Comments Add Comment

सेक्युरेटी प्रिन्टिङ र स्याटेलाइट स्थापना गर्न फ्रान्ससँग समझदारी

२५ फागुन, काठमाडौं । नेपालमै सेक्युरेटी प्रिन्टिङ (सुरक्षण मुद्रण) स्थापना गर्न र आफ्नै व्यवसायिक स्याटेलाइट स्थापना गर्न फ्रान्सले सघाउने भएको छ । फ्रान्स सरकारका विदेश राज्यमन्त्री जिन बाप्टिस्टे लेमोनीको निमन्त्रणामा फ्रान्स पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यसबारे समझदारी गरेका छन् ।

यी दुई काममा फ्रान्स सहुलियतपूर्ण आर्थिक सहयोगसहित प्राविधिकलगायत सहयोग गने सझदारी भएको छ । यो समझदारी कार्यान्वयन भएपछि राष्ट्रिय परिचयपत्र, पैसा र पासपोर्ट लगायतका सेक्युरेटि प्रिन्टिङको काम नेपालमै गर्न सकिने सञ्चार मन्त्रालयका प्रवक्ता ऋषीराम तिवारीले जानकारी दिए ।

यस्तै नेपाललाई आईटीयूले उपलब्ध गराएको अर्विटल स्लटमा आफ्नै व्यवसायिक स्याटेलाइट सञ्चालन र व्यवस्थापनमा पनि फ्रान्सले सघाउनेछ । सुरक्षण मुद्रण स्थापना र स्याटेलाइट सञ्चालन गर्ने विषयमा दुई सरकारबीच मन्त्रीस्तरमा आशयपत्रमा हस्ताक्षर भएको छ ।

नेपालको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको आईएनजीआरओयूपीईबीच पनि सेक्युरेटी पि्रन्टिङ स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यस्तै स्याटलाइट सञ्चालनबारे नेपाल दूरसञ्चार प्राधिकरण र फ्रान्स सरकारको थाल्स एलेनिया स्पेशबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको तिवारीले बताए

दुवै समझदारीपत्रमा कम्तिमा तीन महिनाभित्र परियोजना सम्झौता करार गरी काम सुरु गर्ने उल्लेख छ । सुरक्षण मुद्रणको काम तीन वर्षभित्र र स्याटलाइट सम्बन्धी काम तीस महिनाभित्र सम्पन्न गर्ने समयसीमा तोकिएको छ ।

भ्रमणबाट नेपालको दूरसञ्चार, सुरक्षण मुद्रण तथा सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास गरिएको तिवारीले बताए ।

फ्रान्सले नेपालको पर्यटन, पूर्वाधार र प्रविधि विकासका क्षेत्रमा लगानी गर्न आफूहरु इच्छुक रहेको उल्लेख गर्दै आपसी सहमतिबाट सहयोग र सहकार्यका अन्य क्षेत्र पहिल्याउँदै जाने र दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्याइने विश्वास व्यक्त गरेको छ । भेटवार्ताका क्रममा मन्त्री बास्कोटाले नेपालमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन फ्रान्स सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment