Comments Add Comment

कुनै पनि खेल गुमाउन चाहँदैन नेपाल

१ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिपमा भोलि बंगलादेशसँग खेल्दा नेपाललाई कुनै दबाव छैन । भुटानले लगातार दुई खेल हारेसँगै दुबै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । समूह विजेता बन्न बराबरी भए पनि पुग्छ ।

तर, नेपाल जितकै लागि मैदान उत्रने प्रशिक्षक हरि खड्काले बताए । भन्छन्, ‘क्लिन चिट लिएर निस्किन चाहन्छौं ।’

तुलनात्मक रुपमा बंगलादेशभन्दा नेपाल बलियो छ । तर, उसलाई कमजोर आंक्नु घातक हुनसक्छ किनकी बंगलादेशका कप्तान सविना खातुन, मारिया मान्डा र मोनिका चक्माहरुले कुनै पनि बेला खेललाई आफ्नो पक्षमा पार्ने क्षमता राख्छन् ।

कप्तान सविना नेपाल भने भुटानविरुद्ध गरेको कमजोरी सुधार गर्दै खेल जित्ने योजना सुनाउँछिन् । भोलिको म्याच नेपालका लागि यसकारण पनि महत्वपूर्ण छ कि यदि हारेको खण्डमा सेमिफाइनलमा नेपालको भेट कठिन प्रतिद्वन्द्वी भारतसँग हुनसक्छ ।

दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड लाइन

नेपालको मुख्य सबल पक्ष भनेकै स्ट्राइकर लाइन हो । टिमले पनि स्ट्राइकरमै भरोसा राखेको छ । विशेषगरी सावित्रा भण्डारी सबैको नजरमा छिन् । उनी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन् ।

सावित्रासँगै कप्तान निरु थापा, रेखा पौडेल र अनिता केसीलाई विपक्षी टिमका खेलाडीले रोक्न कमै सक्लान् । प्रशिक्षक खड्का भन्छन्, ‘हाम्रो फरवार्ड लाइन दक्षिण एसियाकै उत्कृष्ट छ । स्ट्राइकरले आफ्नो क्षमतिा अनुसार खेल्यो भने हामीलाई कसैले रोक्न सक्दैन ।’

त्यसो त मिडफिल्ड पनि उतिकै बलियो छ । भुटानविरुद्ध पनि मिडफिल्डरले एकपछि अर्को गोलको अवसर सिर्जना गरेको थियो । मिडफिल्डमा रेनुका नगरकोटी, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन, दिपा राई, शर्मिला थापा र सरु लिम्बु छन् ।

डिफेन्स लाइनमा भने प्रशिक्षक हरि खड्कालाई टाउँको दुखाईको विषय बन्दै आएको थियो । तर, त्यसमा पनि सुधार गरिसकेको प्रशिक्षक खड्का बताउँछन् ।’हाम्रो डिफेन्समा जुन कमजोरी थियो त्यो सुधार भइसकेको छ । मैले सन्तुलन टिम पाएको छु ।’

अमृता जैसी, हिराकुमारी भुजेल, गीता राना र मनमाया लिम्बु नेपालको खम्बा हुन् । पहिलो रोजाईमा पर्ने यी खेलाडीलाई छिचोलेर गोल गर्न विपक्षी टिमका खेलाडीलाई निकै गाह्रो हुनेछ । त्यसो त, कविता धिमाल, पुनम जर्घामगर र पुजा राणा पनि एकसेएक डिफेन्डर हुन् ।

नेपाली चेलीले कोर्लान् इतिहास ?

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालको नमिठो यात्रा छ । चौथो संस्करणसम्म नेपालले तीन खेलमा फाइनल खेल्यो भने एक खेलमा सेमिफाइनल ।

तर साफमा नेपालले खेलेको सबै फाइनल खेलमा तगारो बन्यो भारत । सन् २०१० मा बंगलादेशमा सम्पन्न पहिलो साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भएपछि विजेता बन्नबाट चुक्यो ।

तर फाइनलमा भारतसँग चुक्ने नेपालको बानी जस्तै बन्यो । २०१२ मा श्रीलंकामा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा भारतसँग ३-१ गोलले पराजित भयो । त्यस्तै, २०१४ मा पाकिस्तानमा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा ६-० गोलअन्तरले पराजित भएपछि लगातार तीन पटक उपाधि जित्ने नेपालको सपना विलिन् बन्यो । २०१६ मा भएको साफ महिला च्याम्पियनसिपमा भने नेपाल र भारतबीचको भेट सेमिफाइनलमै भयो । यो पटक नेपाल ३-१ गोलअन्तरले पराजित भएको थियो ।

विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपमा पनि भारत उपाधिको दाबेदार टिम हो । तर पछिल्लो समयमा भने नेपाल भारतमाथि हावी हुदै आएको छ ।

२०२० टोकियो ओलम्पिकको लागि पहिलो राउण्डको छनोटमा गत कात्तिक महिनामा नेपालले भारतलाई १-१ गोलको बराबरीमा रोकेको थियो । त्यस्तै, करिब एक महिनाअघि नेपालले भारतलाई हिरो महिला गोल्डकपमा उसैको भूमिमा २-१ गोलअन्तरले पराजित गरेको थियो ।

त्यसकारण पनि पछिल्लो समयमा भारतमाथि नेपाली महिला फुटबल टिम हावी छ । यो पटक पनि नेपालले आफ्नो मुख्य प्रतिद्धन्दीको रुपमा भारतलाई नै लिएको छ । हुन त भारतका प्रशक्षिक मायमोल नेदुगदन रक्कीले भनेकी छिन्, ‘हामी उपाधि जित्ने लक्ष्यमा छौं । तर हाम्रो मुख्य प्रतिद्धन्दी नेपाल हो ।’

नेपालसामु भारतलाई डर छ । तर त्यति नै डर नेपाललाई पनि छ । विशेषगरी भारतका रतनबाला देवी, सन्जु, सन्धिया रंगनाथन नेपालका लागि टाउँको दुखाई बन्न सक्छन् ।
तर नेपालकी कप्तान निरु थापा भने ढुक्क देखिन्छन् । यसको कारण हो प्रशिक्षक खड्काले खेलाडीलाई त्यही अनुसारको ‘टि्रट’ गराएका छन् ।

कप्तान निरु भछिन्, ‘हामी पूर्णरुपमा तयारी छौं । हाम्रो लक्ष्य नै साफ च्याम्पियन हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment