Comments Add Comment

नेपालद्वारा न्यूजिल्याण्ड आक्रमणको निन्दा, प्रधानमन्त्री भन्छन्- आतंकवादलाई परास्त गर्न जरुरी छ

२ चैत, काठमाडौं । नेपाल सरकारले न्यूजिल्याण्ड आक्रमणको निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी जसिन्डा अर्डनलाई समवेदना सन्देश पठाउँदै घटनाको निन्दा गरेका हुन् ।

न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा हतियारधारीको आक्रमणबाट ४९ जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री ओलीले पठाएको समवेदना सन्देशमा आतंकवादलाई कुनै पनि किसिमले उचित मान्न नसकिने उल्लेख छ । उनले लेखेका छन्, ‘क्रूर र अमानवीय काम कुनै पनि प्रकारले उचित छैन । आतंकवादलाई पूरै परास्त गर्न जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपाल सरकार न्यूजिल्याण्डको सरकार र न्यूजिल्याण्डका जनताको साथमा रहेको उल्लेख गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

मस्जिदमा नमाज चलिरहेको बेला शुक्रबार आक्रमण भएको थियो । थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।

प्रधानमन्त्री जेसिन्डा अर्डनले यस घटनालाई न्यूजिल्याण्डको ‘कालो दिन’ भनेकी छन् । यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता छ । उनलाई पक्राउ गरेर अदालत पेस गरिएको छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment