Comments Add Comment

२५ औं मिस नेपाल खुल्ला मैदानमा ! कक्षपति भन्छन् – जुलिया मोर्ले आउन सक्छिन्

मिस नेपालको २४ औं संस्करणकी विजेता श्रृंखला खतिवडाको चर्चासँगै नेपालमा यस प्रतियोगिताको ‘हाइप’ ह्वात्तै बढेको छ । यसबाट उत्साहित मिस नेपालको आयोजकले २५ औं संस्करण अर्थात् सिल्भर जुब्लीलाई विशेष बनाउने तयारी गरेको छ ।

आयोजक संस्था हिडन ट्रेजरका प्रमुख गोपाल कक्षपतिले हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘जीवनसाथी’ मा यसपालीको मिस नेपाल आयोजनाबारे केही नयाँ जानकारी दिए । कक्षपतिका अनुसार यसपालीको मिस नेपाल ठूलो संख्यामा दर्शकमाझ आयोजना गर्ने तयारी छ ।

यसअघि मिस नेपालमा करिब १ हजारको संख्यामा दर्शकहरु सहभागी हुने गरेका छन् । यसपाली यसको दोब्बर दर्शकको अपेक्षा गरिएको कक्षपतिले बताए ।

कार्यक्रम प्रस्तोता माल्भिका सुब्बाले उनलाई सोधिन्, ‘तर, २ हजार दर्शक अट्ने हल कहाँ छ र ?’

कक्षपतिले कार्यक्रम खुला मैदानमा आयोजना गर्न सकिने बताए ।

‘हामी अहिले पनि ठाउँ खोजिरहेका छौं, तर खुल्ला मैदानमा गर्ने सोचाइ छ,’ उनले भने ।

यसपालीको मिस नेपालमा मिस वल्र्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ले पनि सहभागी हुने संकेत कक्षपतिले गरेका छन् । आफूले मोर्लेलाई लिखित र मौखिकरुपमा पटक–पटक आग्रह गरेको र उनले सकारात्मक जवाफ दिएको कक्षपतिले बताए ।

‘हामीले २०१० मा पनि उहाँलाई ल्याउन चाहेका थियौं । उहाँ आउन तयार पनि हुनुहुन्थ्यो, तर हामीले नै अफोर्ड गर्न सकेनौं । यसपाली मैले १ वर्ष अगाडि नै अन्तर्राष्ट्रिय ब्यूटी पेजेन्टका आयोजकहरुलाई निमन्त्रणपात्र पठाएको थिएँ । जुलियाजीलाई सान्यामा भेट हुँदा उक्त निमन्त्रणबारे स्मरण गराएँ । उहाँले आफूले सम्झिरहेको बताउनुभयो । सम्भवत आउनुहुन्छ होला । अहिले पनि म उहाँसँग सम्पर्कमा नै छु ।’ कक्षपतिले भने ।

यति मात्र नभएर यसपालिको मिस वल्र्डका महादेशीय सुन्दरीहरु पनि नेपाल आउने आशा उनले व्यक्त गरेका छन् ।

‘यसपाली मिस वल्र्डको नयाँ फम्र्याटअनुसार सात जना मिस कन्टिनेन्टलको घोषणा गरिएको थियो । र, मिस वल्र्डको महत्वपूर्ण अवार्ड ब्यूटी विथ पर्पस नेपालले जित्यो । जुन प्रोजेक्टलाई लिएर श्रृंखला खतिवडाले ब्यूटी विथ पर्पस जितेकी छिन्, त्यसमा मिस कन्टिनेन्टलका विजेताहरुलाई भ्रमण गराउने योजना मिस वल्र्डको रहेको जानकारी आएको छ । यद्यपि, निश्चित भइसकेको छैन,’ उनले भने ।

साथै अहिलेसम्मका सबै मिस नेपाललाई यसपाली भेला गर्ने गरी तयारी पनि भइरहेको छ ।

हरेक विहिबार प्रशारण हुने हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम जीवनसाथी पति र पत्नीबीचका सम्वन्धको सेरोफेरोमा घुम्ने गर्छ । हिजोको एपिसोडमा भने बढि मिस नेपालकै चर्चा भयो । कक्षपतिलाई मिस नेपालका गडफादर भन्ने गरिन्छ । उनैले एक्लो पहलमा १९९४ मा पहिलोपटक मिस नेपालको सुरुवात गरेका थिए ।

कक्षपतिले पहिलोपटक मिस नेपाल आयोजना गर्दाका दुख पनि सुनाए ।

‘त्यतिबेला मिस नेपालमा भाग लिनका लागि युवतीहरुलाई व्यक्तिगतरुपमै आग्रह गर्नुपरेको थियो,’ उनले भने ।

कक्षपति एक सफल व्यवसायी हुन् । दरबारमार्गमा उनले सञ्चालन गरेको नाङ्लो रेस्टुरेन्ट निकै प्रख्यात छ । मिस नेपालले जनस्तरमा मान्यता पाए पनि सरकारले सहयोग नगरेको उनले गुनासो गर्दै आएका छन् ।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment