Comments Add Comment

एउटा निर्देशकको वकपत्रः फिलिम कसरी बन्छ ?

फिल्म कसरी बन्छ ? यो उत्सुकताले मलाई बेलाबेला उक्साइरहन्थ्यो । रंग पत्रकारिता गर्ने सुषुप्त आकंक्षा पनि संभवत फिल्ममेकर बन्ने ध्येयबाटै प्रकट भएको हुँदो हो । तर, फिल्म बनाउँछु भन्ने हिम्मत गर्न लामो समय लाग्यो ।

सन्तोष राई, जोसँग म पत्रकारिताबाटै जोडिए । एकपटक अनायसै उनले मेरो मनको कुरा भनिदिए, ‘फिल्म बनाउने हो ?’

मैले केही सोच्दै नसोची ‘हो’ उत्तर दिएँ । सन्तोष पत्रकारितासँगै श्रव्यदृश्य माध्याममा भिज्दै थिए । पूर्व धरान सेरोफेरोमा रहेर धमाधम म्युजिक भिडियो बनाउँदै थिए । त्यसपटक पनि म्युजिक भिडियोको कच्चा सामाग्री बोकेर काठमाडौं आएका थिए, सम्पादनका लागि ।

केही फिल्ममा साहयक निर्देशक भएको बाहेक मसँग अरु अनुभव थिएन । मैले फ्याट्ट निर्णय लिएँ, फिल्म निर्देशन गर्ने ।

फिल्म त बनाउने तर कसरी ? लगानी कसले गर्ने ? कहाँबाट जुटाउने ? कथा के बनाउने ? मेरा यावत् प्रश्नहरुको रेडिमेड उत्तर सन्तोषजीसँग थियो । उनले निर्धक्क भने, ‘तपाईं तयार हुनुहोस्, सबैकुरा म मिलाउँछु ।’ उनको संकेत फिल्मको लगानीतर्फ थियो । तर, उनी यतिमै रोकिएनन् । उनले अर्को कुरा पनि थपे, ‘फिल्मको कथा पनि मसँग छ ।’

यसरी हामी फिल्म बनाउने टुंगोमा पुग्यौं ।

फिल्म बनाउनु कुनै बच्चाको खेल थिएन । फिल्म बनाइरहँदा मैले धेरै नयाँ कुराहरु अनुभव र अनुभूत गरें । वास्तवमा यो फिल्म निर्माण मेरो लागि एक प्रयोगात्मक कक्षा जस्तै भइदियो ।

करिव दुई वर्षअघि राजधानीलाई छोडेर पूर्व लेटाङ गएँ । दिनभर लेटाङ बसाई अनि बेलुकी भने पथरी झर्ने । खासमा हामी यतिबेला फिल्मको कथा र परिवेश खोजिरहेका हुन्थ्यौं । लेटाङ हाम्रो फिल्मको सेट । त्यहाँको परिवेश नियाल्दै, त्यहाँको रहनसहन, शैली टिपोट गर्दै हामी गुरिल्ला शैलीमा फिल्म मेकिङमा होमियौं ।

काठमाडौं चिसो कोठामा स्क्रिप्ट

काठमाण्डौको चिसो कोठामा अब पटकथा लेखनी सुरु भयो । पुर्वेली लवज र पुर्वेली संस्कृतिबारे स्क्रिप्ट लेखक पाउन गाह्रो । त्यसमाथी युवापुस्ताको भावभंगिमा चाहिएको थियो हामीलाई ।

आफूलाई निर्देशक बन्नुपर्ने हुटहुटी पनि उत्तिकै थियो । दुखसुख लेखिरहें । पुष माघको महिना । हिटर ताप्दै र ज्यानलाई थोरै झोल पदार्थले न्यानो बनाउँदै स्क्रिप्ट लेखियो ।

लगभग ६ महिना लाग्यो स्क्रिप्ट को काममा मात्र । यसबीचमा सन्तोषजी र मेरो बारम्बार छलफल हुन्थ्यो । राती भिडियो कल गरेर पनि स्क्रिप्टको काम साझेदार गथ्र्यौं । अन्ततः हामीले सोचे अनुसारको कागजी रुपरेखा तयार भयो ।

लगानीको पिरलो

स्क्रिप्टको खाका बोकेर म पूर्व हान्निए, नाइटबसमा । साथमा ल्यापटप थियो । पथरी पुगेपछि हामी लगानीकर्तासँग जमघट गर्ने निधोमा पुग्यौं । केही लगानीका लागि इच्छुक भएका थिए, जसलाई भेट्न सन्तोषजी र म मनोहर पार्कमा लाग्यौं । मैलें स्क्रिप्ट सुनाएँ । स्क्रिप्ट सुनाइसकेपछि उनीहरुको प्रतिक्रिया के होला भनेर म सुन्न हतारिएँ ।

तर, मेरो अपेक्षा विपरित एक संभावित निर्माता कड्किए, ‘यस्तो पनि स्क्रिप्ट ? मलाई त केहीपनि छोएन ।’

मेरो मुटुको चाप बढ्यो । म झसंग भएँ । उनी उठेर त्यहाँबाट आफ्नो बाटो लागे । अन्य निर्माताहरुले पनि आ-आफ्नो सुझाव दिए, जसलाई मैले विनम्रतापूर्वक नोट गरें । पुर्नलेखनका लागि म पुन काठमाडौं फर्किएँ ।

लेख्दै-मेट्दै

भीषण राई

यता राजधानी आइसकेपछि सन्तोषजी र म निरन्तर स्क्रिप्टका सवै प्लटलाई चेन्ज गर्दै नयाँ तरिकाले सोच्न थाल्यौं । दुवैको सल्लाह बमोजीम स्क्रिप्ट अघि बढ्दै गयो । डायलगका कुरामा पनि हाम्रो घण्टौं कुरा हुन्थ्यो । क्लाइमेक्स कस्तो बनाउने आदि आदि ।

महिना दिनमा हामीले पुर्नलेखन सकायौं । मैले निर्माताहरुलाई फेरि स्क्रिप्ट सुनाउन थाले । एक संभावित निर्माता कालो चस्मा लगाउनुभएको थियो । स्क्रिप्ट सकाएपछि उहाँले चस्मा खोल्नुभयो र आँशु पुछ्नुभयो । भन्नुभयो, ‘कसम, आँशु आयो ।’  त्यसपछि उहाँले सन्तुष्ट मुडमा वियर अर्डर गर्नुभयो ।

निर्माताहरु अशोक कुमार राई, टिकाराम राई, विरेन सांवा र दिपेन लिम्वु संगै सन्तोषजी र म थियौं । सामुहिक छलफल हुथ्यो । चलचित्रको पहिलो नाम ‘गाउँको हिरो’ थियो । अधिकांषले नाम मन पराएनन् ।

क्याच्ची हुनुपर्यो भन्ने खालका कुराहरु आए । हाम्रो चलचित्रको मुख्य पात्रले संधै चढ्ने बुलेट बाइक थियो । प्रस्ताव आयो हरियो बुलेट । यसमा पनि अधिकांषको चित्त बुझेन । रातो बुलेट नाम पनि प्रस्ताव आयो । यसमा पनि कसैको चित्त बुझ्ने । अन्त्यमाहाम्रो पात्रले चढ्ने बुलेट खटेरा खालको थियो अर्थात पुरानो । त्यसलाईनै परिमार्जनगरी पुरानो बुलेट नाम फाइनल भयो ।

बनाउनुअघिको झै-झमेला

कथा तयार भयो । पैसा पनि तयार । अब भने फिल्म बनाउन कम्पनी दर्ता गर्नु पर्ने पालो आयो । सन्तोषजी पथरीबाट काठमाण्डौ आउनुभयो । सन्तोषजी र म कम्पनी दर्ता गर्न कोटेश्वर देखी अनामनगर दौडधुप सुरु भयो । नभन्दै कम्पनी दर्ता भयो । कम्पनी दर्ता गर्न एक महिना लाग्यो ।

चलचित्र दर्ता गर्न विकास बोर्ड जानु छँदै थियो यता कलाकार खोज्न कम सकस थिएन । सुरु सुरुमा नयाँ निर्देशक नयाँ कम्पनीसँग काम गर्न कलाकारहरु हच्किने रहेछन् -नयाँ बाहेक)। गर्न गाह्रो मान्ने । फोन नउठाउने । म्यासेज गर्यो ढिलो रिप्लाई । कसै कसै त रिप्लाई पनि नगर्ने ।

विभिन्न ठाउँमा बोलाउने । कफी र खाजाको पैसा तिराउने । यस्तै यस्तै भए । उनीहरुमा फिल्म बिचमै  रोकिने पो हो की, पाउनुपर्ने पारिश्रमिक नपाउने पो हो की ? आफ्नो करिअरनै सक्किने पो हो की ? आदि ।

पुरानो बुलेट चलचित्रको मुख्य कलाकार अनुप विक्रम शाहीले हालै एउटा अन्तवार्तामानै भने-‘मैले यदि यो फिल्म नगरेको भए ठुलो ग्लानी हुनेथियो ।’

अन्य कलाकारहरु वर्षा शिवाकोटी, माला लिम्वु, कविता आले, कृष्णभक्त महर्जन, शिव मुखिया, वारात लिम्वु आदि कलाकार फाइनल गरियो ।

अनि फ्लोरमा पुगियो

असार १७ गतेबाट कमलादी स्थीत गणेश मन्दिरमा पहिलो टेक लिएर हाम्रो पुरानो बुलेट चलचित्रको पहिलो छायांकन सुरु भएको थियो । केही दिन राजधानीको सेडुल सकेर लेटाङ पुग्यौं । करिव एक महिनाको बसाईमा निकैनै सिक्ने सिकाउने, एकअर्कालाई बुझ्ने कामहरु भए । कामहरु राम्रै भए ।

मुख्य त त्यो बेलाको गर्मी र घरी घरीको वर्षा झरीले भने दिक्क दिन्थ्यो । सन्तोषजी र ममा पूर्ण विश्वास थियो । हाम्रो काम रोकिएको थिएन । हामी यस्तो साना तिना कुराबाट भाग्नेवालामा थिएनौं । प्रोजेक्ट ड्रप गर्ने पक्षमा थिएनौं ।

पोष्टको काम दुख पनि रमाईलो पनि

पैतालिस दिनको छायांकन सकियो । अब भने पोष्टको काम बाँकी रह्यो ।

लगभग चार पांच महिना लाग्यो । इटिटीङ, डबीङ, पाश्र्व संगीत रंग र मिक्सीङ सवै काम भए । तर काम एकदमै रमाईलो भयो ।

फिल्म मोसनमा अहिले निकैनै नेपाली चलचित्र सम्पादन हुन्छन् । त्यहाँ फिल्म निर्देशक र मेकरहरुको भिडनै हुन्छ । तर कहिले काहीँ भने समय नपाउँदा भने दुख लाग्छ । तर पनि त्यहाँ काम गर्नुको मज्जै बेग्लै हुन्छ । सम्पादनमा अर्जुन जिसीको निखारता र सन्देश साहको कलालाई मिस गर्छु । चिसो पुषको विहानी पनि भनिएन रात पनि भनिएन । यो दौरानमा निर्माता दाईहरुको पनि उत्तीकै सक्रियता थियो । वहांहरुलाई झनै मिस गर्छु ।

फिल्म त पातै बनाएछ भन्नेहरु

सल्लाह माग्दा दिएको सल्लाहले पो काम गर्छ । यहां सल्लाह नमागीनै सल्लाह दिनेहरु भेटियो । यस्तो थुप्रै भोगीयो । चलचित्र निर्माण गरेर मात्र पुग्दैन । त्यसलाई दर्शकसम्म पुर्याउन प्रचार प्रसारको काम पनि उत्तिकै गर्नुपर्छ । यो हामीलाई थाहा थियो । अहिले हामी प्रचार प्रसारको क्रममा छौं ।

अब चलचित्रलाई विज्ञापन दिएर ब्यापक गर्नुपर्छ भन्दै लाखौको विल ल्याउनेहरुको कमि थिएन । नयाँ निर्माता नयाँ निर्देशक भनेर यसरी अत्ताउनु कतिको ठिक हो ? लाखौं लाख खर्च गरेर, फिलिमको प्रचार गरेर फिल्म चलेको मलाई थाहा छैन ।

ठुला मिडियालाई पैसा दिएर विज्ञापन दिन लाटालाई पनि आउंछ । हेक्का रहोस् फिलिम चल्न फिलिम आफै राम्रो हुनुपर्छ । यो क्रममा यस्तो पनि भोगीयो । बेलुकी सिधै रक्सीले मातेर केही साथीहरुले फोन गर्ने काम पनि भए । सन्तोषजी र मैले सोचेका थियौं, हामी पनि पत्रकार हौं साथीहरुले हामीलाई सहयोग गर्लान भनेर तर ठिक उल्टो रहेछ बास्तविकता । उनिहरु भन्दै थिए साथीभाई त सवै साथीभाई हो नी, साथीभाई मात्र भनेर नहुने । हामीले के पनि सुन्यौ भने उनिहरुले भनेको मानेमा फिल्म सुपरहिट बबाल छ भन्ने यदि होइन भने पर पुगेपछि फिलिम त पातै बनाएछ नी भन्नेहरु पनि भेटिए ।

यसरी सुरुवात देखी फिल्म प्रदर्शनसम्म निरन्तर लाग्दा मात्र फिलिम बन्दोरहेछ । अनेक दुख कष्ट झेल्नुपर्ने रहेछ । कहि कतै अल्झीनु हुन्न रहेछ । आफ्नो सो विवेकले काम गर्नुपर्ने रहेछ । काम गर्ने क्रममा साना तिना कुराहरुलाई पचाउन पनि सक्नुपर्ने रहेछ । जसरी एउटा आमाको कोखबाट सन्तान जन्मन नौ महिना लाग्छ त्यसरीनै पुरानो बुलेट जन्मन गत अषारदेखी थालेको काम चैत्र सम्म हलमा आउँदा नौ महिना वितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment