Comments Add Comment

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

२८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भएको छ । प्रचण्डकाअनुसार मंगलबार विहान प्रधानमन्त्री ओलीसँग कुराकानी भएको थियो ।

‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही हेरफेर हुनसक्छ । तर, अहिले हतारो छैन’ विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भनेका छन् ।

तपाईले के सल्लाह दिनुभयो भन्ने प्रश्नमा उनले भने, ‘मैले यो तपाईंको मूल्यांकनमा भर पर्ने कुरा हो, र अधिकार क्षेत्र पनि तपाईकै हो भनेको छु । तपाई नै निर्णय गर्नुस् भनेको छु । ’

एक बर्षको अवधीमा अपेक्षा अनुसार काम गर्न नसके पनि पूर्वाधारका क्षेत्रमा भने काम भएको प्रचण्डले बताए । कानुन निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलन ल्याउन र सामाजिक सुरक्षाका कार्यक्रम लागु गर्न सरकार सफल भएको उनको भनाइ छ ।

धेरै नबोल्दा राम्रो

नेकपा अध्यक्ष प्रचण्डले सिके राउत समूहसँग सरकारले गरेको सहमतिमा आफ्नो समर्थन रहेको बताए । सरकार र पार्टीको अहिलेको ध्यान पृथकतावादी आन्दोलन लागेका मानिसहरुलाई राष्ट्रिय एकताको मुल धारमा ल्याउने र संविधानको स्वीकार्यता बढाउने भएको भन्दै उनले पार्टीका नेताहरुले यसबारे बाहिर धेरै नबोल्दा राम्रो हुने बताए ।

सिके राउत समूहलाई आफ्नो कार्यकर्तालाई सम्झाउन केही समय लागेको हुनसक्ने भन्दै सहमति कार्यान्वयनबारे हतार गर्न जरुरी नभएको बताए । उनले भने ‘ सायद उहाँहरुलाई आफ्ना कार्यकर्तालाई सम्झाउने वातावरण पनि चाहिएको होला ।’

राउत समूहका उपसंयोजकले सम्झौताप्रति प्रतिवद्ध रहेको भनी विज्ञप्ति प्रकाशित गरेको बताउदै प्रचण्डले हतार गर्नुपर्ने अवस्था नरहेको बताए । सरकार र पार्टीको ध्यान पृथकतावादमा लागेका व्यक्तिलाई मूलधारमा ल्याउदै राष्ट्रिय एकता मजबुत बनाउनेतिर रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment