Comments Add Comment

अजितको सफलतालाई केन्द्र सरकारले महत्व नदिएको परिवारको गुनासो

Photo Credit : अजित चौधरी आफ्नो बुबासँग ।

६ चैत, जनकपुरधाम । तेस्रो एसियाली युथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक जितेका अजितकुमार यादवको परिवार सरकारसँग असन्तुष्ट देखिएको छ । केन्द्र सरकारले आफ्नो छोराको सफलतालाई महत्व नदिएको अजितका पिता पवन यादवले गुनासो गरेका छन् ।

यादवले भने, ‘यसअघि विदेशमा राम्रो खेलेर आउने खेलाडीलाई प्रधानमन्त्री, खेलकुदमन्त्रीसहित सबैले भेट्ने गरेका थिए । तर, खोई अहिलेसम्म मेरो छोरालाई कसैले पनि खोज्या छैन ।’

केन्द्र सरकारले अजितलाई पुरस्कार घोषणा नगरेकोप्रति पनि उनको असन्तुष्टि छ । ‘नेपाललाई स्वर्ण पदक दिलाउने अजित स्वदेश फर्केपछि सरकारले पुरस्कार दिनुपर्ने होइन ?’ यादवले प्रश्न गरे ।

अजितलाई प्रदेश २ को सरकारले ५ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

यो पनि पढ्नुहोस् : विदेशी भूमिमा चन्द्र सूर्य ओढेर दौडँदा, अहो…

यसअघि पनि छोराले राम्रो खेल्न सक्छ भन्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराइदिन धेरै अधिकारी र नेतासमक्ष गएको उल्लेख गर्दै उनले भने, ‘तर, त्यस बेला मेरो कुरा समेत कसैले सुन्न तयार भएनन् । अहिले मैले भन्दै आएको कुरा पुष्टि भयो कि भएन ?’

शुरुदेखि नै केन्द्रका नेता र अधिकारीहरुको विभेदको मनोभावना आफूले बुझ्दै आएको दावी गर्दै यादवले स्वर्ण जित्दा समेत उनीहरुले यस्तै भावना प्रकट गरिरहेको आरोप लगाए ।

राजपाका नेताहरु महेन्द्र राय यादव, राजेन्द्र महतो, महन्थ ठाकुरले मंगलबार काठमाडौंस्थित कार्यालयमा बोलाएर सम्मान गरेको तर त्यसपछि उनीहरुले पनि ध्यान नदिएको बताए ।

घोषणा भएका पुरस्कारहरु

प्रदेश सरकारले स्वर्ण पदक विजेता अजितलाई रु ५ लाख नगद पुरस्कार दिने घोषणा गरिसकेको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले उक्त घोषणा गरेको हो ।

अजितको गृहनगर राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले रु १ लाख १ हजार नगद पुरस्कार दिने घोषणा गरेका छन् । यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले रु ५१ हजार पुरस्कार दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment