Comments Add Comment

सरकारले विप्लव समूहमाथि हतारमा प्रतिबन्ध लगायो : देवेन्द्र पौडेल

२९ फागुन, काठमाडाैं । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् । यद्यपि यसबारे पार्टीमा छलफल हुन बाँकी रहेको बताए ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले अधिकतम लचिलो भएर वार्तामा ल्याउन पहल गर्नुपर्ने बताए । ‘पार्टीमा छलफल हुन बाँकी छ । मेरा कुराहरु पार्टीमा राख्छु तर म यति भन्न चाहन्छु कि कुनै पनि पक्षलाई धकेल्ने, निशेध गर्ने र बाध्यात्मक बाटो लिन बाध्य पार्ने काम राज्यले गर्नु हुँदैन ।’

विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने उनले बताए ।

वार्ताका लागि प्रयास गर्दागर्दै पनि नभएमा मात्र सरकारले यस्तो कदम चाल्नुपर्ने उनको धारणा छ । राज्यले नियन्त्रण गर्नै नसक्ने घटनाहरु नघटेको दाबी गर्दैै नेकपा नेता पौडेलले भने, ‘छिटपुट घटनाहरु घटेका छन्, यसबारेमा छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ ।’

अझै पनि सरकारले बार्ताको ढोका बन्द नगरेको उनले जिकिर गरे । उनले भने,’विप्लव समूहलाई म विद्रोह समूह त भन्दिन्, उहाँहरुले संयमतापूर्वक आफ्ना कुराहरु राख्नुपर्छ । यसको लागि बढी पहलकदमी राज्यले लिनुपर्छ । राज्यले समस्या सुल्झाउनेभन्दा धकेल्नेतिर जानुहुँदैन ।’

वार्ता, सहमति र सम्वादको प्रक्रियाबाट उहाँहरु टेबुलमा आउनुपर्छ । एकपटक अवसर दिनुपर्छ । हतारमा निर्णय गर्नुभन्दा समस्यालाई गाँठो फुकाउनेगरि निर्णय गर्नुपर्छ ।’ उनले भने,’जेसुकै भएपनि शान्ति र समृद्धिको बाटोमा बढ्नुछ । आवश्यक पर्यो भने संविधान संशोधन गर्न पनि सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment