Comments Add Comment

सीएमसीका कारण मेलम्ची आयोजनाका मजदुर र स्थानीय ठेकेदारको बिचल्ली

डेढ अर्ब भुक्तानी पाउन बाँकी रहेको स्थानीय ठेकेदारको दावी

२८ फागुन, हेलम्बु (सिन्धुपाल्चाोक) । मेलम्ची खानेपानी आयोजनाको निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी (सीएमसी) ले बिचमा नै हात झिकेपछि स्थानीय निर्माण व्यवसायीहरुको करोडौ रुपियाँ जोखिममा परेको छ । उनीहरुले आफ्नो पैसा डुब्न लागेको भन्दै सरकारसँग हारगुहार गरेका छन् ।

राष्ट्रिय प्राथमिकता प्राप्त मेलम्ची आयोजनाको काम नसकी सीएमसीले हात झिकेको थियो । ठेकेदार कम्पनीले पछि हटेपछि आयोजना नै अन्योलमा परिरहेको छ ।

मेलम्ची बजार क्षेत्रबाट मोबाइलको रिचार्जदेखि औषधीसमेत सीएमसीका व्यक्तिहरुले उधारोमा खरिद गरेको व्यवसायीले बताएका छन् । सीएमसीले निर्माण सामग्रीलगायत अन्य आवश्यक वस्तुहरु ढुवानी र सप्लाईको जिम्मा स्थानीयलाई दिएको ढुवानीकर्ता उत्तरकुमार श्रेष्ठले जानकारी दिए । गिट्टी, बालुवा, सिमेन्ट, रड, रिचार्ज कार्ड लगायतका सामग्री स्थानीय सप्लार्यसहरुबाट लगेबापत सीएमसीले १६ करोड ५० लाख ३८ हजार ५ सय ५९ रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उनको भनाई छ ।

स्थानीय ठेकेदारहरुले आयोजना स्थलमा पत्रकार सम्मेलन गरेर आफुहरुको करोडौ रुपैयाँ जोखिममा पर्दा पनि मेलम्ची खानेपानी आयोजनाले कुनै चासो नदिएको गुनासो गरेका छन् । उक्त रकम उठाउन नसके आफूहरुको परिवारको विचल्ली हुने उनीहरुले बताए ।

‘बैंकबाट ब्याजमा ऋण लिएर भनेर लगानी गरियो, नाफा होइन साँवा पनि डुब्न लाग्यो,’ श्रेष्ठले भने । मेलम्ची आयोजनाले नै भुक्तानी जसरी पनि गराइदिने भन्दै काम गराएको उनी बताउँछन् ।

आफुहरुले प्रधानमन्त्री, खानेपानी मन्त्री लगायत सम्बन्धित निकायमा गएर ज्ञापनपत्र बुझाए पनि कुनै चासो नदिइएको गिट्टी–बालुवा ढुवानीकर्ता किरण थापाले गुनासो गरे ।

सुरुमा चिनियाँ रेल वे कम्पनीले आयोजनाको जिम्मा लिएको थियो । सो कम्पनीले छाडेपछि इटालीयन कम्पनीले पाएको हो । तर, गत पुस २ गते इटालीयन ठेकेदार कम्पनीले हात झिकेको थियो ।

सीएमसीले मेलम्ची क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न क्रसर उद्योगहरुबाट गिट्टी, बालुवा लगायतका सामग्री ढुवानीकर्ताहरुलाई १० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको बाहुनीपाटी निर्माण सेवाका गंगालाल श्रेष्ठले जानकारी दिए । मेलम्ची र हेलम्बु क्षेत्रका स्थानीय ठेकेदारहरुलाई सामग्री ढुवानीका लागि सीएमसीले सम्झौता गरेको थियो । आफुहरु अब रकम भुक्तानी हुने सुनिश्चतताको लागि आन्दोलनमा जान बाध्य भएको स्थानीय ठेकेदार उत्तरकुमार श्रेष्ठले बताए ।

अन्य ठेकेदारलाई डेढ अर्ब बाँकी

सीएमसीले स्थानीय ठेकेदारलाई मात्रै होइन आयोजनालाई आवश्यक तेल, यातायातका साधनलगायत ल्याएबापत १ अर्ब ५० करोड भुक्तानी गर्न बाँकी रहेको तेल आपूर्तिकर्ता विष्णुमणि आचार्यले बताए । नाकाबन्दीपछि आफुले दैनिक एक ट्याङ्कर तेल ढुवानी गर्ने गरेको र ठेकेदार कम्पनीसँग १६ करोड भुक्तानी लिन बाँकी रहेको उनको भनाइ छ ।

‘पहिला आयोजना नै जिम्मेवारी भएर ढुवानी गर्न भन्यो, अहिले पन्छिन खोजिरहेको छ,’ आचार्यले भने ।

आफुहरुको लगानीको सुनिश्चितता नहुदासम्म अब आउने नयाँ ठेकेदारहरुलाई काम गर्न नदिने आचार्यले बताए ।

‘हामी नयाँ ठेकेदार छिटो आएर काम गर्नुपर्छ भन्ने मान्यतामा अडिग छौ तर हाम्रो रकम पहिले दिनुपर्छ,’ उनले भने ।

बिरा मोटर्स, हर्सना इन्टरनेसनल लगायतका राष्ट्रिय ठेकेदार एवम् सप्लायर्सहरुलाई पनि करोडौ भुक्तानी गर्न बाँकी रहेको आचार्यले जानकारी दिए ।

रकम पाउने सुनिश्चत नभएपछि स्थानीयस्तर र राष्ट्रियस्तरमा समेत संघर्ष मिति गठन गरेर आफुहरु आन्दोलनमा उत्रिएको उनले बताए ।

८ सय मजदुरको बिचल्ली

मेलम्ची खानेपानी आयोजनाको ड्याम क्षेत्र, सुरुङ मार्गलगायत अन्य क्षेत्रमा काम गर्ने ८ सयभन्दा बढी मजदुरहरुले पाँच महिनादेखि तलब नपाएपछि अहिले बिचल्लीमा परेका छन् । आयोजनाको ड्याम क्षेत्रमा भेटिएका मजदुर देवप्रसाद दुलालले भने, ‘हामी यस्तो भिर–पहरोभित्र छिरेर काम ग¥यौं, तर साढे ५ महिनादेखि काम गरेका पैसा नै पाइएन ।’

आयोजनामा आफुहरुको समस्या लिएर जाँदा ठेकेदारसँग माग्नुहोस भनेर फर्काएको उनी बताउँछन् ।

‘अब ठेकेदारलाई कता भेट्नु र पैसा माग्नु ?’ दुलालले भने, ‘हाम्रा सयौं साथीहरु रुँदै रुँदै घर गए । हाम्रो दुःख कसले बुझिदेला ।’

मेलम्ची आयोजनाका मजदुरले मासिक १४ हजारदेखि ३० हजारसम्म मासिक तलब पाउँथे । मजदुर र कर्मचारीको सहित ठेकेदार कम्पनीले ९ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

सुनसान आयोजनास्थल, अलपत्र निर्माण सामग्री

सयौं मजुदरहरु काम गर्ने आयोजनाको सुरुङ मार्ग, अडिट मार्ग, ड्याम क्षेत्र लगायतका संरचनाहरुमा यतिबेला सुनसान छ । मेलम्ची खोला सुसाएको बाहेक अन्य आवाज त्यहाँ सुनिदैन । केही सुरक्षा गार्डहरु आयोजनास्थल आसपासमा देखिन्छन् ।

आयोजनास्थलमा अहिले पनि निर्माणाधिन संरचनाहरु अलपत्र छन् भने करोडौको सामग्रीहरु असरल्ल छन् । स्काभेटर र गाडीहरु आयोजना स्थलको आसपासमा यत्रतत्र देख्न सकिन्छ । केही मजदुरहरुले आयोजनास्थलमा भएका विभिन्न सामग्रीहरु बिक्री गरेपछि त्यसमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment