Comments Add Comment

एक महिनामै पाइन् पाकिस्तानी चेलीले नेपाली नागरिकता

फेसबुकमा चिनजानपछि नेपाली र पाकिस्तानीवीच प्रेम विवाह

४ फागुन, काठमाडौं । नागरिकता विधेयकबारे बहस चुलिएका बेला एक पाकिस्तानी चेलीले नेपालीसँग बिहेको एक महिनाभित्रै नेपाली नागरिकता पाएकी छन् ।

बाग्लुङका सुधिन आचार्यसँग फेसबुकमा चिनजान भएर बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट आइतबार नेपाली नागरिकता लिएकी हुन् ।

नागरिकतामा उनको नाम आम्ना सफिक आचार्य कायम भएको जिप्रकाले जानकारी दिएको छ ।

सफिकले गत ३० फागुनमा नागरिकताका लागि निवेदन दिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले अनलाइनखबरलाई बताए । आइतबार प्रजिअ खरेल आफैंले आम्नालाई नागरिकता हस्तान्तरण गरेका थिए ।

‘नेपाली नागरिकसँग अदालती बिहे गरेको र पाकिस्तानी नागरिकता त्यागेको प्रमाण पेश गरेका आधारमा उहाँलाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको हो,’ प्रजिअ खरेलले अनलाइनखबरसँग भने ।

नेपालकी बुहारी आम्नाले अब नेपालमा स्थायी बसोबास गर्न सक्नेछिन् भने पाकिस्तान माइत जान त्यहाँको भिसा लिनुपर्ने छ ।

सुधिन र आम्नाले गत फागुन १२ गते जिल्ला अदालत बाग्लुङमा कानूनी बिहे गरेका थिए । बिहेमा सुधिनका बुबा टीकाराम र आमा डिलमाया अदालतमा उपस्थित भएका थिए ।

आम्नाका तर्फबाट कोही पनि अभिभावक थिएनन् । उनले आफ्नो पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बाग्लुङ नगरपालिका १२ को अमलाचौरमा अस्थाई बसोबास गरेको सिफारिस पेश गरेकी थिइन् । उनले फोनबाटै आफ्ना बाबुआमासँग सहमति मागेकी थिइन् ।

मुलुकी देवानी संहिता ०७४ को दवाफ ७७ बमोजिम दर्ता बिबाह गर्न केटा र केटी मञ्जुर भए न्यायाधीशले गराइदिन सक्ने व्यवस्था छ ।

प्रेमलाई धर्मले छेकेन

२३ वर्षीय सुदिन र २२ वर्षीया आम्नाको राष्ट्रियता मात्रै नभएर धर्म पनि फरक छ । सुदिन हिन्दू हुन् भने आम्ना मुस्लिम ।

सुधिनको परिवारले आम्नालाई सहजरुपमा स्वीकारेका छन् । आम्ना पनि हिन्दू धर्म-संस्कृति अंगाल्न सहजरुपमा तयार भएकी छन् ।

उनीहरुले हिन्दु परम्परा अनुसार बिहे गरेका हुन्, जसमा आम्ना नेपाली दुलही श्रृंगारमा सजिएकी थिइन् ।

आम्नाका श्रीमान सुधिनले फेसबुकमा स्टाटस लेख्दै श्रीमतीले नागरिकता पाएकोमा खुशी व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘थुप्रै सरकारी प्रक्रियापछि मेरी पत्नीले नेपाली नागरिकता पाइन् । अब उनी विधिवत नेपाली भएकी छन् । उनलाई बधाई । र, हामीलाई सहयोग गर्ने सबैलाई धन्यवाद ।’

यस्तो छ प्रेमकथा

पाकिस्तानको रावलपिण्डीमा आइटी इन्जिनियरिङ अध्ययनरत आम्नाले सुदिनलाई दुई वर्षअघि फेसबुकमा फेला पारेकी हुन् । सुदिनसित निकट भएपछि उनी नेपाली पनि मज्जाले बोल्न सक्ने भएकी छन् । यसवीचमा उनी पटक-पटक नेपाल आइन् ।

सुधिन र आम्नाको पहिलोपटक प्रत्यक्ष भेट काठमाडौंमा भएको थियो । त्यसपछि उनीहरु गहिरो प्रेममा परेका थिए ।

आम्नासँग बिहेको मनस्थितिमा पुगेपछि सुदिनले बुवा टीकारामलाई बताए । टीकारामले ३५ वर्षअघि म्याग्दीकी डिलमाया पुनसँग अन्तरजातीय बिहे गरेका थिए । उनले सजिलै छोरालाई बिहेको मञ्जुरी दिए ।

यता, आम्नालाई पनि आफ्ना बाबुआमासँग मञ्जुरी लिन कठिन भएन । टीकारामले नै आम्ना मोहम्मद सफिकलाई चिठी पठाएर छोरी मागेका थिए । सफिक पनि तुरुन्तै राजी भए ।

सामाजिक सञ्जालमार्फत नेपाली युवक र पाकिस्तानी युवतीले बिहे गरेको विषय युट्युवमा निकै भाइरल भइरहेको छ । उनीहरुको दर्जनौं अन्तरवार्ताहरु लिइएका छन् । जसमा आम्नाले नेपाल र नेपाली संस्कृतिको निकै प्रशंसा गरेकी छन् ।

बुहारीले पाउने अंगीकृत नागरिकता नेपालमा सहज

नेपालमा विदेशी बुहारीलाई बिहेपछि दिइने नागरिकताका सम्वन्धमा लामो समयदेखि बहस चल्दै आएको छ । बिहे गरेर नेपालमा बसोबास गरेको निश्चित अवधि पूरा गरेपछि मात्रै नागरिकता दिनुपर्ने विषय एकथरीले उठाइरहेका छन् ।

०६३ सालमा बनेको ऐनले बिहेलगत्तै विदेशी बुहारीलाई नेपालको अंगीकृत नागरिकता दिन सकिने व्यवस्था गरेको थियो । अहिले संसदमा प्रस्तुत भएको संशोधित ऐनमा पनि त्यसैलाई निरन्तरता दिइएको छ ।

अन्य देशमा भने विदेशी बुहारीलाई नागरिकता दिन विभिन्न शर्तहरु हुन्छन् । उनीहरुले बिहेपछि निश्चित समय गुजारेको हुनुपर्छ । पाकिस्तानको हकमा कुरा गर्ने हो भने यदि कुनै नेपाली चेलीले बिहे गरेर पाकिस्तान गइन् भने उनले त्यहाँको नागरिकता पाउन ५ वर्ष पर्खिनुपर्छ ।

पाकिस्तानको नागरिकता कानून १९५१ को खण्ड १० (२) मा बिहे गरेर आएका विदेशी महिलाले नागरिकता लिनका लागि ‘समग्र ५ वर्ष पाकिस्तानमा बसोबास गरेको कागजी प्रमाणसहितको स्वघोषणा’ गर्नुपर्ने उल्लेख छ ।

पाकिस्तानी नागरिक आम्नाले भने बिहे गरेको एक महिनाभित्रै नेपाली नागरिकता पाइन् । यसले के देखाउँछ भने बुहारीहरुले पाउने नेपाली नागरिकतामा नेपाल निकै नै उदार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment