराछोरी जन्माएर परीक्षा दिन कठिन थियो । त्यसैले श्रीमानसँग सल्लाह गरेर गर्भपतन गर्ने निर्णय गरेँ । गर्भपतन गर्ने औषधि पनि खाएँ । तर, खै के भएर हो, मेरो बच्चा गएन । सायद मेरी कान्छी छोरी जन्मिन नै लेखेको रहेछ ।
परीक्षाकै क्रममा म सुत्केरी भएँ । जन्मेको ११ दिनमा न्वारन गरेर म परीक्षा दिन गएकी थिएँ । छोरीलाई झोलुंगोमा राखिदिन्थेँ र आफू पढेर बस्थेँ । राति अबेरसम्म पढ्थेँ । बिहान पनि चाँडै उठेर पढ्न थाल्थेँ । यसरी म राति ३/४ घन्टा मात्रै सुत्थेँ । अहिले पनि म राति धेरै सुत्दिनँ ।
परीक्षाको नतिजा आयो । हिन्दीबाहेक अरु विषयमा पास भएँछु । हिन्दी विषय लागेकोमा खेद थिएन । आखिर मैले सर्टिफिकेटका लागि भन्दा पनि ज्ञानका लागि पढेकी थिएँ । त्यसैले नतिजामा सन्तुष्ट भएँ ।
०३३ सालमा एसएलसी दिएकी म ०३४ सालमा बनारसबाट फर्किएँ । त्यसपछि अब पहाड छोडेर तराई झर्ने निधो गरेँ । १० महिना पहाडमा बिताएपछि २ छोरी लिएर तराई झरेँ । छोरा विजय हेटौंडामै देवरसित थियो ।
कपिलवस्तुको तौलिहवामा आएँ । अर्घाखाँचीबाट मेरा दाजुहरु त्यहाँ बसाइँ आउनुभएको थियो । ३/४ महिना उहाँहरुसँग बसेँ ।
प्रश्रितजीले मदन पुरस्कार जितेर ०२४/०२५ सालतिर ४ हजार रुपैयाँ पाउनुभएको थियो । त्यो पैसामा केही थपेर भैरहवामा एउटा घर बनाउनुभयो । घर बनाउन १० हजार जति लागेको रहेछ । अलिअलि ऋण तिर्न बाँकी नै थियो । घरभाडामा लगाइएको थियो । भाडा नगण्य आउँथ्यो ।
तर, सरकारले घर लिलामी गर्ने सूचना टाँसेको मैले थाहा पाएँ । त्यतिबेला सरकारविरोधी आन्दोलन गर्नेहरुको जायजेथा लिलामी गरिन्थ्यो । हाम्रो घर लिलामीको ३५ दिने सूचना टाँसिएको रहेछ ।
त्यसपछि मैले घर जसरी पनि तत्कालै विक्री गर्नुपर्ने भयो । यसका लागि उहाँको मञ्जुरीनामाको कागज चाहिन्थ्यो । १ वर्षकी छोरी झुण्ड्याउँदै म उहाँलाई खोज्न हिँडे । अहिलेजस्तो मोबाइल भए पो । बल्लतल्ल वाणगंगामा उहाँलाई भेटाएर मञ्जुरीनामा बनाएँ ।
सूचनाको म्याद सकिनुभन्दा १५ दिन अगाडि मैले भाडामा बसिरहेका भगिरथी श्रेष्ठलाई ३० हजारमा घर बेचेँ । त्यसको केही पैसाले ऋण चुक्ता गरेँ । र, बाँकी पैसा लिएर म कपिलवस्तुको छरौली भन्ने ठाउँमा पुगेँ जहाँ मेरा बहिनीहरु बस्थे । त्यहाँ मैले साढे चार हजार विगामा दुई बिघा खेत किनेँ र एउटा छाप्रो बनाएर बस्न थालेँ ।
त्यहाँ मलाई आफ्ना छोराछोरीको पेट भर्न निकै गाह्रो पर्यो । त्यसपछि औषधि बेच्ने काम सुरु गरेँ । बनारसमा बस्दा श्रीमानबाटै औषधिको विषयमा केही ज्ञान पाएको थिएँ । त्यसैका आधारमा एक जनासँग ५० रुपैयाँ सापटी लिएर सीमापारी कृष्णनगरबाट मामुली रोगका औषधिहरु किनेर पेशा सुरु गरेँ ।
गाउँ-गाउँ डुल्दै ती औषधि बेच्थेँ । पछि पसल नै राखेर बेच्न थालेँ । छोरालाई बनारस पढ्न पठाएँ । छोरीहरुलाई खोलावारिको स्कुलमा भर्ना गरेँ ।
३६ वर्षसम्म हामी अलग नै रह्यौं । उहाँबाट कुनै आर्थिक भरथेग पनि भएन । किनकि राजनीतिमा लागेकाले उहाँको आम्दानीको स्रोत केही थिएन । मैले औषधि बेचेरै जेनतेन परिवार चलाएँ । लामो समयसम्म दैनिक एक छाक मात्र खाइयो ।
राजनीतिक जीवन
मोदनाथ प्रश्रितजी राजनीतिमा लाग्नुभएको कुरा मलाई लामो समयसम्म थाहा थिएन । बनारसमा छँदादेखि नै उहाँ कम्युनिष्टमा लाग्नुभएको रहेछ ।
बनारसमा पढाइ सकेर फर्केपछि उहाँ भैरहवामा ‘लुम्बिनी सन्देश’ नामक पत्रिका सम्पादन गर्न थाल्नुभयो । त्यसपछि मलाई पनि भैरहवा लैजानुभयो । म पहिलोपटक उहाँसँग सिनेमा हेर्न गएँ । हामीले पक्लिहवा गएर सँगै फोटो पनि खिचायौं ।
घर फर्किने क्रममा बाटोमा उहाँले सोध्नुभयो, ‘तिम्रो नाम कसले राखिदिएको ?’
मैले भनेँ, ‘आमा-बाले त होला नि । किन र ?’
‘मलाई तिम्रो नाम अलि कस्तो-कस्तो लाग्छ । आफ्नी प्यारीलाई रामकी प्यारी कसरी भन्नु ?’
त्यसपछि उहाँले मेरो नाम फेरेर ‘कविता’ जुराइदिनुभएको हो ।
म अब आफ्नो श्रीमानसँगै बस्न पाएर निकै खुशी भएकी थिएँ । तर, मेरो दुर्भाग्य, म गएको केही दिनमै उहाँलाई प्रहरीले पक्राउ गर्यो ।
मान्छेले अपराध गर्दा मात्रै प्रहरीले समात्छ भन्ने बुझेकी थिएँ । उहाँले आखिर के अपराध गर्नुभयो भन्ने मलाई भेउ भएन । मैले निकै सोधखोज गरेपछि मात्रै उहाँ पञ्चायतविरुद्धको कम्युनिष्ट राजनीतिमा लाग्नुभएको रहेछ भन्ने बुझेँ ।
पक्कै केही बुझेरै यसमा लाग्नुभएको होला भन्ने मेरो मनमा पर्यो । अनि मैले पनि कम्युनिष्ट किताबहरु खोजीखोजी पढ्न थालेँ । उहाँ हिँड्नुभएको बाटोमा म पनि हिँड्छु भन्ने प्रण गरेँ । र, कम्युनिष्ट पार्टीको सदस्यता लिएँ ।
प्रश्रितजीले राजकाज मुद्दाको विरोधमा सर्वोच्चमा रिट हाल्नुभएको रहेछ । ०२७ सालमा फागुन १६ गते उहाँ छुट्नुभयो । घर फर्केपछि मैले उहाँलाई सबै कुरा खोतलेर सोधेँ । उहाँले मलाई राम्ररी बुझाउनुभयो । देश परिवर्तनका लागि आफू लडिरहेको बताउँदा मैले उहाँमाथि गर्व गरेँ ।
प्रश्रितजीले आफूलाई भूमिगत हुन पार्टीबाट दवाब आइरहेको बताउनुभयो ।
‘तर, म भूमिगत भएँ भने तिमीहरुलाई कसले हेर्छ ? हाम्रो कयौं वर्षसम्म भेट नहुन सक्छ । त्यसैले म एकदम ठूलो दोधारमा परेको छु,’ उहाँले भन्नुभयो ।
त्यतिबेला मैले कठोर निर्णय लिएँ ।
‘तपाईं भूमिगत हुनुपर्छ । परिवारको जिम्मेवारी म सम्हाल्छु । तपाईंजस्तो मान्छे घर परिवारको झमेलामा अल्झिएर हुँदैन । भूमिगत भएर ढुक्कसित आफ्नो क्षमताले भ्याएसम्म पार्टीको काममा लाग्नुस,’ मैले उहाँलाई भनें । मेरो कुराले उहाँ निकै भावुक बन्नुभयो । र, भूमिगत बन्न तयार हुनुभयो ।
प्रश्रितजी त्यसपछि घर छोडेर हिँड्नुभयो ।
केही समय नेपालमै भूमिगत रहनुभयो । त्यसपछि पुष्पलालले उहाँलाई भारतमै बसेर पार्टीको सांस्कृतिक क्रान्तिको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिनुभएछ । उहाँ बनारसमा पुष्पलालको निकटमा बसेर काम गर्न थाल्नुभयो । अनि त हाम्रो भेट असम्भव जस्तै हुँदै गयो । उहाँ गुप्त रुपले नेपालका विभिन्न जिल्लाहरुमा आउने, लेखक, कलाकार र बुद्धिजीवीहरुलाई भेट्ने र संगठित गर्ने गर्नुहुँदो रहेछ । तर, घरमा आउनुहुन्नथ्यो ।
उहाँ भूमिगत भएपछि परिवार चलाउन मलाई गाह्रो पर्यो । खेतीको उब्जनीले ६ महिना पनि खान नपुग्ने स्थिति थियो । छोराछोरी पढाउनुपर्ने दायित्व थियो । साह्रै गाह्रो भएपछि मैले ढाक्रे काम सुरु गरेँ । मेरी देउरानी उषाले पनि मलाई साथ दिइन् ।
हामीले धोक्रामा कागती, अमिलो र घरमा साँचेको अलिकति घीउ बोकेर ढाक्रे जीवन सुरु गर्यौं । बाटा अप्ठेरा थिए । उकालो ओरालो हिँड्नुपथ्र्यो । हामी दुवै युवती नै थियौं । ढाक्रेहरु प्रायः पुरुष मात्र हुन्थे । बाटोमा उनीहरुले हामीलाई छेडछाड गर्थे । त्यसरी जिस्क्याउनेलाई म कडा जवाफ फर्काइदिन्थेँ ।
सँगसँगै म पार्टीमा पनि क्रियाशील नै थिएँ । दिनभरि घरको काम गर्थेँ, राति पार्टीको । पार्टी बैठक प्रायः राति नै हुन्थ्यो । म राति सबै सुतेपछि घरबाट हिँड्थेँ र बिहान कोही नउठी घरमा फर्किन्थेँ ।
पार्टीले मलाई अखिल नेपाल महिला संघको जिल्ला आयोजक समिति बनाउने जिम्मा दियो । त्यसबेला महिलाहरुलाई राजनीतिमा तान्न सजिलो थिएन । उनीहरु निकै डराउँथे । तर, जे जसरी भए पनि हामी कमिटी निर्माण गर्न सफल भयौं । मेरो संयोजकत्वमा ०२८ चैत २९ गते अनेमसंघ जिल्ला संगठन समितिको गठन गरियो ।
पार्टीको सल्लाहबमोजिम गाउँ पञ्चायतको निर्वाचनमा मैले उपप्रधानपञ्चमा उम्मेदवारी दिएँ । थोरै भोटले हारेँ । राजनीतिका क्रममा म पटक-पटक पक्राउ पर्दै छुट्दै गरेँ । लामो समय भने जेल बस्नु परेन ।
०३७ सालमा प्रश्रितजी फेरि जेल पर्नुभयो । यसपालि ८ वर्षसम्म उहाँ जेल बस्नुपर्यो । छोरो विजय पनि बुझ्ने भएपछि पार्टीमै लाग्यो । ०४१ मा विजयले बीए पास गर्यो । त्यसपछि उसको बिहे गरिदिने विचार गरेँ । श्रीमान जेलमै हुनुहुन्थ्यो । उहाँलाई धेरै जेलहरु घुमाएर गौरमा पुर्याइएको थियो ।
प्रश्रितजीले आफ्नो साथीकी छोरीलाई बुहारी बनाउने पहिल्यै तय गरिसक्नुभएको थियो । बिहे गर्न दुवै परिवार राजी भयौं । तर, बुवा जेलमा भएको बेला एक मात्र छोराको कसरी बिहे गरिदिने ? मैले जुक्ति निकालेँ । जेलमै बिहे गर्ने । जेल प्रशासनसँग कुरा गर्दा उनीहरु पनि तयार भए ।
गौर जेलको परिसरमा दुलाहा र दुलहीलाई पुर्याएर बिहे सम्पन्न भयो । जनवादी शैलीमा । पैसा नभएकाले बिहेमा छोरालाई नयाँ लुगासमेत मैले हाल्न सकिनँ ।
छोरा पनि राजनीतिमै लागेकाले कमाइ थिएन । प्रश्रितजीले आफ्नो कोट छोरालाई लगाइदिनुभयो । जेलका कैदीहरुले सिंगै खसी ढालेर भोज खुवाए ।
म अनेमसंघको केन्द्रीय सदस्यसम्म भएँ । ०६२/६३ को आन्दोलनमा पनि म संलग्न थिएँ र दुई पटक जेल परेकी थिएँ । ०६५ सालमा मैले राजनीतिबाट विश्राम लिएँ र आफूलाई लेखपढमा केन्द्रित गरेँ । प्रश्रितजी पनि अहिले राजनीतिबाट टाढा भइसक्नुभएको छ ।
अहिले घरभित्रै दिनहरु बितिरहेका छन् । दुवैजना लेखपढमा रुचि राख्ने भएकाले समय बिताउन खासै कठिन छैन । म राति अबेरसम्म पढ्छु । अहिलेसम्म करिब दुई दर्जन किताब निकालिसकेकी छु । हालसालै एउटा काव्य प्रकाशित भयो ।
छोरा डा. विजय पौडेल अहिले नेकपाको केन्द्रीय सदस्य छन् । कलेज पनि चलाउँछन् । एउटा टेलिभिजनमा सेयर पनि छ । छोरीहरु बाहिर छन् ।
जीवनमा धेरै उतार-चढाव भोगियो । वृद्धावस्था चाहिँ शान्तिसँग बित्दैछ ।