Comments Add Comment

सिके राउतसँगको सम्झौता सच्याउन भीम रावलको माग

२६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौता प्रष्ट पार्न सरकारले अर्को वक्तव्य जारी गर्नुपर्ने बताएका छन् ।

सम्झौतामा भएका कतिपय विषय संविधान विपरीत र अष्पस्ट भएको भन्दै उनले सरकारले अर्को वक्तव्य जारी गरेर सच्याउन र प्रष्ट पार्न आग्रह गरेका हुन् ।

‘नेपाल सरकारलाई म के सुझाव दिन चाहन्छु भने यसमा भएको त्रुटी सच्याइयोस् र एउटा वक्तव्य जारी गरेर नेपाल राष्ट्रको स्वाधीनता र अखण्डताका विरुद्धमा उहाँले (सिके राउत) आजसम्म भनेका कुराहरु फिर्ता गरिएको छ र चन्द्रप्रकाश राउतजीले अब रुप्रान्त नेपालको संविधानलाई आत्मसात गरेर नेपाल राष्ट्रको स्वाधीनता अखण्डता अनुरुप शान्तिपूर्ण प्रतिस्पर्धामा जान पूरा तयार छु भनेर वक्तव्य दिनुपर्छ’ रावलले भने ।

सिके राउतले विगतमा राष्ट्रहित प्रतिकुल गतिविधि गरेकोप्रति माफी नमागेको र ती शब्दहरु फिर्ता पनि नलिएको रावलले बताए । नेपालको संविधानको धारा ५ उपधारा २ मा राष्ट्रहित प्रतिकुलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुने लेखिएकाले सिके राउतले विगतमा गरेका कामलाई छुट दिन नमिल्ने उनको भनाइ छ ।

‘सिके राउतजीले नेपालको राष्ट्रिय एकता र अखण्डताको विरुद्धमा उहाँले सकेसम्म विष वमन गर्नुभएको छ तर दुखका साथ भन्नुपर्छ उहाँले न राष्ट्रियसभाको बैठकमा न उहाँले आफ्ना सहमतिमा कतै पनि आफूले विगतमा राष्ट्रका विरुद्धमा ओकलेका विषहरु फिर्ता लिएँ भन्ने शब्द प्रयोग गर्नुभएको छैन’ उनले भने ।

सम्झौतामा नेपाल देशभित्र बसोबास गर्न दिइनेछ भन्ने आपत्तिजनक कुरा परेको पनि रावलले बताए । नेपालको संविधानले स्वायत्ताको कुरा गरे पनि स्वशासनको परिकल्पना नगरेको बताए ।

‘कुनै पनि देशले मेरो यो भूभाग राख्ने कि नराख्ने भनेर जनमत संग्रह गर्ने कुरा अत्यन्त आपत्तिजनक हुन्छ । सिके राउत र उहाँका समर्थकले जनअभिमत भनेको जनमत संग्रह नै हो भनेर बारम्बार भन्नुभएको छ । त्यसकारण सम्पूर्ण कुरालाई संविधान अनुकुल सच्याइयोस् र नेपाली जनतामा रहेको भ्रम हटाइयोस्’ रावलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment