Comments Add Comment

फेसबुकमा भोगेको दुर्व्यवहारले चित्रकार बनायो !

चित्रकलामार्फत चेतना बाँड्दै सर्लाहीकी चेली

१३ चैत, जनकपुरधाम । सर्लाही हरिपुर्वाकी २३ बर्षीया मनिषा साहले हालै जनकपुरमा आयोजित साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आफ्नो एकल चित्रकला प्रदर्शनी राखिन् । उनले चित्रमार्फत सामाजिक सञ्जालमा महिलाहरुले भोग्नुपरेको उत्पीडनलाई चित्रित गरेकी थिइन् ।

उनको यो चित्रले धेरैको ध्यान तान्यो । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उप–सभापति विमलेन्द्र निधि, प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतलगायतले मनिषाको चित्रको प्रशंसा गरे ।

केही बर्षयता मात्र चित्र कोर्न थालेकी मनिषा धेरैजसो महिला र महिला हिंसासँग सम्वन्धित चित्र बनाउँछिन् । ‘सामाजिक सञ्जालका कारण बढ्दै गएको महिला हिंसा, बलात्कारजस्ता घटना निस्तेज पार्न र सामाजिक सञ्जालमा बढेको विकृति कम गर्नलाई मैले कला क्षेत्र (आर्ट) लाई रोजेकी हुँ,’ उनी भन्छिन् ।

साइबर क्राइमबाट पीडित महिलाहरुको आवाज चित्रमार्फत् उठाउनुका साथै मनिषाले मिथिलाको प्राचीन चित्रकला अरिपन, म्युरल मिथिला पेन्टिङ, कोहवरसहितको चित्रहरु कोर्छिन् ।

आफै फेसबुक पीडित

बुबा पुरुषोत्तम साह मनिषालाई डाक्टर बनाउन चाहन्थे । त्यसैअनुसार विज्ञान पढ्नका लागि जनकपुरको मीट क्याम्पसमा भर्ना गरिदिए । तर १२ कक्षापछि भने उनले बाटो मोडिन् । फेसबुकमार्फत दुव्र्यवहार भोगेका कारण चिकित्सक बन्ने लक्ष्य त्यागेर चित्रकार बनेको उनी बताउँछिन् ।

मनिषाले फेसबुकमा राखेको तस्वीर प्रयोग गरेर कसैले उनको नाममा फेक एकाउन्ट बनाइदियो । त्यसमा उनको असली मोवाइल नम्बर पनि राख्यो ।

मनिषाको नामबाट खोलिएको फेक एकाउन्टमा उनकै परिवारका सदस्य पनि साथी बने । तर त्यो व्यक्तिले उक्त अकाउन्टबाट अश्लिल स्टाटसहरु राख्न थाल्यो । त्यसले गर्दा उनलाई साथीभाईदेखि परिवारका सदस्यसम्मले नानाथरी आशंका गरे ।

आफूले गर्दै, नगरेको कामको सजाय भोग्न बाध्य भएकी उनी भन्छिन्, ‘कम्तीमा मेरो फोटो हालेर मेरै नाममा एकाउन्ट बनाउने को हो भन्ने पत्ता लगाउन चाहन्थे, तर त्यो पनि सम्भव भएन ।’

प्रहरीको साइबर क्राइम सेलसम्म यो बिषय पुग्दा प्रहरीले यस्तो एकाउन्ट खोल्ने व्यक्ति पत्ता लगाउन सकिने प्रविधि नेपालमा नरहेको जवाफ दिएपछि उनी निराश बनेकी थिइन् ।

‘मैले जे जस्तो दुर्व्यबहार खेप्नुपर्‍यो,’ उनी भन्छिन्, ‘अरु महिलाले नपरोस् भन्ने लाग्छ । त्यसका लागि चित्र बनाएर चेतना जगाउन खोजेकी हुँ ।’

काठमाडौंको ललितकला क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत मनिषा महिला उत्पीडनको थुप्रै कथाहरु विभिन्न समारोहमा चित्रमार्फत देखाउँदै आएकी छन् ।

मिथिला चित्रकलाले अहिले पनि व्यवसायिकता पाउन सकेको छैन । त्यसैले चित्रकारको आर्थिक अवस्था राम्रो हुने कुरै भएन । तर मनिषा पैसाभन्दा पनि समाजको रुपान्तरण होस् भन्नका लागि चित्रकला अँगालेको बताउँछिन् ।

‘पैसाका लागि मात्रै होइन, समाज रुपान्तरणका लागि पनि मिथिला चित्रकलाको क्षेत्रमा काम गर्न चाहन्छु’ उनी भन्छिन्, ‘समाजमा जनचेतना जगाउनका लागि मिथिला चित्रकलालाई निरन्तरता दिन्छु ।’

ललितकला क्याम्पसमा १ सय २० जना विद्यार्थीमध्ये मनिषा एक्ली छात्रा हुन् जो मिथिला चित्रकला पढ्दै छिन् । मनिषा भन्छिन्, ‘आफ्नो कला संस्कृतिप्रतिको मोह देखेर साथीहरुले हौसला बढाउने गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment