Comments Add Comment

निर्वाण चौधरीको दाबीः टेलिकममा क्रान्ति गर्छौं गर्छौं !

'प्रधानमन्त्रीज्युको भिजनले मात्रै पुग्दैन रहेछ'

३० फागुन, काठमाडौं । नेपालका अर्बपति विनोद चौधरी स्वामित्वको चौधरी ग्रुप अन्तरगतको सीजी टेलिकमले ०६० सालमा पूर्वाञ्चलका १६ जिल्लाका ५३४ वटा गाविसमा भिस्याट प्रविधिमार्फत दुई-दुईवटा टेलिफोन सञ्चालन गर्ने अनुमति पायो । त्यसको केही वर्षपछि उसले लिमिटेड मोबिलिटीका लागि ४१ जिल्लामा अनुमति पनि लियो । तर, लाइसेन्स नवीकरण नगर्दा केही वर्षपछि अनुमति खारेज भयो ।

सरकारले सीजीसँग फ्रिक्वेन्सी पनि फिर्ता लियो । हाल भने सीजीसँग पूर्वाञ्चलमा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स मात्रै बाँकी छ ।

कम्पनीले ०६९ सालमा सीजीले आधारभूत टेलिफोन सेवाका लागि सरकारसँग अनुमति माग्यो । सीजी टेलिकमलाई ४१ जिल्लामा बीटीएस टावर स्थापना गर्ने शर्तसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोस्रो कार्यकालको सरकारले आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने निर्णय गर्दै नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गर्‍यो ।

तर, सीजीले पुरानो बक्यौता किस्तामा तिर्न पाउनुपर्ने माग गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले अरु टेकिलम कम्पनीलाई जस्तै उसलाई पनि किस्तामा बक्यौता तिर्ने सुविधा दियो । तर, दूरसञ्चार प्राधिकरणको बोर्डमा पुगेको सीजीलाई आधारभूत सेवाको लाइसेन्स दिने प्रस्ताव अझै पास भएको छैन ।

यस्तो अवस्थामा अब सीजीले पाउन सक्ने फ्रिक्वेन्सी पनि खोसिन सक्ने गरी सरकारले ‘अक्सन’को निर्णय लियो । यसबाट असन्तुष्ट हुँदै सीजी टेलिकमले सर्वोच्चको ढोका ढक्ढक्यायो । तत्कालीन विवादास्पद न्यायाधीश दीपकराज जोशीले सीजीलाई तुरुन्तै आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिन भन्दै अन्तरिम आदेश जारी गरे ।

तर, नयाँ प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा इजलासले जोशीको सो आदेशलाई खारेज गरिदियो । योसँगै सीजीले अझै आधारभूत टेलिफोनको इजाजत पाउने/नपाउने अनिश्चित बनेको छ ।

सीजी टेलिकम भने आफूलाई टेलिकम क्षेत्रमा आउन रोक्न विभिन्न स्वार्थ समूहहरुले रोकेको दाबी गर्छ । भलै सर्वोच्च अदालतले नै सीजीको टेलिकम योजनामाथि अंकुश लगाइदिएको  अवस्था छ ।

सीजी टेलिकमलगायत चौधरी ग्रुपका अन्य व्यवसायका सन्दर्भमा रविन्द्र घिमिरेले चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीसँग गरेको कुराकानीः

चौधरी ग्रुपको लामो इतिहास छ । तपाईं  यसको नेतृत्व तहमा हुनुहुन्छ । खासमा चौधरी ग्रुपले कुन लक्ष्य लिएर काम गर्दैछ ?

यो ग्रुपको ‘मोटो’ भनेकै नेपाली कम्पनी हौं, जो विश्व समुदाय र बजारमाझ जाँदैछ । मेरो बुवाले अक्सर भन्नुहन्छ, म विशाल सपना बोकेको सानो देशको सानो मानिस हुँ । चौधरी ग्रुपको सय वर्षभन्दा लामो इतिहास छ । कर्पोरेट क्षेत्रमा हामी विश्वब्यापी नभएपनि क्षेत्रीय तहमा उपस्थिति देखाउँदैछौं । यो ग्रुपको मुख्य सम्पत्ति र बलियो पक्ष भनेकै भनेकै अन्तर्राष्ट्रियस्तरमा क्रेडिविलिटी हो । हामीले सीजी भन्ने ब्राण्ड सिर्जना गर्‍यौं । हामीले सीजीमा १५ हजार रोजगारी सिर्जना गरेका छौं ।

हामीले कति व्यवसायिक उपलब्धी हासिल गर्‍यौँ भन्नेभन्दा पनि यो समाजका लागि के दिन सकियो भन्नेमा मलाई चिन्ता छ । साँच्चै भन्ने हो भने मलाई ग्रुपभन्दा चौधरी फाउण्डेसनका गतिविधिमा धेरै चासो छ । र, फाउण्डेसनमार्फत् भएका कामहरुमा गर्व छ । भर्खरै समाचारहरुमा आइरहेको छ- चौधरी फाउण्डेसनले पाँचसयभन्दा धेरै व्यक्तिहरुका लागि कृत्रिम खुट्टा र हात जोड्न सफलता पाएको छ ।

उहाँहरुको अनुहारमा हृदयदेखिको खुसी झल्किन्छ नि हो हामीले विजनेश गरेर प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धी त्यहि हो । चाहे त्यो भूकम्प प्रभावितको अनुहारमा उम्लिएको खुसी होस् वा कृत्रिम हात खुट्टा जोड्नु भएका व्यक्तिको अनुहारमा । भूकम्प प्रभावितका लागि निर्माण गरेका घरदेखि शाश्वत धामसम्मको यात्रा हाम्रो सामाजिक कामका धरोहर हुन् । यसबाटै थाहा हुन्छ- चौधरी ग्रुप के गर्न चाहान्छ भन्ने ।

तपाईंहरु क्षेत्रीय बजारमा जानुभएको छ । विश्वव्यापीरुपमा फैलने प्रयत्नमा देखिनुहुन्छ । तर, आम नेपालीको प्रश्न अहिले पनि के छ भने सीजी अब नेपालमा केन्द्रित हुने हो कि विदेशमा ?

चौधरी ग्रुप भनेको शतप्रतिशत नेपाली कम्पनी हो । हामी यहाँ १४० वर्षदेखि छौं । अहिले पनि हाम्रो ग्लोबल ‘पोर्टफोलियो’ हेर्नुहन्छ भने ७० प्रतिशतभन्दा बढी लगानी र उत्पादन नेपालमै छ । वाईवाई हामीले शुरू गर्‍यौं होला तर आज यो हामी सम्पूर्ण नेपालीले गर्व गर्ने ब्राण्ड बनेको छ ।

वाईवाईलाई विश्वब्यापी रुपमा नेपालीहरुले नै स्थापित गरेका हुन् । नेपालीहरु नै वाईवाईको ब्राण्ड एम्बेसडर हुन् । वाईवाईले बाहिर प्रगति गर्नु भनेको नेपाली उत्पादनले नाम कमाउनु हो । अबको ३ वर्षमा हामीले गर्ने लगानीको ७५ प्रतिशत हिस्सा नेपालमै खर्च हुँदैछ । नयाँ क्षेत्रमा जाने, लगानी रहेकैै क्षेत्रमा विस्तार गर्ने, ल्याबमा, टेक्नोलोजीमा, नवप्रवर्तनमा, अनुसन्धान र विकासमा हामी मुख्य लगानी नेपालमै केन्द्रित गर्दैछौं ।

तर, हाम्रो लक्ष्य, हाम्रो ‘म्याक्सिमम ग्रोथ’, लगानी र सम्पत्ति सबै नेपालमै छ । हामी नेपाालमा सबैभन्दा ठूलो सिमेन्ट उद्योग खोल्दैछौं । हामी नेपालकै सबैभन्दा ठूलो स्वतन्त्र ऊर्जा उत्पादक हौं, हामी सबैभन्दा छिटो बजार लिने खाद्य, शैक्षिक तथा विद्युतीय कम्पनी हौं । यहाँ-यहाँ हामी विश्वस्तरका उत्पादन र ब्राण्ड नेपालमा ल्याइरहेका छौं । थप हामी धेरै वर्षदेखि लगानी गर्न खोजिरहेको छौं, त्यो हो टेलिकम । योचाँहि भविश्यमा हाम्रो लगानीको क्षेत्र हुँदैछ ।

हाल स्थिर सरकार छ । तर कतिपय लगानीकर्ता यहाँ तरलता अभाव, उच्च ब्याजदर लगायतका समस्या देखेर अत्ताल्लिएका छन् । विदेशी लगानी आउने क्रम पनि घटेको देखिन्छ, के अहिले नेपालमा लगानीका लागि अप्ठेरो अवस्था आएको हो ?

म पढाइ सकेर नेपाल आएको सन् २००२ मा हो । त्यो बेलामा माओवादी द्वन्द्व उच्चतम विन्दुमा थियो । लगानीका लागि त्यो सबैभन्दा खराब समय थियो । त्यो बेलामा त मलाई नेपालका कति धेरै लगानीको सम्भावना र अवसर छ भन्ने लाग्थ्यो । त्यतिबेला त त्यति आत्मविश्वास भएर आएको हुँ म ।

नेपालको मार्केट ‘डायनाकिक्स’ थाहा छ भने, माग र आपूर्तिको अवस्था अवगत छ भने दीर्घकालीन ‘प्लेयर’ले क्षणिक समस्याहरु तरलता अभाव, उच्च ब्याजदर, लगायतले खास मतलब राख्दैन । त्यो चुनौति पनि हो, हामीले व्यवस्थापन गर्नुपर्छ, त्यसलाई चिर्नुपर्छ ।

नेपालमा नै क्षेत्रगत अवसरलाई बुझ्दै गएपछि लगानी गरेपछि देशलाई फाइदा हुन्छ, ग्राहकलाई फाइदा हुन्छ, कम्पनीलाई फाइदा हुन्छ भन्ने भयो भने क्षणिकरुपमा आउने समस्यालाई हेरिँदैन । नेपालमा अल्पकालीन वित्तीय समस्या आउँछ, तर त्यस्स्तो खराब अवस्था आउँछ भन्ने मलाई लाग्दैन ।

त्यसैले सीजीले टेलिकमसहित ‘ई बिजनेस’मा जान चाहेको छ । त्यसमा अर्बौं लगानीको तयारी गरिरहेको छ ।

सीजी टेलिकम क्षेत्रमा प्रवेश गर्न गर्न किन यति महत्वका साथ लागिरहेको छ ?

टेलिकम भनेको एउटा उठाएर फोन कुरा गर्ने मात्रै उद्योग हैन । त्यो १५ वर्षअघिको कुरा थियो । आजको टेलिकम नेटवर्कले काम गर्ने भनेको नयाँ उद्योग नै जन्माउने हो । ई-एजुकेशन, ई-हेल्थ, ई-कमर्सहरु पनि आउँछन् अब । पुरै विश्व नै अहिले अनलाइ ई-कसर्मतिर सर्दैछ । ई-कमर्स कसरी चल्छ ? टेलिकम कम्पनीले सहज र सुलभ पहुँच सिर्जना गरेपछि मात्रै ।

हामीले अहिले आएर मात्रै टेलिकम कम्पनी बन्छौं भनेका हैनौं । हामी १० वर्षदेखि यसमा छौं । तर, अब हामी टेकिकम कम्पनी मात्रै हैन, डिजिटल कम्पनी वा भनौं अपरेटर बन्न चाहन्छौं ।

अहिले नै पनि धेरै टेलिकम कम्पनीहरु छन् । त्यसमध्ये केहीको बिजनेस राम्रो देखेपछि मात्रै यहाँ आउन चाहानु भएको हो कि कुनै निर्दिष्ट लक्ष्य पनि छन् ?

हामीसँग स्पष्ट भिजन र योजना छ । हाम्रो भिजन भनेको हरेक नेपानी नागरिकको हातमा एउटा स्मार्ट फोन हुनुपर्‍यो । विश्वयसनीय र भरपर्दो डाटा सेवामा पहुँच हुनुपर्‍यो, त्यो पनि ग्राहककका लागि उचित मूल्यमा ।

हामी नेपालमा रहेको टेलिकम क्षेत्रको ‘मोनोपोली’ हटाउन पनि चाहन्छौं । नेपाली कम्पनीले पनि टेलिकम क्षेत्रमा ‘फाइभजी रेडी नेटवर्क’ लगाउन सक्छ भनेर विश्वास दिलाउने हो । फाइभजी भर्खरै विश्वमा आइपुगेको छ, त्यस्तो प्रविधि नेपालमा किन आउन सक्दैन ? त्यो हामी ल्याउन खोजिरहेका छौं ।

समस्या चिरेर जान हामीलाई जनताको विश्वास चाहिन्छ, त्यो हामीसँग छ । हामीसँग जुन भिजन र गोल छ, टेलिकम क्षेत्रमा एउटा क्रान्ति नै गरेर जाने, त्यसका लागि हामीसँग मनदेखिकै समर्पण र आत्मविश्वास छ, जनताको विश्वास पनि छ । यो हामी गर्छौं, गर्छौं । यसलाई रोक्न सकिँदैन ।

बजारमा धेरै अपरेटर भए तर, प्रतिस्पर्धा भने खासै छैन । अब यही भिडमा सीजी थपिँदा जनताले के पाउने ?

यहाँ तीनखालका खेलाडी छन् । एउटा सरकार, जो नियामक हुनुपर्ने हो, नीति र वातावरण बनाउनुपर्ने हो, उसैसँग टेलिकम कम्पनी छ । अर्को टेलिकम कम्पनी मोनोपोली गरेर बसिरहेको छ । अरु भनेको त लाइसेन्स लिन र बेच्नजस्तो मात्रै हो कि जस्तो गरी सेवा दिँदैछन् । अर्बौं रुपैयाँ सरकारलाई नतिरी बसिरहेका छन् ।

एउटा समान्य ‘प्लेयर’ जसरी भारतमा जीओ आयो नि ! ओभरअल टेलिकम क्षेत्रलाई हामी पनि पुर्नसंरचना गरौं न । जीओ आएको तीन-चार वर्ष भयो, प्रविधि अहिले कहाँबाट कहाँ पुग्यो होला ? विश्व स्तरीय प्रविधिलाई नेपाल ल्याउन सकियो भने कल्पना गर्नुस् त हामी के-के के गर्न सक्छौं होला ?

अब भ्वाइस, एसएमसएस भनेको त विश्वमा कतै चार्ज नै नहुने कुरा हो । ६०-६० प्रतिशत मार्जिन लिएर यहाँ टेलिकम कम्पनी चल्दैछन् । यिनलाई कसले सफल बनायो ? आवश्यक पनि जनताले । हामी यसलाई चिर्न चाहान्छौं । हामी यो ‘मोनोपोली’को ‘बाधक’ बन्न चाहन्छौं । मान्छेहरु डराउने भनेकै बाधासँग हो ।

एउटा क्रान्ति र क्रमागत विकास त जरुरी छ, फड्को मार्न । हिजो सीडी र डीभीडीको बजार कस्तो थियो ? तर, अनलाइन आयो, समय अनुसार नचल्दा ती रहेनन् । अहिले तिनीहरु सकिए ।

यस्ता धेरै उदाहरण छन् । समयको गतिसँग चल्नुभएन भने तपाईं समाप्त हुने हो । हामी त्यही चुनौतिका लागि तयार छौं । हामीले यसो गर्दा एक दिन राष्ट्र र जनताले लाभ पाउनेछन् ।

यस्तो एउटा पूर्वाधार र नेटवर्कले गर्दा अर्थतन्त्र नै परिवर्तन हुन्छ । कल्पना गर्नुस्, जुम्लाको विकट गाउँमा हुँदा तपाईंसँग डाटा पहुँच छ, तपाईंसँग फ्री भ्वाइस कल सुविधा छ ।  अहिले सम्भव छ/छैन ? त्यही कस्टमरलाई, जसको आय निकै कमजोर छ, उसलाई भ्वाइसमा, एसएमएसमा ७०-७० प्रतिशत मार्जिन लिएर शुल्क तोकिएको छ । जनतामा यस्तो क्रयशक्ति त छैन नि !

यसलाई नै बाधा पुग्ला भनेर डराएर नै हामीलाई टेलिकम मार्केटमा आउन दिइएको छैन । हामीले सरकारलाई भनेका छौं, जसले लाइसेन्स बेच्न खोजेका छन्, बेच्न देऊ । जसले मोनोपोली गर्दैछन्, गर्न देऊ । तर, सामान्य बजारको ‘डाइनामिक्स’ लाई चुनौति दिने गरी कोही आउँछ भने काम गर्न दिने ‘लेभल प्लेइङ फिल्ड’ त बनाइदेऊ । हामीले एक थोपा पनि अतिरिक्त केही मागेका छैनौं ।

सीजीमाथि सिन्डिकेट लादिएको छ भन्नुखोज्नु भएको हो ? त्यसरी कोही किन सीजीलाई रोक्न चाहान्छ होला र ?

टेलिकम क्षेत्र भनेको निकै लगानी गरिरहनुपर्ने क्षेत्र हो । यो प्रविधिमा आधारित छ । यो हाइड्रोको लाइसेन्स लिएर बसेजस्तो हैन । हाइड्रोपावरमा त आज पनि त्यही साइट हो, १० वर्षपछि पनि त्यही हुन्छ ।

तर, टेलिकमको लाइसेन्स लिएँ भने धेरै शुल्क सरकारलाई वाषिर्करुपमा तिनुपर्ने हुन्छ । हामीले ‘इस्पे्रक्टम’ ब्लक गरिरहेका हुन्छौं । यदि मैले तिर्न सकिनँ भने अर्को प्लेयरलाई त ‘रोड ब्लक’ भयो ।

सीमित प्लेयरले जसरी लाइसेन्स रोकेर बसिरहेका छन्, त्यसले त देशलाई ४-५ पक्षबाट बेफाइदा भइरहेको छ । एउटा त फ्रिक्वेन्सी रोकेको पैसा पाइरहेको छैन, तर, अरु को-को प्लेयर आउन सक्थ्यो, तिनलाई पनि रोकिदिएको छ । तेस्रोमा उनीहरुको लाइसेन्स खारेज भयो भने जति वर्ष रोड ब्लक भयो, त्यो समयको क्षतिको पूर्ति कसरी हुन्छ ? त्यही समयमा एउटा राम्रो प्लेयर टेलिकममा आउन पाएको भए त नेपालमा ‘जीओ’ले भारतमा गरेको क्रन्ति नेपालमा पनि ५ वर्ष अघि आइसक्थ्यो ।

अहिले आएर टेलिकममा प्रवेश गर्न ढिला गरिएछ भन्ने महसुस भएको छैन ?

हाम्रो टेलिकममा आउने योजना १० वर्ष अघिदेखिको हो । हामीले योजना बनाउँदा त थ्रीजी नै आएको थिएन । यो टेलिकमको क्षेत्रमा यत्रो ठूलो सिन्डिकेट छ । सीमित खेलाडी छन्, एक अर्काको कम्पनीमा सेयर होल्डिङ गरेर ब्लक गरेर राखिरहेका हुन्छन् । तर, यहीबेलामा सरकारले यसले कस्तो असर परिरहेको छ भनेर सोच्नुपर्ने हो । एउटा विश्वसनीय कम्पनीलाई आउन दिइयो भने के हुन्छ भनेर सोचिनुपर्ने हो ।

हामीलाई रोकियो । तर, हामी हिम्मत हार्दैनौं । आज नभए भोलि यो सपनालाई पूरा गर्छौं । हामी एउटा उचित टेलिकम प्रणाली सार्वजनिक गर्छौं, यो सपना त्याग्दै त्याग्दैनौं ।

सरकार यो वर्ष ४ अर्ब मात्रै वैदेशिक लगानी आयो भन्दैछ । जब एउटा नेपाली कम्पनीले नै टेलिकम क्षेत्रमा २५ अर्ब लगानी गर्दैछ भने किन उसलाई ‘वेलकम’ नगर्ने ?

सीजी एउटा उचाईमा पुगेको छ । तेस्रो पुस्ताको हातमा यो ग्रुप छ । टेलिकममा तपाईंहरुको निकै चासो देखियो, यसबाहेक बाबु-बाजे पुस्ताले गरेको भन्दा फरक क्षेत्रमा तपाईंहरुको ध्यान किन जाँदैन ? 


पछिल्लो १० वर्षमा हामी खाद्य पदार्थ, वित्तीय सेवा र हस्पिटालिटी बिजनेसमा केन्द्रित भयौं । अबको ३ वर्षमा हामी हस्पिटालिटीभन्दा अघि कम्युनिकेशन, ई-कमर्स तथा आईटी सेवालाई ल्याउँछौं र तेस्रोमा हामी ऊर्जा उत्पादनमा जान्छौं ।

त्यसैले अर्को तीन वर्षमा हामी हाम्रो मुख्य बिजनेसको क्षेत्रगत ‘सिफ्ट’ नै गर्छौं । मार्केट डाइनामिक्सले गर्दा हामी त्यतै लागिसक्यौं नि । ग्रुपको भिजन, नेतृत्व परिवर्तन लगायतबाटै  क्षेत्रगत सिफ्ट आइहाल्छ ।

अहिले ठूलो अवसर ई-कमर्स, सूचना प्रविधिको क्षेत्रमा देखिरहेका छौं । यहाँ धेरै साना प्लेयरहरु छन्, उनीहरुसँग ‘इकोनोमिक स्केल’ छैन । डाटाको सुलभ पहुँच नभएर यो उद्योग नफस्टाएको हो । हामी त त्यसमा क्रान्ति गर्न चाहान्छौं ।

हामी ई-कमर्स, लजिस्टिक, ई हेल्थ, ई-एजुकेशन भए भरका क्षेत्रलाई हामी ‘ई’ मा कन्भर्ट गर्ने प्लानमा छौं । त्यसका लागि टेलिकमबाट हाई-वे बनाउन त जरुरी छ नि । त्यो हाई-वे सीजीका लागि मात्रै होइन, देशकै लागि हुनेछ ।

त्यसो हो भने सीजीको अब सबैभन्दा बढी ‘फोकस’ टेलिकममा नै हुन्छ होइन त ?

फोकस त म भन्दिन । तर यसमा हाम्रो सबैभन्दा ठूलो लगानी हुनेछ । २५ अर्बको लगानी गरेपछि हाम्रो प्राथमिकता त्यतै हुन्छ । तर, लगानी त हामी सबै क्षेत्रमा गर्दैछौं । १० वर्षअघि हाम्रो एउटा स्कुल थियो, अहिले १५ वटा भएको छ, एउटा कन्स्ट्रक्सन कम्पनीमा सहभागी भएर हाईड्रो कसरी बनाउने भन्ने थियो, अहिले सय मेगावाट हाईड्रोमा, मल्टिपल नवीकरणीय ऊर्जामा लगानी भइरहेको छ ।

१० वर्षअघि इलेक्ट्रोनिक्समा दुईवटा ब्राण्ड थियो भने अहिले ८ वटा छ । फुडमा ‘नुडल्स’ र ‘स्न्याक्स’मात्रै थियो भने अरु आठवटा थपियो । लगानी त हरेक क्षेत्रमा त्यसको ‘अर्गानिक ग्रोथ’मा लागेका छौं । पहिले हामी भैंसीपाटीमा मात्रै थियौं, हाल हामीले नवलपरासीका औद्योगिक ग्राम नै खोलिसक्यौं । बदिर्यामा खोलिसक्यौं, अब सुनसरीमा खुल्दैछ । लगानी त्यतिकै बढिरहेको छ ।

तर हामी टेलिकम जस्तो विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने क्षेत्रमा जान चाहिरहेका छौं । हामी यसमा प्राथमिकता दिँदैछौं । अवसर टेलिकममा छ, अरु विजनेस पनि सँगसँगै जान्छ ।

टेलिकममा आउन यत्रो हुटहुटी देखियो । कल्पना गरौं कि भोलि नै तपाईहरुले लाइसेन्स हात पार्नुभयो । त्यसपछि के हुन्छ ? सीजीले कम्तिमा ५ वर्षको भिजन त बनाएको होला नि ?

प्रविधिमा ५ वर्ष भनेको लामो समय हुन्छ । तर, लाइसेन्स पाएको ८ देखि ९ महिनामा टेलिकम सेवा सुरु गर्न सक्ने अवस्थामा छौं । हामी तत्कालै नेपालको ६५ प्रतिशत क्षेत्र कभर गर्न सक्छौं । त्यसको १२ महिनामा देशको सय प्रतिशत भू-भागमा सीजीको सेवा पुर्‍याउन सक्र्छौं । एकदेखि दुई वर्षसम्ममा सय प्रतिशत डाटा पेनिट्रेशन गर्छौं । त्यही अवधिमा भ्वाइस कल र एसएमएस निःशुल्क गर्न सक्छौं ।

यत्रो प्लान गर्नुभएको रहेछ । तर, सीजीले बोलेको पूरा गर्छ भनेर कसरी पत्याउने ? फेरि आफ्नो प्लान सरकारसँग राम्रोसँग राख्न सक्नुभएन कि ?

यत्रो प्लान गर्नु भएको रहेछ तर आफ्ना प्लान सरकारसँग राम्रोसँग राख्न सक्नु भएन कि ?

हेर्नुस्, म हाम्रो प्रधानमन्त्रीज्युको भिजनको उच्च सम्मान गर्छु । उहाँ निकै दूरदर्शी हुनुहन्छ । तर, उहाँको भिजनले मात्रै नपुग्ने रहेछ, सिस्टमले उहाँको लगाव, समर्पण, भिजन र मिहिनेतलाई बोक्न सकेन कि ? उहाँको भिजनलाई फलो गर्न सकेन कि । उहाँको भिजनलाई कार्यान्वयन गराउन सकिरहेको छैन कि ।

हाम्रो प्रधानमन्त्रीज्यूसँग त्यो क्षमता छ, तर उहाँको सिस्टमले त्यसमा सहयोग गर्नुर्‍यो । यो भयो भने ९९ प्रतिशत समस्या आफैं समाधान हुन्छ ।

हामी आउँदा उपभोक्तालाई लाभ हुने देखियो, अनि कुनै स्वार्थ समूहलाई घाटा हुने देखियो । तिनीहरुलाई डर कि सीजी आउनासाथ म सकिन्छु । सीजी भन्नासाथ ती स्वार्थ समूहहरु एकै ठाउँमा छन् । उनीहरुलाई एउटै खतरा छ, सीजी । हामी काम नगर्नका लागि लाइसेन्स लिँदैछैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment