Comments Add Comment

सल्लाघारीको चौर पुनः नापजाँच हुने

२ चैत, भादगाउँ । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको खुला चौरको पुनः नापजाँच हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरबीचको  भेटघाटमा सो जग्गाको क्षेत्रफल एकिन गर्न पुनः नापजाँच गर्ने सहमति भएको हो ।

सो भेटमा भक्तपुर नगरपालिका र नेपाल ट्रष्टको संयुक्त रोहबरमा नापी कार्यालयमार्फत नापजाँच गरी सिमाङ्कन गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए । सो अवसरमा नगरप्रमुख प्रजापतिले पर्ती सरकारी जग्गा अतिक्रमण भइरहेको हुँदा जग्गा संरक्षणको आवश्यकतालाई मध्यनजर गर्दै सो जग्गामा नपाले करीब ९८ लाखको लागतमा जग्गाको पूर्वपश्चिम र दक्षिणतर्फ सिमाङ्कन गरी पर्खाल लगाउने कार्य अघि बढाएको जानकारी गराए ।

उनले तत्कालीन राजदरबारले स्थानीय मोही, किसानको सो जग्गालाई विसंं २०२६ मा जग्गा धनीलाई प्रतिरोपनी रु एक हजार २०० र मोहीलाई रु ८०० दिएर जबर्जस्ती अधिग्रहण गरेको बताउँदै उक्त जग्गा जनताको अधिकतम हितमा प्रयोग गर्न नपालाई दिनुपर्ने मागसमेत गरे ।

उनले जनताको भावनाअनुसार सो जग्गामा नपाले ख्वप विश्वविद्यालय स्थापना गर्ने लक्ष्य राखेको जानकारी गराए । भेटमा नेपाल ट्रष्टका सचिव ठाकुरले नेपाल सरकारको स्वामित्वमा रहेको सो जग्गाको संरक्षण आवश्यक भएको र उक्त जग्गाको संरक्षण गरेकोमा भक्तपुर नपालाई धन्यवाद दिँदै आगामी दिनमा सो जग्गाको उपयोगका बारेमा नपा र ट्रष्टबीच समन्वयमा अघि बढ्नु पर्ने बताए ।

उनले सरकारको सम्पत्ति जनताकै सम्पत्ति भएको हुँदा १०८ रोपनी जग्गा संरक्षण गरी जनताको हितमा अधिकतम सदुपयोग गर्नका निम्ति गरेको संरक्षण कार्य सकारात्मक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment