Comments Add Comment

बुटिक एयरपोर्ट अलपत्र, को बन्ला पर्यटन मन्त्री ?

भैरहवा विमानस्थल विदेशीलाई लिजमा दिने तयारी

२७ फागुन, काठमाडौं । सरकारले वैशाख १ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ बनाउने घोषणा गरेको थियो । पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधनसँगै ‘बुटिक एयरपोर्ट’ को सरकारी योजनासमेत मुर्झाएको छ ।

वैशाख १ आउन दुई महिना पनि बाँकी नरहँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा यसका लागि विभिन्न कामहरु टेन्डर नगरी सीधै गराउने गरी प्रस्तावसमेत लगेको थियो । तर, रविन्द्र अधिकारीले लगेको त्यो प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेर फिर्ता पठाउनुका साथै पर्यटन सचिवलाई नै सरुवा गरिदिएका थिए । क्याबिनेटले आफ्नो प्रस्ताव अस्वीकृत गरेको अर्को साता नै हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको निधन भयो ।

मन्त्री अधिकारीले लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गर्नु, सोही बाहनामा पर्यटन सचिवलाई सरुवा गरिनु र अन्ततः मन्त्री अधिकारीकै निधन हुनुले बैशाख १ नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट घोषणा गर्ने विषय अन्योलमा परेको पर्यटन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

स्रोतका अनुसार पर्यटन मन्त्री अधिकारी झण्डै साढे ७ करोड बराबरको काम टेन्डर नगरी सोझो खरिद गर्न प्रस्ताव गरेका थिए । मन्त्रालयले वैशाख १ अघि गर्नुपर्ने आधारभूत कामका लागि अर्थ मन्त्रालयबाट सहमति लिएर मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । यसअन्तरगत विभिन्न मूर्तिहरु खरीद गर्ने लगायतका प्रस्तावहरु थिए ।

अर्थ मन्त्रालयले बुटिक एयरपोर्टको लागि प्रस्तावित बजेट दिन सहमति जनाए पनि मन्त्रिपरिषद बैठकले त्यसलाई अस्वीकृत गरेको हो । पर्यटन मन्त्रालयले बुटिक एयरपोर्टका लागि करिब ४५ करोड खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । तर, पहिलो चरणमा न्युनतम् तवरका काम गर्न साढे ७ करोड खर्च गर्ने गरी सोझो खरिदको प्रस्ताव गरिएको थियो ।

आगमनर्फको लिफ्टसँगकै खाली सटरहलाई व्यवस्थित गरेर विभिन्न देवी देवताका मूर्ति राख्न पनि प्रस्ताव गरिएको छ । त्यसमा यसमा नटराज लगायतका मूर्ति राख्ने योजना बनेको छ । मूर्ति खरीदका लागि निकै ठूलो रकम लाग्न सक्ने मन्त्रालयको अनुमान छ ।

‘अरु काम नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिक बजेटमै पारेर विस्तारै गर्ने योजना हो, अहिले तत्काल बुटिक एयरपोर्टका लागि गर्नैपर्ने काम टेन्डर गर्न नभ्याइने भएपछि मन्त्रिपरिषदमा लगेका थियौं,’ पर्यटन मन्त्रालय स्रोतले भन्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार वैशाख १ अघि नै विमानस्थलको टर्मिनल भवनमा रंगरोगनको काम गर्न प्रस्ताव गरिएको छ । विमानस्थल बनेदेखि हालसम्म पनि टर्मिनल भवनको इँटामा सिलिकन कलर पोत्ने काम भएको छैन । रंगरोगन गरेर विमानस्थल चम्काउने योजना छ ।

यस्तै विमानस्थलका विभिन्न भागमा बगैँचा बनाएर फूलहरु रोप्ने कामको लागि पनि प्रस्ताव मन्त्रिपरिषद गएको थियो । हालको बगैँचालाई सुधार गर्ने र नयाँ बगैँचा निर्माण गरी सुन्दर किसिमका फूलहरु रोप्ने काम पनि ततकालै गर्ने योजना विमानस्थलको छ ।

यस्तै विमानस्थलको भित्री भागमा ‘बुटिक’ थिममा इन्टरेरियर डिजाइन गर्नका लागि दुईजना विज्ञ दुई महिनाका लागि नियुक्त गर्ने र उनीहरुले गर्ने सिफारिसका आधारमा काम गर्ने प्रस्ताव पनि मन्त्रिपरिषदमा पुगेको थियो ।

यस्तै विमानस्थलको टर्मिनल भवनको ‘थिम’ सँग मिल्ने गरी अव्यवस्थित तारहरुलाई प्लास्टिकको पाइपबाट हटाएर काठले छोप्ने योजना पनि छ । तारहरुलाई काठले छोप्दा भवनका भित्ताहरु कुरुप पनि नदेखिने र बुटिक थिम पनि आउने दाबी विमानस्थलको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्री प्रधानमन्त्रीको निर्देशनअनुसार सकेसम्म बैशाख १ मै बुटिक एयरपोर्ट घोषणा हुने बताउँछन् । उनले विमानस्थलललाई व्यवस्थित गर्न विभिन्न काम भइरहेको बताउँदै थप काम सरकारबाट बजेट र स्वीकृति प्राप्त हुनासाथै अघि बढ्ने बताए ।

प्रधानमन्त्री ओलीले डाबोस बैठकमा भाग लिन गएका बेला स्वीटजरल्याण्डमा नेपाली दूताबासले आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्ने क्रममा नेपाली हवाइ आकाश भारतको भन्दा सुरक्षित रहेको र बैशाख १ देखि त्रिभुवन विमानस्थल ‘बुटिक’ बन्ने बताएका थिए ।

भैरहवा विमानस्थल लिजमा दिने तयारी

यसैवीच भैरहवामा बनिरहेको गौतमवुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई लिजमा दिने सरकारले तयारी गरिरहेको छ ।

विमानस्थलको ह्याण्डिलिङको जिम्मा जर्मनीको म्युनिख एयरपोर्टको व्यवस्थापकलाई दिने तयारी यसअघि पर्यटन मन्त्रालयले गरिरहेको मन्त्रालय स्रोतको भनाइ छ । यसका लागि कुरा गर्न पाथीभराबाट फर्केपछि तत्कालीन मन्त्री रविन्द्र अधिकारी जर्मनी जाने तयारी थियो ।

विमानस्थल लिजमा दिने सैद्धान्तिक सहमतिका लागि मन्त्री अधिकारीले नै क्याबिनेटमा प्रस्ताव लगिसकेका थिए ।

को आउला नयाँ पर्यटनमन्त्री ?

यसैवीच देशको पर्यटन मन्त्रालय नेतृत्वविहीन बनेको १५ दिन पुग्न लागेको छ । गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परी मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि मन्त्रालय नेतृत्वविहीन बनेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म नयाँ पर्यटनमन्त्री नियुक्त गर्ने सुरसार गरेका छैनन् ।

यसअघि, सञ्चारमन्त्री गोकुल बास्कोटालाई पर्यटन मन्त्रालयमा सार्ने र योगेश भट्टराईलाई सञ्चार मनत्रालयमा लैजाने चर्चा पनि नेकपाभित्र चलेको थियो । तर, अहिलेसम्म सरकारले कुनै निर्णय लिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment