Comments Add Comment

बिजुलीबजारको ‘आर्क ब्रिज’मा गुड्न थाले गााडी

Photo Credit : चन्द्र आले/अनलाइनखबर

३० फागुन, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएको आर्क ब्रिजमा गाडी चल्न थालेका छन् । धोबिखोलामा दुई वटा आर्क ब्रिज बन्दैछन् ।

जसमध्ये एउटाको ९५ प्रतिशत निर्माण कार्य सकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका ईञ्जिनियर विश्व बिजय लाल श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार अब यो पुलमा पिच ढलान, रङरोगन, बत्ति जडान लगायतका फिनिसिङको काम मात्र बाँकी छ ।

पिच गर्नु अघि एप्रोच रोड र पुलको बीच भाग सम्याउन भन्दै निर्माण कम्पनीले सवारी साधनको आवतजावत खुला गरेको छ । तर, शनिबारदेखि पिचको काम शुरु गर्ने तयारी रहेकाले त्यसदिनदेखि भने सवारी साधनको आवतजावत रोकिने छ ।

हाल पुलको नेटवर्क वायर (तार) तन्काएर कसिलो पार्ने काम भइरहेको छ । तार तन्काएपछि त्यसमा भारबहन क्षमता जाँच गरिने छ । ती सबै काम सकिएपछि फर्मा खोलिने छ ।

निर्माण सम्पन्न हुन लागेको एउटा पुल कहिले सञ्चालनमा आउँछ भन्ने अनलाइनखबरको प्रश्नमा ईञ्जिनियर श्रेष्ठले भने, ‘निर्माण सकिने बित्तिकै पुल चालु हुन्छ भन्ने हुँदैन, निर्माण सकिएपछि निश्चित अवधि तोकेर ब्रिज डेक लोड टेस्टिङ (बीडीएल) अर्थात पुलको भारबहन क्षमता जाँच गरिन्छ, त्यसपश्चात मात्र सार्वजनिक प्रयोगमा खुला गरिन्छ ।’ यसका लागि अझै केहि महिना समय लाग्ने उनको भनाइ छ ।

धोबिखोलामै बन्दै गरेको अर्को आर्क ब्रिजको पनि ३० प्रतिशत काम सकिएको उनले बताए । ‘बिजुलीबजारको दोस्रो पुलमा जगको काम धमाधम भइरहेको छ, यो पनि ८-९ महिनाभित्रै सक्ने योजना हो’, उनले भने ।

धोबिखोलाको दुई वटै पुल संयुक्त आयोजना भएकाले कूल ७० प्रतिशत काम सकिएको उनको भनाइ छ । यी दुवै पुल आउँदो दशैंसम्म एकैसाथ सञ्चालन गर्ने योजना थियो । तर, एउटा पुलको निर्माण चाडैं सकिने भएपछि त्यस अगावै खुला हुने भएको छ ।

‘अब फिनिसिङको काम र भारबहन जाँच सकिएपछि पुल खुला हुन्छ, अर्को बन्दै गरेको पुलका कारण यसलाई रोक्दैनौं’, श्रेष्ठले भने ।

पछिल्लो समय विश्वभर रुचाउन थालिएको नेटवर्क आर्क प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवर्धनको पक्षले पनि उत्कृष्ट हुने इञ्जीनियर श्रेष्ठ बताउँछन् ।

यो पुल सञ्चालनमा आएपछि बानेश्वर-माइतीघर सडकखण्ड आकर्षक देखिनेछ भने सर्भिस लेन (मुल सडकको दायाँ-बायाँको लेन) बाट गुडेका सवारीले पुलको बीच लेनमा आउनुपर्ने बाध्यता हट्नेछ । बानेश्वर-तीनकुने सडकखण्डका सर्भिस लेनहरु नयाँ पुलसँगै जोडिनेछन् ।

अहिले सर्भिस लेनमा आएका सवारी पनि पुल हुँदै वार-पार गर्छन् । र पुनः मोडिएर सर्भिसलेनमा लैजानुपर्ने बाध्यता छ । यो बाध्यतालाई यी पुलले हटाइदिनेछ ।

बिजुलीबजारको पुलको ठेक्का १३ पुष २०७१ मा दिइएको थियो । ठेक्का सम्झौता अनुसार बिजुलीबजारस्थित धोबिखोलामाथि बनिरहेको पुलको समयावधि १३ पुष २०७४ मा नै सकिएकोमा एक वर्ष म्याद थप गरिएको थियो ।

दोस्रो पटक थपिएको म्याद पनि गत पुसमा सकिएपछि पुनः एक वर्ष निर्माण समयावधि थप गर्न निर्माण कम्पनीले आग्रह गरेको छ । ढिलै भएपनि सन्तोषजनक काम भएकाले म्याद थपका लागि प्रक्रिया अगाडि बढेको आयोजनाको तर्क छ ।

निर्माणको अवधिमा पुलमा खानेपानीको पाइप, विजुलीको तार पन्छ्याएर अण्डरग्राउण्ड गर्न परेकाले ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ । धोबीखोलाका पुलको लागत १३ करोड छ । यो पुल ५१ दशमलब ४५ मिटरको छ ।

तीनकुनेमा पप्पुको काम सुस्त

धोबिखोलामाथिको दुई वटा आर्क ब्रिजसँगै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तिनकुनेको बाग्मती नदीमाथि पनि उस्तै आकारको पुल बनाउँदैछ ।

१३ पुष २०७१ मै ठेक्का लागेको यो पुलको निर्माण कार्य भने तुलानात्मकरुपमा निकै सुस्त छ । यो पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ ।

तिनकुनेको बाग्मती नदीमाथि बन्ने लागेका दुईमध्ये एउटा पुलको प्रगति पनि सन्तोषजनक छैन । यो आयोजनाको काम अहिलेसम्म ३० प्रतिशत सकिएको ईञ्जिनियर श्रेष्ठले अनलाइनखबरसँग बताए ।

‘त्यहाँ एउटाको फाउन्डेसन र अर्को पुलको रडहरु बाध्ने काम भइरहेको छ, तुलना गर्दा धोबिखोला भन्दा ढिलासुस्ती देखिन्छ’, उनले भने ।

पप्पु कन्स्ट्रक्सनको काम ढिला गर्ने प्रबृत्ति बाग्मती नदीको पुलमा पनि देखिएको छ । २१ करोडको लागतमा बाग्मती नदीमाथि बनिरहेको ८५ मिटर लम्बाइको हुनेछ ।

के हो ‘नेटवर्क आर्क ब्रिज’
‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हो । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ ।

आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच-बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क (धनुष) फिक्सिङ गरिन्छ ।

र, माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ । आर्कहरुलाई पनि क्रस ढलान गरेर जोडिन्छ । र केलबहरु प्रयोग गरेर लोड व्यवस्थापन गरिन्छ ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार केबल नेटवर्कमार्फत आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ ।

त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । पुलमा आरसीसी प्रविधिबाट आर्क बनाइन्छ । आर्क पुलको आकर्षक पक्ष भनेको यसले दिने शहरी सौन्दर्यता पनि हो यी पुलका आर्कमा ‘कलरफुल लाइट’ जडान गर्ने योजना छ ।

यसले सडक झिलिमिलि मात्रै हुनै छैन, पुललाई आकर्षक समेत देखाउने छ । दुबै पुल निर्माण भएपछि बिजुलीबजार र नयाँ बानेश्वर क्षेत्रमा हुने ट्राफिक जामको समस्या पनि कम गर्न मद्दत पुग्नेछ ।

तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment