Comments Add Comment

सामाजिक सञ्जालमार्फत वंगलादेशी महिलाको पारिवारिक पूनर्मिलन

३० फागुन, वीरगञ्ज । धेरैले सामाजिक सञ्जाललाई टाइमपास गर्ने थलोका रुपमा लिन्छन् । तर, यही सामाजिक सञ्जाललाई कतिपयले निकै राम्रो सदुपयोग पनि गरेका छन् ।

मानव सेवा आश्रम वीरगञ्ज शाखामा आश्रित एक बंगलादेशी महिलाको पारिवारिक पुनः मिलन सामाजिक सञ्जालबाट सम्भव भएको छ । ५५ वर्षीया बंगलादेशी महिला विलकिस वेगम घर फर्केकी छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजे उनी बंगलादेशका लागि उडेकी हुन् । ढाका विमानस्थलमा उनलाई आफन्तले रिसिभ गरिसकेका छन् ।

बंगलादेशको नारायणगञ्ज घर रहेकी बेगमको श्रीमानको नाम अब्दुर रहमान हो । उनले ८ वर्षदेखि घर छोडेकी थिइन् । वीरगञ्जका केही सामाजिक कार्यकर्ताहरुले उनलाई बंगलादेश पठाउने बन्दोबस्त मिलाएका हुन् । ढाकास्थित नेपाली दूतावास तथा काठमाडौंस्थित बंगलादेशी दूतावासबीचको आपसी समन्वयमा विलकिशको स्वदेश फिर्ती संभव भएको छ ।

बंगलादेशबाट भौतारिदै आएकी ती महिलालाई २०७४ जेठमा चक्रपथबाट उद्दार गरेर मानव सेवा आश्रम काठमाडौं शाखामा राखिएको थियो । त्यसको एक वर्षपछि ०७५ जेठमा काठमाडौं शाखाले वीरगञ्ज शाखामा पठायो । मानसिक रुपमा कमजोर रहेकी विलकिशलाई वीरगञ्ज आश्रममा रहँदा मानसिक रोग विशेषज्ञ डा भरत गोईतले उपचार गरेका थिए । उनको स्वास्थ्य अवस्थामा सुधार आउन थालेपछि उनले बंगाली भाषामा बोल्न थालेकी थिइन् ।

उनले ‘ढाका’ भनेको सबैले बुझे पनि अन्य कुरा बुझ्न कठिन भइरहेको थियो । त्यसपछि आश्रमका अभिभावक सामाजिक अभियन्ता प्रकाश थारुले उनको तस्वीरसहित परिचय र ठेगाना नखुलेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

थारुको पोष्ट पढेका वीरगञ्ज प्रतिमा चोकस्थित सहपाठी आशा ट्रान्सपोर्टका सञ्चालक हरिनारायण शाहको कार्यालयमा वंगलादेशी कम्पनी ट्रेडिङ सर्भेयर जेम्स खान मंसिर ९ गते वीरगञ्ज आइपुगे ।

शाहले खानलाई थारुसँग भेट गराएपछि थारुले उनलाई आश्रम लगेर विलकिशसँग भेट गराए । वंगाली भाषामा उनले सबै कुरा बताइन् । वीरगञ्जबाट सबै जानकारी लिएर बंगलादेश पुगेका खानले विलकिशको घर, ठेगाना र परिवारको सम्पर्क नम्बर पत्ता लगाएर खबर गरे । डेढ महिनादेखि विलकिसको परिवारसँग सामाजिक सञ्जालमार्फत नै सम्पर्क भयो ।

घर जान पाउँदा विलकिस निकै प्रफुल्ल देखिन्थिन् । सामाजिक अभियन्त प्रकाश थारुले ९ महिनादेखिको प्रयास सफल भएको बताए । ‘पहिला त भाषाकै समस्या भयो, धेरै दोभाषेहरुलाई लगेर भेट्टाए पनि भाषा नै नबुझिने । पछि बंगलादेशका जेम्स खान आएपछि रिक्वेस्ट गरेर लग्यौं,’ उनले भने ‘खानले सबै कुरा टिपेर लग्नुभयो र घर पत्ता लगाएर मलाई हृवाट्सएपमा फोन गर्नुभयो । कागजपत्र मिलाउनै डेढ महिना लाग्यो ।’

यसअघि मानवसेवा आश्रम वीरगञ्ज शाखाले ९ जनालाई पारिवारिक मिलन गराइसकेको छ । आश्रमका देवेश गुप्ताले मानसिक सन्तुलन कमजोर भएका मानिसहरुलाई सडकबाट उद्दार गरेर आश्रममा ल्याइ उपचार गर्ने गरिएको र उनीहरुले घर ठेगाना बताएपछि खोजेर आफन्तको जिम्मा लगाउने गरेको जानकारी दिए । आश्रममा हाल ३२ जना आश्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment