Comments Add Comment

आमिर खानले नयाँ फिल्मको लागि २० किलो तौल घटाउने 

बलिउडमा कतिसम्म भनिन्थ्यो भने, आमिर खानले फलाम छोयो भने सुन हुन्छ । अर्थात आमिर त्यस्ता जादुयी अभिनेता हुन्, जसले फिल्ममा चमत्कार देखाइदिन्छन् ।

एकपछि अर्को हिट फिल्म दिएर उनले चमत्कार नै गरे । अक्सर आमिर अभिनित फिल्ममा उनको भूमिका अभिनेताको रुपमा मात्र हुँदैन, स्क्रिप्टदेखि प्रोडक्सनको अन्य काममा पनि उनको हस्तक्षेप र उपस्थिती रहन्छ । त्यसैले जहाँ आमिर जोडिन्छन्, त्यसमा समग्र उनी हावी पनि हुन्छन् ।

गजनी, थि्र इडियट्स, पिके, दंगल जस्ता एक से एक ब्लकबस्टर फिल्मको थुप्रो लगाएका आमिर पछिल्लो समय भने चिप्लिए, ठग्स अफ हिन्दुस्तानमा । यशराज फिल्म्स जस्तो ठूलो ब्यानरले निर्माण गरेको र सर्वाधिक लगानी गरिएका भनिएका ‘ठग्स अफ हिन्दुस्तान’ले भने आमिरको सफलताको ग्राफ केही धिमा बनाइदियो । त्यसयता उनी चुपचाप जस्तै थिए ।

हुन त आमिर फटाफट फिल्म खेल्ने अभिनेता पनि होइनन् । एउटै फिल्ममा लामो समय दिन्छन् र त्यस अवधीमा उनी दुर्लभ जस्तै हुन्छन्, खासगरी मिडियाका लागि ।

पछिल्लो फिल्मले धक्का खाएपछि पनि उनी दुर्लभ भएका थिए । गत विहिबार भने उनी मिडियासामु पेश भए । पेश मात्र भएनन्, सरप्राइज दिए ।

यसपटक उनको मिडिया साक्षतकार नयाँ फिल्म घोषणाका लागि थियो । अवसर चाहि उनको जन्मदिनको ।

आफ्नो जन्मदिनको केक काटिरहँदा उनले घोषणा गरे, ‘लाल सिंस चड्डा बनाउने ।

यो फिल्मको उनले रिमेक राइट्स लिएको बताएका छन् । अब यही फिल्मका लागि आमिर व्यस्त हुनेछन् । फिल्ममा उनी पन्जाबीको भूमिकामा हुनेछन् । आमिरले भनेका छन्, ‘उक्त भूमिकाका लागि मैले २० किलो तौल घटाउनुपर्नेछ ।’

आमिरको विशेषता के भने, उनी अक्सर आफुले निर्वाह गर्ने चरित्रलाई हदैसम्म न्याय गर्न चाहन्छन् । यसका लागि उनले आफ्नो शरीर एवं आवरण परिवर्तन गर्न पनि पछि पर्दैनन् । जस्तो कि, दंगलमा उनले आफ्नो तौल करिब ९० केजी बनाएका थिए । त्यस्तै गजनीका लागि उनले सिक्स प्याक एब्स निकालेका थिए ।

आमिरको ‘लाल सिंह चड्डा’ सेप्टेम्बरमा फ्लोरमा जानेछ । सन् २०२० मा रिलिज हुनेछ ।

यो पारिवारिक फिल्म भएको र परिवार बसेर हेर्न रमाइलो हुने आमिरको भनाई छ । अहिले उनी आफ्नो लुकमा फोकस छन् र फिल्मका लागि एकदम उत्साहित छन् ।

फरेस्ट गंप

आमिरले रिमेक राइट्स खरिद गरेको ओरिजिनल फिल्म हो, फरेस्ट गंप । सन् १९९४ मा सार्वजनिक यो हलिउड फिल्म रोमान्टिक कमेडी ड्रामा हो । यो त्यसबेलाको सर्वश्रेष्ठ हलिउड फिल्म थियो । त्यतीमात्र कहाँ हो र, त्यसबर्ष उक्त फिल्मले ६ विधामा ओस्कार अवार्ड जितेको थियो ।

उपन्यासमा आधारित

यो फिल्म सन् १९८६ मा प्रकाशित उपन्यासमा आधारित छ । यसको लेखक हुन्, विनसटन ग्रुम ।

फिल्मको कथा

यस फिल्मको कथामा फारेस्ट गंप नामक पात्रको उतारचढाव देखाइन्छ । उनी दिमागी हिसाबले पूर्ण विकसित छैनन् । तर, उनको जीवनमा केही यस्ता मोड आउँछ, जहाँ उनले सर्वश्रेष्ठ सावित गरेर अगाडि बढ्छ । र एक ऐतिहासिक पुरुष बन्छ ।

शानदार अभिनय

फिल्मको कथा एकदमै घतलाग्दो छ । फिल्ममा त्यसबेला टम हैंकले अभिनय गरेका थिए । उनकै अभिनयको बलमा फिल्म टिकेको छ । ओस्कार अवार्डको ६ विधामध्ये एक अभिनेताको पोल्टोमा परेको थियो । अब आमिरले उनै अभिनेता बराबर अभिनय गर्नेछन् त ? हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment