Comments Add Comment

प्रेम सञ्जेलको कार्यालय छेउमा हप्ता असुली गर्ने समातिए

१० वर्षे जेलबाट छुटेका ज्यानमारा नक्कली प्रहरी बने

३० फागुन, बिराटनगर । सहकर्मीको हत्या गरी १० वर्ष जेल सजाय काटेर निस्किएका एक व्यक्ति हप्ता असुलीको आरोपमा पक्राउ परेका छन् । बिराटनगर–३ का २९ बर्षीय बिजय दाहाल जेलबाट छुटेपछि नक्कली प्रहरीका नाममा हप्ता असुली गरेको आरोपमा पुनः पक्राउ परेका हुन् ।

नेपाल प्रहरीका नाममा श्रम कार्यालय बिराटनगर अगाडि हप्ता असुली गरेको पाइएपछि दाहाललाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको छ ।

भष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका उपसचिव प्रेमप्रसाद सञ्जेल प्रमुख रहेको कार्यालयकै आसपासमा खुलेका पसलबाट सादा पोशाकमा डिउटीमा आएको बताउँदै दाहालले रकम उठाउँदै आएका थिए ।

दाहालले श्रम कार्यालय अगाडि खुलेको पाथिभरा फोटोकपी सेन्टरका सञ्चालक भेषबहादुर पोखरेललाई जिल्ला प्रहरी कार्यालयको घुमुवा भएको बताउँदै हप्ता मागेका थिए । तर, दिन आनाकानी गरेपछि ठीक नहुने भन्दै धम्काएर १ हजार रुपैयाँ लिएका थिए ।

मान्छे मारेर १० वर्ष जेल

०६३ साल कात्तिक ६ गते साँझ बिराटनगर ६ का २१ बर्षीय भोला भनिने योगेन्द्र थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा दाहाललाई जिल्ला अदालत मोरङले १० बर्ष कैदको फैसला सुनाएको थियो । हत्या प्रकरणमा दाहालसहित १२ जना व्यक्ति दोषी देखिएका थिए ।

अदालतले तोकेको कैद सजायँ भुक्तान गरी ०७३ पुस ४ गते छुटेका दाहाल विराटनगरमा नै थिए । प्रहरीकै निगरानीमा रहेका दाहालले संगठनकै बदनाम गरी नक्कली प्रहरी बनेर हप्ता असुली गर्ने गरेको सुइँको पाएको थिएन ।

तर, बुधवार श्रम कार्यालय विराटनगर अगाडि प्रहरी हुँ भन्दै हप्ता असुली गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार दाहालले पछिल्लो समय भट्टा चोक आसपास प्रहरीका नाममा पसलहरुबाट हप्ता भन्दै ५०० देखि १ हजार रुपैयाँसम्म उठाउँदै आएका थिए । हप्ता माग्दा नदिनेलाई दाहालले ठीक नहुने भन्दै धम्कीसमेत दिने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको नाममा हप्ता असुली गरेको आरोपमा पक्राउ परेका दाहाललाई मुलुकी अपराध संहिता ०७४ अनुसार म्याद थप गरी अनुसन्धान सुरु गरेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment