Comments Add Comment

३० दिनमा देखेको नेपाल

Photo Credit : नयाँ शक्तिको एक महिने जनसंवाद कार्यक्रम अन्तर्गत महाकालीको झुलाघाटमा डा. बाबुराम भट्टराई

पृथ्वीनारायण शाहदेखि सुगौली सन्धिसम्म भौगोलिक एकीकरणको चरण थियो । मूलतः विसं. १९८० को दशकदेखि २०७२ सम्म लोकतान्त्रीकरणको चरण थियो ।

संविधानसभाबाट संविधान जारी भएपछि देश समृद्धिको चरणमा प्रवेश गरेको छ । तसर्थ, अबको मुख्य कार्यभार भनेको देशको समृद्धि हो । एशियाको दोश्रो र विश्वको २५ औं गरीब देशको सूचीमा सूचीकृत छ नेपाल ।

यस्तो लाजमर्दो अवस्थाबाट अबको ७ बर्षमा अल्पविकसित अवस्थाबाट विकाशशील अवस्थामा, १५ बर्षभित्र मध्यमस्तरको धनी देशमा र २५ बर्षभित्र संसारको समृद्ध देशको हाराहारीमा नेपाललाई पुर्‍याउनुपर्छ । र, त्यो संभव छ । यसका लागि बैज्ञानिक दृष्टि, दृढ सङ्कल्प, इमान्दारिता र सक्रियताको खाँचो छ ।

यही पृष्ठभूमिमा हामीले नेपालको राजनीतिक इतिहासमा पहिलोपटक जनतासँग प्रत्यक्ष जनसम्वाद गर्ने सोच बनायौं । हरेक नयाँ सोच र प्रयोगहरू जोखिमपूर्ण हुन्छन् । सबै नयाँ प्रयोगहरू सफल हुन्छ नै भन्ने सुनिश्चित हुँदैन । तैपनि हामी जोखिम उठाउने निर्णयमा पुग्यौं ।

कुन मोडेलमा, कहाँ, कसरी र कहिलेदेखि भन्ने सवालमा हामीले झन्नै एक महिनासम्म विमर्श गर्‍यौं । लामो विमर्शपछि मध्यपहाडी पुष्पलाल लोकमार्गमा ०७५ माघ १५ देखि फाल्गुन १५ सम्म एकमहिने जनसम्वाद यात्रा गर्ने निश्कर्षमा पुग्यौं ।

मध्यपहाडी लोकमार्ग नै किन ?

झन्नै ५० बर्ष अघि यस्तो समय थियो, जुन समय देशको सबभन्दा बढी जनसंख्या मध्यपहाडमा बस्थ्यो । देशको अर्थतन्त्रको मुख्य मेरुदण्ड मध्यपहाड नै थियो । तर, अहिले मध्यपहाड उजाड बन्दै गइरहेको छ । बिस्तारै बञ्जर हुने क्रम जारी छ । शहर र तराई मधेसमा जनसंख्याको चाप बढ्दो छ । रोजगारीको खोजीमा विदेशिनेहरूको त कुरै नगरौं । असन्तुलित बसोबास र बिदेशिनु पर्ने वाध्यताबीच समृद्धि सम्भव छैन ।

गंगा श्रेष्ठ

मध्यपहाड भौगोलिक दृष्टिले पनि हिमाल र तराईलाई जोड्ने सेतु हो । त्यस्तै एक प्रतिशतभन्दा बढी जनसंख्या भएको ९ वटा समुदायमध्ये ७ वटा समुदायको बसोबास भएको भूगोल पनि मध्यपहाड नै हो ।

पृथ्वीनारायण शाहदेखि सुगौली सन्धि हुँदै आजसम्म फौजी र प्रशासनिक एकता भए पनि खासमा भौगोलिक साथै जनता–जनताबीच आर्थिक, सामाजिक, सांस्कृतिक र भावनात्मक एकता हुन सकेको छैन । देश बन्नु र राष्ट्र बन्नु अलग कुरा हो । नेपाल पक्कै एउटा देश हो । तर, राष्ट्र हो कि होइन ? बहस आवश्यक छ ।

देशको भूगोलमा बस्ने जनताको भावना एकअर्कामा अन्तर्घुलित नभएसम्म सही अर्थमा राष्ट्र बन्दैन । राष्ट्र नबनी देश भएर मात्र समृद्धि सम्भव छैन ।

केन्द्रीकृत राज्यप्रणाली ठूलो संघर्षको बीचबाट पहिलोपटक संघीय प्रणालीमा बदलिएको छ । संघीयता संविधानमा लिपिवद्ध भए पनि सही अर्थमा कार्यान्वयन हुन सकिरहेको छैन । साँच्चै भन्ने हो भने संघीयताले सही अभिभावकत्व प्राप्त गर्न सकिरहेको छैन । तीनतहको सरकार आपसमा आरोप–प्रत्यारोपको दोहोरीमा समय ब्यतित गरिरहेको छ । सीमाङ्कन, नामाङ्कनको काम अझै पूरा भएको छैन । पूरा गरिएको नामाङ्कन र सीमाङ्कन पनि विवादरहित हुन सकेको छैन । यस्तो अवस्थामा समृद्धिको यात्रा सहज छैन ।

नेपालको पछिल्लो भूगोल बनेदेखि लोकतन्त्र अभ्यासको हिसाबले हाम्रो अनुभव निक्कै कम छ । लोकतन्त्रको लोकतान्त्रीकरण नेपालको आजको आवश्यकता हो । औपचारिक लोकतन्त्रले नागरिक सार्वभौम बन्न सक्दैन । सार्वभौम नागरिकका लागि समावेशी, समानुपातिक, सहभागितामूलक लोकतन्त्र उत्तम विकल्प हुन सक्छ । सच्चा लोकतन्त्रविना पनि भौतिक पूर्वाधारको विकास हुन सक्छ, तर, समृद्धि भने सम्भव छैन ।

राजा महेन्द्रले चुरेको फेदीमा पूर्व–पश्चिम राजमार्ग बनाए । त्यसले पूर्व–पश्चिमलाई जोड्न सजिलो त भयो । तर, त्यसले न त तराईका हुलाकी मार्गकेन्द्रित जनताले फाइदा लिनसके, न त पहाडका जनताले फाइदा लिनसके । सके त केवल पहाडबाट झरेका टाठाबाठाहरुले ।

दिन दुईगुणा, रात चौगुणाको दरले पहाडबाट पलायन भइरहेको जनसंख्यालाई पहाडमै रोक्ने उद्देश्यले बाबुराम भट्टराई अर्थमन्त्री भएका बेला उनकै अगुवाइमा ०६४÷०६५ को बजेटमा मध्यपहाडी पुष्पलाल लोकमार्ग नामाकरण गरी यो सडकको कामलाई अगाडि बढाइएको थियो ।

पछि डा.भट्टराई प्रधानमन्त्री भएका बेला यो सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको थियो । यस सडकको प्रगति र यस सडकले जनजीवनमा पारेको प्रभावको प्रत्यक्ष अवलोकन गर्नु पनि यसको उद्देश्य थियो ।

दुनियाँमा ४ चरित्रका मान्छे हुन्छन् । जस्तै– दुनियाँसँग बेखबर, दुनियाँलाई बुझेका, दुनियाँको व्याख्या गर्न सक्ने र दुनियाँ बदल्ने । हामी दुनियाँ बदल्ने चरित्रका मान्छे पर्‍यौं । दुनियाँ बदल्ने मान्छेहरू दुनियाँमा सबभन्दा कम र अलि पागल खालका हुन्छन् । हामीमध्येका अलि बढी ‘पागल’ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा देश बुझ्न र बदल्न मध्यपहाडी पुष्पलाल लोकमार्गको १८७९ किलोमिटरको एक महिने जनसम्वाद यात्रा गर्ने निर्णय गर्‍यौं ।

यात्राको तयारी र कठिनाइ

राम्रो तयारीविना राम्रो परिणाम सम्भव छैन । सबभन्दा पहिला हामीले यात्राको नाम र थिमबारे प्रशस्त छलफल गर्‍यौं ।

हामीले हाम्रो संविधानमा नागरिक सार्वभौमसत्ता सम्पन्न हुने कुरा त लेख्यौं । तर संविधानमा लेखिएका शब्दहरू जीवन–व्यवहारमा लागू भएका छन् त ? इमान्दारितापूर्वक भन्नैपर्छ– लागू भएको छैन । शब्दमा नागरिक सार्वभौम, तर कर्ममा पार्टी, पार्टीभित्र पनि गुट, गुटभित्र पनि व्यक्ति सार्वभौम भएसम्म त्यस्तो देशले कहिल्यै प्रगति गर्न सक्दैन । इतिहासका निर्माता जनता हुन् । ज्ञानको श्रोत जनता हुन् । त्यस कारण ज्ञानका लागि जनतासँग प्रत्यक्ष सम्वाद गर्ने सोचसहित कार्यक्रमको नाम जनसम्वाद जुरायौं ।

थिमको हिसाबले ‘असल राजनीति र समावेशी विकास’ छान्यौं । राजनीति राज्य सञ्चालनको मुख्य नीति हो । मूल धमिलो भयो भने खोलामा सङ्लो पानी खोजेर पाइँदैन । नेपालको राजनीति यति धेरै विकृत, भ्रष्ट र फोहर भएको छ कि अब यो यत्तिकै अगाडि बढ्न सम्भव छैन । एकचोटि मुहान सफा गर्नैपर्छ । आजसम्म राजनीतिलाई सेवाको रूपमा नभएर पेशाको रूपमा बुझ्ने र बुझाउने काम भयो । अब यसलाई उल्ट्याएर पेसा होइन, सेवाको रूपमा स्थापित गर्नुपर्छ ।

देश भ्रष्टाचार काण्डैकाण्डको दलदलमा फसेको छ । नेताहरू जनताको सेवक बन्नुभन्दा शासक बन्ने, सत्ता शक्तिको बलमा अकुत धन थुपार्ने, त्यही धन चुनावमा लगेर जनताको मत किन्ने र फेरि जनतालाई शासन गर्ने यस्तो दुश्चक्रमा देश फसिरहेको छ । यस दुश्चक्रबाट देशलाई निकाल्न राजनीतिलाई असल नबनाई संभवनै छैन । सुशासन र सदाचार नेताहरूका लागि गायत्री मन्त्रजस्तो भएको छ । यस दुश्चक्रबाट राजनीतिलाई बाहिर निकाल्ने उद्देश्यले असल राजनीतिको थिम बनायौं । र, अब आँखा खोलौं भन्ने अपील गर्‍यौं ।

विकासको सूचाकांक हेर्ने होभने अचम्मको तस्वीर देखिन्छ देशमा । आधा शताब्दी लामो इतिहास बोकेको राष्ट्रिय योजना आयोग एउटा हास्यास्पद संस्थाका रूपमा मात्र देखिन्छ । जनताको अगाडि प्रहसन मञ्चन गर्नेभन्दा विकासको क्षेत्रमा खासै उपलब्धिमूलक काम यस संस्थाले गरेको देखिँदैन । आजसम्मको विकास नेताहरूको पहुँचको आधारमा मात्र भएको छ भन्दा खासै फरक पर्दैन ।

नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुबर्गीय र विविधतायुक्त भूगोलमा समग्र विकासको राष्ट्रिय मोडल कस्तो हुने भन्ने ब्यवस्थित बहस आजसम्म भएको छैन । नेताहरूको पक्षपाती सोचको कारण विकासमा यतिधेरै असमानता छ कि, यसको लागि एकपटक विकासको राष्ट्रिय मोडेल तयार पार्न ठूलो राष्ट्रिय बहसको खाँचो छ । समावेशी विकास अबको मोडेल बनाउनुपर्छ । विकासको फल टाठाबाठाले मात्र उपभोग गर्ने असमावेशी विकासको मोडेल तुरुन्त फेर्नुपर्छ ।

विकास र समृद्धि सुदूर भविश्यको विषय हुनै सक्दैन । त्यसैले हामीले भनेका छौं– समृद्धि सम्भव छ हाम्रै पालामा । हो, हामी हाम्रै पालामा समृद्धि सम्भव बनाएर देखाउन चाहन्छौं । विकास र समृद्धिको आधारहरूभनेका प्राकृतिक श्रोत साधन, पुँजी, प्रविधि सबै हुन् । तर, मुख्य आधार भनेका जनता नै हुन् । त्यसैले पनि हामीले जनतासँग प्रत्यक्ष सम्वाद गर्ने योजना बनायौं ।

एक महिने यात्रामा देखिएका भोगिएका कुराहरूको विस्तृत विवरण अलग्गै लेख्नेछु । यहाँ यात्रामा भोगेका कठिनाइहरूका प्रतिनिधि घटनाहरू मात्र उल्लेख गरेको छु ।

हिउँमा उद्घाटन, हिउँमै समापन

चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्गको सबैभन्दा पूर्वी विन्दु हो । नेपालको पाँचथर जिल्लाको पूर्वी सीमाना र भारतको सिक्किम राज्यको सीमाना हो चिवाभन्ज्याङ । ३१०० मिटरको उचाइमा रहेकोे यस ठाउँमा माघको १५ गते हिउँ जमिरहेको थियो । करिब १० किमी निर्जन जङ्गलमध्ये झन्डै ५ किलोमिटर सडकमा भने हिउँ थुप्रेको थियो ।

धेरै प्रयत्नको बाबजुद केही साथीहरूलाई छाडेर संयोजक डा. भट्टराई र १०० जना जति हामी चिवा पुग्यौं । नैनसूतझैं टल्किरहेको हिउँको तन्नामाथि उभिएर नेपाललाई २५ बर्षभित्र संसारको विकसित र समृद्ध देश बनाई छाड्ने सपथ खायौं । र, मनभरि उत्साह अनि बिश्वास बोकेर बाँकी यात्रामा पाइला बढायौं ।

यात्राको १९ औं दिन फागुन ४ गते बाग्लुङ पुग्यौं । बाग्लुङ र पूर्वी रूकुमको सीमाक्षेत्रमा ५ फिटसम्मको हिउँ थुप्रेको कारण मध्यपहाडीको बाटो जान सम्भव छैन भन्ने रिपोर्टहरू सबैतिरबाट आइरहेको थियो । झन्नै ७ किमी क्षेत्रमा जमेको हिउँ छिचोल्न नसक्दा करिब ३०० किमी बाटो घुम्नुको विकल्प थिएन ।

एकपटक हिमक्षेत्रको प्रत्यक्ष रिपोर्ट लिने निर्णय अनुसार बाग्लुङ बजारबाट प्रशान्त सिंह, ईश्वर रिजाल, रमेश पोखरेल र म अगाडि बढ्यौं । हिउँ जमेको मध्यभाग पातिभन्ज्याङमा पुगेपछि एकाएक लेक लाग्यो मलाई । रात पनि परिसकेको थियो । त्यसपछि त्यहीँबाट फर्कियौं ।

भोलिपल्ट बिहानैदेखि बाटोको हिउँ पन्छाउन विभिन्न उपायहरू लगायौं । बाबुराम भट्टराईलगायत उहाँको सुरक्षा र सचिवालय टीमबाहेक अरू साथीहरूलाई त्यो बाटो नआउन भन्यौं । ५ फिटसम्म जमेको हिउँमाथि कहिले हिँड्दै त कहिले दायाँबायाँ चिप्लदैँ गुडिरहेको गाडीमा बसेर जोखिमपूर्ण हिउँले भरिएको सडक पार गरेर पूर्वी रूकुमको लुकुममा पुग्यौं ।

समापनको दिन नजिकिँदै थियो । डोटीदेखि एकाएक मौसम बिग्रन थाल्यो । डडेलधुरा पुग्दा हल्का हिमपात शुरू भयो । बैतडीको गोठलापानीमा आयोजित समापन कार्यक्रम हुरी, पानी र हल्का हिमपातले गर्दा राम्रोसँग समापन गर्नसम्म पाइएन ।

फर्कंदा बैतडी, डडेल्धुरा र डोटीको करिब ४० किमी क्षेत्रमा कहीँ बाक्लो र कहीँ पातलो हिउँ जमिरहेको थियो । धेरै ठाउँमा ज्यान जोखिममा राखेर १६ गते दिउँसो कैलाली झर्यौं ।

पुल नहुँदाको दुःख

रूकुमको चौरजहारी र जाजरकोट सदरमुकाम खलंगाको बीचमा भेरी नदी बग्छ । मान्छे आवतजावत गर्न नदीमा झोलुङ्गे पुल छ । तर चारपाङ्ग्रे सवारीसाधनको लागि पक्की पुल छैन । ५० मिटरको पक्की पुल नहुँदा झन्नै २०० किमी घुमेर रुकुमको चौरजहारीबाट जाजरकोट खलंगामा जानुपर्छ ।

रुकुमदेखि सल्यान खण्डको बाटो पुरै कच्ची र अप्ठेरो भएको कारण समय धेरै लाग्छ । बिहान ५ बजे चौरजहारीबाट हिँडेका हामी दिउँसो १२ बजे मात्र खलंगा पुग्यौं । जनतामाथि यो भन्दा ठूलो सजायँ अरु के हुन सक्छ ? सरकारलाई अलिकति सरम हुनुपर्ने होइन र ?

समय पालना

पहिला निर्धारण गरिएका कार्यक्रम जम्मा ८६ वटा थिए । कार्यक्रम गर्दै जाँदा ५८ वटा थप गरियो । र, जम्मा १४४ वटा कार्यक्रम सम्पन्न गर्‍यौं । अझ कैयौं ठाउँमा माग भएअनुसार कार्यक्रम गर्न सकिएन । किनकि, हामी तोकिएको दिन तोकिएकै समयमा कार्यक्रम सम्पन्न गर्न चाहान्थ्यौं । अर्थात् माघ १५ गते बिहान ९ बजे शुभारम्भ गरेर फागुन १५ गते ९ बजे झुलाघाटमा पुग्न चाहन्थ्यौं । पक्कै पनि, ५८ वटा कार्यक्रम थप गरेर, बीचीबचमा अनपेक्षित रूपमा भोग्न परेको प्राकृतिक कठिनाइको सामाना गरेर भनेकै समयमा कार्यक्रम समापन गर्नु सजिलो काम थिएन ।

तर, हामीले निर्धारित समयमा शुरू गरेर निर्धारित समयमै अर्थात् फागुन १५ गते बिहान ९ बजे झुलाघाट पुग्यौं । समयको पालना गर्‍यौं ।

५० हजारसँग प्रत्यक्ष सम्वाद

हामी जनतासँग प्रत्यक्ष सम्वाद गर्न चाहन्थ्यौं । तसर्थ, त्यही ढंगले कार्यक्रम डिजाइन र सन्चालन गर्‍यौं । परम्परागत भाषणको शैली बदल्यौं । बढीभन्दा बढी जनताका कुरा सुन्यौं । कार्यक्रमको औपचारिकतामा समय खेर फालेनौं । नेता बस्ने अलग्गै मञ्च बनाएनौं । सबैजना जनतासँगै बस्यौं ।

जनतासँगै बस्दा जनतासँगको भावनात्मक दूरी बाँकी नै नरहँदो रहेछ । भावनात्मकरूपमै एकाकार भइँदोरहेछ । जनताले आफ्नो कुरा खुलेर राख्न सक्दारहेछन् । ३० दिनमा २८ जिल्लाका १४४ स्थानमा सम्पन्न कार्यक्रममा टाउका गनेर ५० हजार नागरिकसँग प्रत्यक्ष सम्वाद गर्‍यौं ।

सम्वादमा प्राप्त सुझावहरू

मौखिक र लिखित गरी हजारौं अमूल्य सुझावहरू प्रत्यक्ष सम्वादको क्रममा प्राप्त गर्‍यौंं । अचम्मको दृश्य त के देखियो भने नागरिक अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र स्थानीय तहका जनप्रतिनिधिसम्मले डा. भट्टराईलाई एउटा सांसदका रूपमा नभएर प्रधानमन्त्रीका रूपमा सम्मान र विभिन्न माग समेटिएको ज्ञापनपत्र पेस गरेको देखियो । बहालवाला प्रधानमन्त्रीका रूपमा डा. भट्टराईप्रतिको यो व्यवहार उहाँप्रतिको आशा र विश्वास हो भन्न सकिन्छ ।

सम्वादका क्रममा प्राप्त सुझावहरूलाई यहाँ बुँदागत रूपमा राख्ने प्रयत्न गरेको छु ।

राजनीतिक

–स्थानीय तहमा राजनीतिक दलको होइन, स्वतन्त्र उम्मेदवार दिने नयाँ ब्यवस्था गर्नुपर्ने ।

– प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन हुनुपर्ने ।

– स्थानीय तहलाई शक्तिसम्पन्न गराउनुपर्ने ।

– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने ।

– जनप्रतिनिधिलाई प्रत्याह्वानको ब्यवस्था हुनुपर्ने ।

विकास र समृद्धि

– परम्परागत खेती प्रणालीमा परिवर्तन । उत्पादित वस्तुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच ।

– बाटो, बिजुली, खानेपानी, सिंचाइ, वित्तीय संस्था, स्वास्थ्य, शिक्षा, सन्चारजस्ता आधारभूत कुरामा जोड ।

– व्यवस्थित शहरीकरण

–पर्यटनमा विशेष लगानी

–अभियानात्मकरूपमा सीप सिकाउने र सीप सिकेकाहरूलाई लगानीका लागि न्यूनतम पुँजी सरकारले उपलब्ध गराउनुपर्ने ।

लोकमार्गको पूर्णता

–लोकमार्ग निर्माणमा ढिलासुस्ती । गति द्रुत बनाउनुपर्ने ।

–सडकको दायाँबायाँ ३१÷३१ मिटरको मापदण्ड परिवर्तन गर्नुपर्ने ।

–सडकको दूरी घटाउन कतिपय ठाउँमा नयाँ एलाइन्मेन्ट बनाउनुपर्ने ।

–भेरी नदीको पुल तुरून्त निर्माणकार्य पूरा गर्नुपर्ने ।

–महाकाली नदीमा भारतसँग कुरा गरेर तुरून्त पक्की पुल निर्माण गर्नुपर्ने ।

–लोकमार्गमा पर्ने गुठी जग्गाको समस्या समाधान गर्नुपर्ने ।

–पाँचथरको च्याङ्थापुबाट भारतको सीमाना फालोट जोड्ने १७ किमि बाटोको ट्रयाक खोल्नुपर्ने ।

संघीयताको सही कार्यान्वयन

– दश प्रदेशको अवधारणा लागू गर्नुपर्ने ।

–सीमाङ्कन र नामाङ्कनको समस्या बैज्ञानिक ढंगले समाधान गर्नुपर्ने ।

–प्रदेश ७ को राजधानी दिपायल राख्नुपर्ने ।

सुशासन र सदाचार

–भ्रष्टाचारको जालो र जरा मध्यपहाडको स्थानीय तहमा पनि फैलिएको र गाडिएको छ, यसलाई तुरून्त नियन्त्रण गर्नुपर्ने ।

–अख्तियार अनुसन्धान आयोगको संरचनागत परिवर्तन गर्नुपर्ने ।

–शक्तिशाली सार्बजनिक लोकपालको ब्यवस्था गर्नुपर्ने ।

शहीद, वेपत्ता, घाइते, अपांग र विस्थापितको समस्या

–सत्य निरूपण तथा मेलमिलाप आयोगलाई तुरून्त बाँकी काम पूरा गर्न सरकारले पहल लिनुपर्ने ।

–शहीद, वेपत्ता, घाइते, अपांगलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने ।

बसाइँसराइको समस्या

भौतिक पूर्वाधारको अभावमा पहाडको बस्ती दिनानुदिन निर्जन बन्दै गइरहेको देखियो । पूर्वदेखि पश्चिमसम्म खानेपानी र सिचाइको समस्या विकराल बन्दै गरेको देखियो ।

सामान्यतः सडक सञ्जालको बिस्तार भइरहेको देखिए पनि न्यूनतम मापदण्डविनै जथाभावी पहाड खन्दा भूक्षयको जोखिम पनि देखियो । स्वास्थ, शिक्षा, सञ्चार, बिजुली र वित्तीय संस्थाको पनि ठूलो समस्या देखियो । जसका कारण उद्योग, ब्यापार, ब्यवसाय नहुँदा बेरोजगारीका कारण पहाडका अधिकांश युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भएको पाइयो ।

विविध

–युद्धकालमा ध्वस्त भएका सम्पदाहरूको शीघ्र पुनर्निर्माण गर्नुपर्ने ।

–पूर्वी रुकुमको सदरमुकाम विवाद तुरून्त समाधान गर्नुपर्ने ।

–गोरखा र धादिङबीचमा निर्माण हुनलागेको बुढीगण्डकी आयोजनाबाट डुवानमा पर्नेहरूलाई सुरक्षित र ब्यबस्थित स्थानमा स्थानान्तरण गर्न थप पहल गर्नुपर्ने ।

–विभिन्न नदीहरूबाट अनियंत्रित ढंगले ढुङ्गा, बालुवा निकाल्ने, जथाभावी क्रसर सन्चालन गरि वातावरणीय प्रदुषण गर्ने काम तुरुन्त रोक्नुपर्ने ।

अन्त्यमा

जनता विकास चाहन्छन् । समृद्धि चाहन्छ । परिवर्तन चाहान्छ । विकास, समृद्धि र परिवर्तन पूराका पूरा सम्भव छ । तर, त्यसका निम्ति दलीय स्वार्थको सीमित घेराबाट सबै दलका नेताहरू बाहिर आउन जरुरी छ ।

निश्चय नै दलीय प्रतिस्पर्धा हुनुपर्छ । तर, विकास र समृद्धिजस्तो राष्ट्रिय मुद्दामा सबै दलको आ–आफ्नो दलीय मार्गचित्रभन्दा एउटा साझा राष्ट्रिय मार्गचित्र हुनुपर्छ । यसका लागि आजैदेखि गम्भीर विमर्शमा लागौं ।

समस्याको चुरो पत्ता नलगाएसम्म सही समाधान दिन सकिँदैन । नेताहरू एकाङ्गी भएर समस्याको समाधान हुँदैन । आजको आवश्यकता भनेको नेताहरूको संकीर्ण सोच र शैलीमा आमूल परिवर्तन हो ।

नेताहरू विचारको बन्दी बन्ने, व्यवहारमा पानी बाराबार गर्ने, एकदमै खुद्रे र स्थानीय चिन्तन राख्ने कमजोरीबाट अब सबै नेताहरू माथि उठ्नुपर्छ ।

नेताहरूले साँच्चै आफूलाई रूपान्तरण गर्लान् ? जनताको धैर्यताको बाँध अझै टुटिसकेको छैन । जनता अझै प्रतीक्षामा छन् ।

(लेखक नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment