Comments Add Comment

पीएसएलमा सन्दीप : अन्तिम दुई खेलमा फिक्का तर, समग्रमा सफल

२७ फागुन, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) मा नेपालका बलर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सको यात्रा दयनीय रुपमा टुंगिएको छ ।

सोमबार भएको अन्तिम खेलमा मुल्तान सुल्तानबाट सात विकेटको फराकिलो हारसँगै लाहोर अंकतालिकाको पुछारमा रह्यो ।

पहिलो ब्याटिङ गर्दै लाहोरले एक सय ४० रनको सामान्य स्कोर खडा गरेको थियो । मुल्तानले विष्फोटक ब्याटिङ गर्दै १२.३ ओभरमै लक्ष्य हासिल गर्‍यो । अन्तिम खेलमा सन्दीपको व्यक्तिगत प्रदर्शन पनि उल्लेखनीय रहन सकेन । उनले २.४ ओभर बलिङ गर्दा २८ रन खर्चिए तर कुनै विकेट लिन सकेनन् । अघिल्लो म्याचमा पनि उनी विकेटविहीन रहेका थिए ।

समग्रतामा हेर्दा भने यस प्रतियोगितामा पनि सन्दीपले आफ्नो छाप छोड्न सफल भएका छन् । लाहोरले खेलेका १० वटा म्याचमध्ये ७ वटामा सन्दीपले प्रतिस्पर्धा गरेका थिए । नेपालको राष्ट्रिय टिमबाट युएईविरुद्ध खेल्ने क्रममा उनले पीसीएलका तीन म्याच गुमाएका थिए । सात म्याचमा सन्दीपले ११ विकेट लिएका छन् । आफ्नो टिमबाट सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् उनी । साथै प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरहरुको सुचीमा पनि उनी टप ५ मा अटाएका छन् । यस्तै प्रतियोगितामा बढिमा सात वटा म्याच खेल्ने बलरहरुमध्ये पनि सन्दीप अग्रस्थानमा छन् ।

सन्दीपको आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन पीसीएलमा क्वेटा ग्लाडियटर्सविरुद्ध गरे । यो म्याचमा उनले सनसनीपूर्ण बलिङ गर्दै केवल १० रन खर्चिएर चार विकेट लिए । यस क्रममा उनले सेन वाट्सन, उमर अकमल, रिली रोसोउ जस्ता अग्रपंतिका ब्याट्सम्यानलाई शिकार बनाएका थिए । उनको यो बलिङलाई पीसीएलको जारी संस्करणमा दोस्रो उत्कृष्ट मानिएको छ । यो बलिङका लागि सन्दीप म्यान अफ द म्याच चुनिए ।

त्यसो त यही प्रतियोगितामा सन्दीपले आफ्नो करिअरको सबैभन्दा खराब बलिङ पनि गरे । खासमा पीसीएलमा खेलेको पहिलो म्याचमा उनी फ्लप भएका थिए । सो म्याचमा आजकै प्रतिद्वन्द्वी मुल्तान सुल्तानले उनको चार ओभर बलिङमा विना विकेट क्षति ४६ रन बटुलेको थियो । सन्दीपको करिअरमै यो सबैभन्दा महंगो स्पेल हो । तर, दोस्रो म्याचमा सन्दीपले आफ्नो फर्म भेट्टाए । क्वेटा ग्लाडियटर्सविरुद्ध उनले २० रन मात्र खर्चेर एक विकेट लिन सफल भए ।

हाल टि–२० को अन्तर्राष्ट्रिय वरियतामा नम्बर एक र दुईमा रहेका ब्याट्सम्यान बबर आजम र कोलिन मुनरोलाई पनि पीसीएलमा सन्दीपले आफ्नो शिकार बनाएका छन् । कराति किङ्सविरुद्धको खेलमा उनले दुवै ब्याट्सम्यानलाई जालमा पारेका थिए । स्पिन बलरलाई निकै राम्रो खेल्ने पाकिस्तानका बबर आजम सन्दीपको बलमा बुझ्न नसकि बोल्ड भएका थिए । सन्दीपको बबरको विकेट आफ्नो लागि विशेष भएको बताएका छन् ।

पाकिस्तानका नम्बर १ टेस्ट बलर मानिने स्पिनर यासिर शाह पनि सन्दीपको टिममा थिए । तर, प्रतियोगितामा सन्दीपले उनलाई निकै पछाडि छोडेका छन् । पाँच विकेट लिएका यासिरले केवल ३ विकेट झार्न सफल भएका थिए ।

सन्दीप भोलि नेपाल फर्किँदैछन् । यसपछि उनी आईपीएलको तयारीमा लाग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment