Comments Add Comment

विप्लवलाई देख्दा दया लाग्छ : प्रचण्ड

३० फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहका नेताहरुलाई देखेर दया लागेको बताएका छन् ।

सरकारले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक प्रचण्डले सार्वजनिक मञ्चबाट विप्लवबारे बोलेका छन् । तर, प्रतिबन्धबारे केही भनेनन् ।

बरु आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विव्लव समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको भन्दै भनेका छन्, ‘मलाई आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, प्रचण्डलाई एक नम्बरमा मानुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । टिम पनि खटाउनु भएको छ रे ।’

उनले अघि भने, ‘मलाई ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ ।’

राम्रोसँग सोच्नुस्, यो ७५ साल हो

तत्कालीन माओवादीको हेडक्वार्टर पेरिसडाँडामा आयोजित शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले विप्लवको आलोचना गरे ।

कुनै समय आफ्नो सचिवालयमा काम गरेका विप्लवले आफ्नो नक्कल खोजेको भन्दै उनले भने, ‘ मेरै स्कुलको नक्कल गर्न खोजेको बाहेक केही देखिन्न । सक्कल गरेर मात्र पास हुने हो । नक्कलले दुःख पाउनेबाहेक केही हुनेवाला छैन ।’

ज्ञानेन्द्र शाहले राजा महेन्द्रको कलाविहीन नाटक नक्कल गर्न खोन्दा राजतन्त्र नै समाप्त भएको उनले सुनाए ।

अघि भने, ‘अहिले पनि साथीहरुले जसरी गर्न खोजेको छन् । यो ०५२ साल होइन, ०७५ साल हो । राजतन्त्र छैन, मधेसी, दलित, जनजातिलगायतको प्रतिनिधित्व भएको छ, आफ्नै साथीहरुको सरकार छ । अनि परिस्थिति हेर्नु पर्दैन ?’

राज्यले संविधान कानूनसार काम गर्ने भन्दै प्रचण्डले परिस्थितिलाई ठीक ढंगले मूल्यांकन गर्न र एकचोटी निधार खुम्च्याएर सोच्न आग्रह गरे । ‘अर्को प्रचण्ड बन्छु भन्दै हिँडेको सुनेको छु, यो सजिलो छैन । केही गर्नुछ भने नयाँ बाटो खोज्नुस्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment