Comments Add Comment

‘आमाले मृगौला दिएर दोस्रोजन्म दिनुभो’

मृगौलापीडितको क्षमतामाथि प्रश्न उठाइँदा नमीठो लाग्छ

Photo Credit : मृगौला दिवसको अवसरमा काठमाडौंमा निकालिएको र्‍याली ।

म अहिले मृर्गौला प्रत्यारोपण गरेपछि ४० महिनामा हिँड्दैछु । पुनर्जन्म पाएपश्चातको यो अवधिमा मनोवल गिराएको छैन । आफ्नो नियमित कामलाई नै निरन्तरता दिएको छु ।

०७१ सालको असोज मध्यतिर एक्कासी बढेको ब्लड प्रेसर नियन्त्रणमा नआएपछि विराटनगर, काठमाडौं र दिल्लीसम्म पुग्दा दुवै मृर्गौलामा समस्या आएको थाहा लाग्यो । मेडिकल रिपोर्टहरुका आधारमा डाक्टरहरुले बोल्दासम्म २९ वर्षकै कम उमेरमा यति ठूलो समस्या आएको कुरामा विश्वास लागेन । तर, अन्य शारीरिक समस्या आउन थालेपछि विकल्प पनि थिएन ।

कात्तिकको दोस्रो सातातिर निदान अस्पताल पुल्चोकमा मृर्गौला रोग विशेषज्ञ डा. अनिल बरालसँगको पहिलो भेटबाट भने म अब बाँच्छु भन्नेमा आत्मविश्वास बढेर गयो । उहाँको काउन्सिलिङ शैली र उपचार पद्दतिबाट प्रभावित नहुने बिमारीहरु सायद छैनन् । अहिले पनि उहाँसँगै फलोअपमा छु ।

श्यामकृष्ण दाहाल

रोग थाहा पाउनुअघि किड्नी फेलको समस्या महँगो र जटिल हो भन्ने थाहा थियो । तर, विस्तृतमा थाहा थिएन । आफै‌ंलाई नपरी थाहा हुने कुरा पनि भएन । कतिजनाको उपचार हुन नसकेर ज्यान गएको पनि सुनेको थिएँ । गरीखाने उमेरमा जटिल रोग लागेपश्चात औषधि उपचार अनि प्रत्यारोपणको कुरा कसरी सल्टाउने भन्ने कुराले बढी नै पिरोल्यो । अप्रेशन सफल हुन्छ भन्ने कुरामा विश्वस्त त थिएँ । तर, पनि अप्रेशन कक्षमा छिर्दैगर्दा मनमा के हुने हो कसो हुने हो भन्ने डर त भइहाल्दो रहेछ ।

आखिर ८ घण्टा लगाएर आमाको शरीरबाट एउटा किड्नी मेरोमा सार्ने अपरेशन सफल भयो । हामी सबै खुशी भयौं । आमाबाट म दोस्रोपटक जन्मिँदैछु जस्तो लाग्यो ।

परिवारका साथ आफ्नो अंग दिन तयार भई पुनरजन्म गराउने ममी, उच्च मनोबल दिने बुवा, श्रीमती, बहिनी, सानोकाका अनि सबै साथीभाइ आफन्तजनले गरेको आर्थिक, भौतिक, नैतिक सहयोगले ०७२ मंसिर १० गते मेरो मृगौला प्रत्यारोपण सफल भयो ।

मलाई पुनर्जीवन दिन शल्यक्रियाका लागि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा डाक्टर पुकारचन्द्र श्रेष्ठको नेतृत्वको डाक्टरहरुको मेहनत र ५ दिन अस्पतालमा रहँदा नर्सिङ्ग स्टाफको हेरचाहले नेपालमै मिर्गौला प्रत्यारोपणको अन्तर्रा्ष्ट्रिय स्तरकै उपचार हुने कुरामा विश्वास बढ्यो ।

अहिले स्वास्थ्य अवस्था सामान्य छ । पहिले र अहिलेको अवस्थामा केही परिवर्तन पाएको छैन । खानपान र दैनिकी भने केही फेरिएको छ । आफूलाई केयर गर्ने र संक्रमणबाट जोगिने कुरामा धेरै ध्यान दिनुपर्ने हुन्छ ।

क्षमतामा प्रश्न उठाइँदा नमीठो लाग्छ

मृर्गौला फेल भएपश्चातको सफल प्रत्यारोपणपछि पनि दिनहुँको भेटमा दर्जनांैलाई उनीहरुको जिज्ञासालाई मेट्न सञ्चो बिसञ्चोको बेलिविस्तार लगाउनुपर्ने त छँदैछ, शुभचिन्तक भएका नाताले स्वास्थ्य अवस्थाका बारे चासो राख्नु स्वाभाविक नै हो ।

त्योभन्दा बढी शारीरिक मानसिक क्षमतामा अधिकांशले उठाउने प्रश्नप्रति भने कताकता मनमा नमीठो लाग्छ । मलाई राम्ररी थाहा छ, जीवनको पाइलैपिच्छे संघर्ष हुन्छ । तर, यो संघर्षसँग डराउने मान्छे जीउन सक्दैन ।

संघर्षसँग जुध्न सक्नेको नै भित्री क्षमतालाई निखारिँदै धैर्यवान्, परिश्रमी र निखारपना आउँछ । संघर्ष भनेको अन्त्य नभएर नयाँ जीवनको शुरुवाती हो भन्ने मैंले प्रत्यक्ष भोगें ।

रोगबारे डाक्टरबाट थाहा पाएदेखि नै मनोबललाई कहिल्यै गिर्न दिइनँ । त्योभन्दा बढी त आफ्नोमात्रै पारिवारिक हैसियतले असम्भव मेरो उपचार र बचाउन पाएको सबैको सहयोग र आशिर्वादले यहाँसम्म आइपुग्न साथ दियो । यसमा आफ्नो भरोसा र आत्मविश्वासले निकै ठूलो मद्दत गर्‍यो ।

राज्यले केही निर्णय गरे राहत हुन्थ्यो

करिब १५ वर्षको पत्रकारिताबाट दाम कमाउन नसके पनि शुभचिन्तक राखेको रहेछु भन्ने उपचारमा गरेको सबैको सहयोगबाट अनुभूति गरें । पत्रकारिता क्षेत्रमै भएको कारण पुनर्जन्म पाउन सफल भएकाले पछिल्लो समयमा पनि यो पेशा छाड्न सकेको छैन ।

तर, आदर्शले मात्र नथेग्ने यो संसारमा मासिक औषधी सेवन र डाक्टरको फलोअपमा करिब १५ हजार रकम जुटाउनुपर्ने चाहिँ साँच्चै चुनौतीको विषय बनेको छ । औषधी महंगो भएकाले प्रत्यारोपण गरेका धेरै बिरामीहरुलाई समस्या भइरहेको छ । औषधी र फलोअपमा राज्यले केही निर्णय गरे राहत हुन्थ्यो ।

रोग सबैलाई लाग्छ । अलि गरिखाने उमेरमा एक्कासी ठूलो रोग लागेकाले गुनासो हो । आगामी दिनको दैनिकीलाई सहज र सरल बनाउँदै जीवनयापन गर्दै जाने हो । अजम्बरी त कोही छैन, जति सकिन्छ अर्कालाई राम्रो गर्न नसके पनि नराम्रो कहिले नगर्ने हो भन्ने मान्यताले चल्दैछ जीवन ।

(दाहाल पत्रकार हुन्  ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment