Comments Add Comment

आईजीपी खनाल भन्छन् – संगठनभित्रको कमजोरी आफ्नै कार्यकालमा सुधार्छु

झापामा पूर्वप्रहरीसँग आईजीपीको छलफल

३० फागुन, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनभित्र कमजोरी रहेको स्वीकार्दै आफ्नै कार्यकालमा सुधारेर देखाउने दाबी गरेका छन् । झापामा सडक दुर्घटना न्यूनीकरण महाअभियान अन्तरगत दोस्रो चरणको कार्यक्रम उद्घाटन गर्दै खनालले प्रहरीभित्र बेथिति रहेको स्वीकारेका हुन् ।

‘प्रहरी संगठनभित्र केही कमिकमजोरी छन् । बेथिति छन् । तर, त्यसलाई रोक्न म लागि परेको छु’, खनालले दाबी गरे, ‘आफ्नै कार्यकालमा सुधारेर देखाउँछु ।’ उनले प्रहरी अधिकारीलाई जनताको सेवा र शान्ति सुरक्षा कायम गर्ने विषयमा जस्तोसुकै चुनौतिसँग नडराइ उच्च मनाबेलका साथ काम गर्न निर्देशन पनि दिएका छन् ।

‘भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीतिलाई अक्षराशः पालन गरेर नागरिकको सेवामा तल्लीन हुनुस्’, खनालले प्रहरी अधिकारीलाई निर्देशन पनि दिए, ‘जघन्य अपराध र अपराधीप्रति कठोर पनि बन्नुस् ।’

उनले झापासहित मुलुकका सीमावर्ती जिल्लाहरुमा मदिरा र लागूऔषधको प्रयोग बढेको उल्लेख गर्दै त्यसलाई रोक्न विशेष कार्ययोजना लागू गरेर आक्रमक बन्न पनि प्रहरीलाई निर्देशन दिए ।

अर्को प्रसङ्गमा खनालले प्रविधिको उपलब्धताको कमिका कारण प्रहरी सडकमै उपस्थित भइरहनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘अब यसलाई अन्त्य गर्न प्रविधि र उपकरणको प्रयोगलाई बढाउने अभियानमा लाग्नुपर्छ ।’

विकसित मुलुकमा प्रविधिको प्रयोगले सडकमा प्रहरीको उपस्थितिलाई विस्थापन गरेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोगसँगै सडकमा उपस्थित हुने प्रहरीको संख्या क्रमशः घट्दै गइ सडक प्रयोगकर्ता र प्रहरीबीचको द्वन्द्व न्यूनिकरण हुने विश्वास व्यक्त गरे ।

समुदाय सुरक्षित राख्ने प्रहरीको अभियान रहेको चर्चा गर्दै उनले आम नागरिकको सहयोग र प्रतिबद्धता आवश्यक रहेको बताए । महिला हिंसा, सडक दुर्घटना न्यूनिकरण, लागूऔषध लगायत संगठनका विविध प्राथमिकताका विषयमा नेपाल प्रहरीले सूचना, सचेतना तथा साझेदारिताका कार्यक्रम जारी राखेको पनि उनले चर्चा गरे ।

कार्यक्रममा खनालले प्रतिकात्मक रुपमा प्रदेश १ का ५ जना चालक र सह–चालकलाई चालक ड्रेस कोड लगाइदिएर १५ दिने सडक दुर्घटना न्यूनिकरण अभियानको शुभारम्भ गरेका थिए । सोही अवसरमा साहारा नेपाल नामक संस्थाको अगुवाइमा बिर्तामोड नगरपालिकाभित्र रहेका विभिन्न संघसंस्थाबाट प्राप्त १०÷१० वटा मोटरसाइकल, ब्रेथलाइजर र सवारी साधन ह्वील लक ट्राफिक प्रहरीलाई हस्तान्तरण गरियो ।

कार्यक्रममा उपस्थिति प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) केदार रिजालले आगामी दिनमा ट्राफिक प्रहरीलाई काम गर्ने वातावरण मिल्ने र काममा थप प्रभावकारिता हुने विश्वास व्यक्त गरेका थिए । सडक दुर्घटना न्यूनिकरणमा उत्कृष्ट कार्य गरेको भन्दै कार्यक्रममा प्रहरी निरीक्षक राजेश राईलाई सम्मान समेत गरिएको थियो ।

आईजीपी र पूर्वप्रहरीबीच अन्तरक्रिया

झापामा रहेका वेला आईजीपी खनालले जिल्लाका पूर्वप्रहरी कर्मचारीसँग भेटघाट तथा अन्तरक्रिया पनि गरेका थिए । भेटका क्रममा खनालले पूर्वप्रहरी कर्मचारीहरुका समस्या तथा हितका सन्दर्भमा आफू गम्भीर रहेको बताएका थिए ।

पूर्वप्रहरीले राखेको समस्याको समाधानका लागि संगठनले उचित निर्णय र पहलकदमी लिने उनको भनाइ थियो । नेपाल प्रहरीले सुरु गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर अपराध न्यूनिकरण र अपराधीलाई कानुनी दायरामा ल्याउने कार्यमा सहयोग गर्न पनि उनले पूर्वप्रहरीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment