Comments Add Comment

वीरगञ्जका चार वटा होटल उत्तम

१ चैत, वीरगञ्ज । वीरगञ्जका ४ वटा होटल उत्तम देखिएका छन् । वीरगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने क्रममा ४ वटा होटल उत्तम देखिएका हुन् ।

अहिलेसम्म १० वटाको स्तरीकरण मुल्याङ्कन सम्पन्न भइसकेको छ । जसमा होटल भिष्वा, अनमोल स्वीट्स, एनएमपी हस्पिटालिटीद्वारा सञ्चालित एसलङ र द डग आउट उत्तम देखिएका हुन् । उत्तम देखिएका होटलमध्ये दुई वटा होटलमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले २ तारासहितको हरियो गोलो स्टिकर टाँस्नुको साथै उत्तम होटलको प्रमाणपत्र समेत हस्तान्तरण गरेका छन् ।

त्यस अवसरमा उनले होटलका सञ्चालक तथा व्यवस्थापकलाई अझै राम्रो बनाएर अति उत्तम होटलको रुपमा स्थापित हुने वातावारण निर्माण गर्न सुझाव दिए । ‘खाद्य सामग्री बेच्ने होटल रेष्टुरेन्टहरु बाहिर आकर्षक देखिए पनि भान्छामा समस्या देखिन्छ तर यी दुईवटामा त्यस्तो देखिएन’ उनले भने ‘उत्तम भनेर एक वर्षका लागि प्रमाणपत्र दिएर मात्रै हुन्न, कम्तीमा महिनामा एक पटक अनुगमन हुनुपर्छ । सञ्चालकले पनि अझै कसरी राम्रो गर्न सकिन्छ भनेर ध्यान दिनुपर्छ ।’

स्टिकर टाँस्नुको साथै प्रमाणपत्र प्रदान गरेपछि होटल सञ्चालकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन, खानेकुरालाई राम्ररी पकाएर सुरक्षित तापक्रममा राख्न, काँचो र पकाएको खानेकुरा छु्ट्टाछुट्टै राख्न, स्वच्छ पानी र कच्चा पदार्थको प्रयोग गर्ने, खाना पकाउने, भण्डारण गर्ने र खुवाउने ठाउँ सफा राख्ने लगयतका १२ बुँदे लिखित प्रतिवद्धतासमेत जनाएका छन् ।

खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा भएको व्यवस्थाअनुसार ५० वटा सूचकको आधारमा वीरगञ्जका १० वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मुल्याङ्कन गरिएको थियो ।

जसमध्ये ४ वटा उत्तम, ३ वटा सन्तोषजनक र ३ वटा सामान्य देखिएको गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका खाद्य अनुसन्धान अधिकृत रत्नकान्त झाले जानकारी दिए । बाँकी होटलमा पनि स्टिकर लगाउँदै जाने र थप होटल रेष्टुरेन्टको स्तरीकरण मुल्याङ्कनका कामलाई निरन्तरता दिने उनको भनाइ छ ।

५० वटा सूचकको आधारमा प्राविधिक टोलीले मुल्याङ्कन गर्दा ९० भन्दा माथि अंक ल्याउने होटलमा अति उत्तम (३ वटा स्टार सहितको हरियो स्टिकर), ८० देखि ८९ नम्बर ल्याउने उत्तम (२ स्टार सहितको हरियो स्टिकर), ६५ देखि ८९ सम्म सन्तोषजनक (१ स्टार हरियो स्टिकर र ५० देखि ६४ सम्म अंक ल्याउने सामान्य (पहेँलो स्टिकर) लगाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment